अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको सय वर्षको उमेरमा निधन
अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जिमी कार्टरको सम्झनामा जनवरी ९ लाई राष्ट्रिय शोक दिवसको रुपमा मनाउने घोषणा गरेका हुन् ।
बाइडेनले ह्वाइट हाउसमा जारी गरेको घोषणामा भनेका छन्, ‘म अमेरिकी जनतालाई त्यस दिन आ-आफ्नो पूजास्थलमा भेला हुन आह्वान गर्दछु र त्यहाँ राष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर (जिम्मी कार्टर) को स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गर्दछु । म हाम्रो दुःखमा सहानुभूति प्रकट गर्नुहुने सम्पूर्ण विश्व समुदायलाई शोकको यस घडीमा उक्त पवित्र कार्यमा हामीसँग सामेल हुनका लागि आग्रह गर्दछु ।’
अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार निधन भएको हो । कार्टर सेन्टरले सामाजिक सञ्जाल एक्समा उनको मृत्युबारे पुष्टि गर्दै लेखेको छ, ‘हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो।’
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए ।
हालसम्मका राष्ट्रपतिमध्ये सबैभन्दा लामो समयसम्म बाँचेका कार्टरको आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भयो । त्यहाँ कार्टर र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताएका थिए । रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया