मेलमिलाप नै देश विकासको आधार : बीपीको नीति झन् सान्दर्भिक

मेलमिलाप नै देश विकासको आधार : बीपीको नीति झन् सान्दर्भिक


४९ वर्षअघि आजकै दिन (२०३३ पुष १६ गते) आठ वर्ष लामो भारत निर्वासनबाट मृत्यदण्ड समेतको पर्वाह नगरी आफ्ना सहकर्मीसहित राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किनुभएको थियो । यस दिन (पुस १६)लाई नेपाली काङ्ग्रेस ले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा देश-विदेशमा मनाउने गरेको छ । २०१७ साल पुस १ गते राजा महेन्द्रबाट शाही सेनाको बलमा दुई तिहाई बहुमतसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेस्वरप्रसाद कोइरालाको मन्त्रिपरिषद र संसद् विघटन गरियो । अर्थात्, प्रजातन्त्रको हत्या भयो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र नलगाइ बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाएर जेल हाल्नुभयो । बीपीलाई जेल हालिएको आठ वर्षपछि २०२५ कात्तिक १४ गते बीपी कोइरालालगायतका नेताहरू जेलमुक्त हुनुभयो । त्यसपछि बीपीलगायतका नेताहरूले भारतमा निर्वासित जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू आफूहरूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघिबढ्नुपर्ने नीति अँगाल्दै स्वदेश फर्किनुभयो ।

नेपाल तरुण दलको महाधिवेशन उद्घाटनमा सरिक भइरहेकोे अवस्थामा २०१७ साल पुस १ गत नेपाली काङ्ग्रेस का सभापति समेत रहनुभएका बीपीलाई पक्राउ गरि सुन्दरीजल जेल लगियो र प्रजातन्त्रमाथि ‘कू’ गरियो । भागेर, देश छोडेर हिँडेका राजाहरूलाई स्वदेश फर्काएर राजगद्दीमा राख्ने काङ्ग्रेस र नेपाली जनताको अधिकारप्रति राजाहरूको बारम्बारको आक्रमणकै कारण राजा ज्ञानेन्द्रको पालामा आइपुग्दा नेपालबाट २४०वर्षे इतिहासको विरासत खण्डित गर्दै राजतन्त्र÷राजसंस्था समाप्त भयो । विश्वको राजनैतिक इतिहासमा अत्याचार गर्नेहरूको अन्त्य यसरी नै हुँदै आएको छ, हुन्छ !

र, गणतन्त्रको बिउ त राजा महेन्द्रबाट २०१७ सालमा प्रजातन्त्र खोसेर काङ्ग्रेस लाई दमन गर्दै काङ्ग्रेस को काउण्टरमा दरबारिया दानापानीमा ‘रोयल कम्युनिष्ट’ उत्पादन गरेसँगै रोपिएको थियो । यस्तो दरबारिया षडयन्त्रको चक्रब्यूहमा परेको नेपाली काङ्ग्रेस ले त्यही राजतन्त्रसँग देश बचाउन मेलमिलापको हात अघि बढायो ।

इतिहासदेखि नै मेलमिलापको पक्षमा काङ्ग्रेस

नेपाली काङ्ग्रेसले आफ्नो स्थापनाकालदेखि नै क्रान्ति र शान्तिको मार्ग पहिल्याएको पाइन्छ । मध्ययुगिन दासतापूर्ण जहानीयाँ राणा शासनकालको अन्धकार युगमा जनतामा चेतना भर्ने र समानताका लागि संघर्ष गर्ने काङ्ग्रेसीहरूको त्यो परिवेशको राजनैतिक चेतलाई क्रान्तिकारीहरूको उत्साहपूर्ण बलिदानको रुपमा लिइन्छ । नेपालीलाई रैतीबाट नागरिक बनाउन हतियारबन्द क्रान्ति गरेको नेपाली काङ्ग्रेसले भागेर नेपालस्थित भारतीय दुतावासको शरण हुँदै दिल्ली पुगेका राजा त्रिभुवनको राजगद्दी पुनर्स्थापना र, राणाहरूलाई पनि देश छोड्न नपर्ने, बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरे स्वदेशमै बस्न दिने नीति अंगिकार गऱ्यो । यही नीतिका कारण भारतको दिल्लीमा नेपाली काङ्ग्रेस, तत्कालिन राजा त्रिभुवन र राणाहरूका बीचमा त्रिपक्षीय सम्झौता भएपछि नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्रको घोषणा गरियो ।

नेपालमा प्रजातन्त्र आएपछि राजाको समेत प्रतिनिधि रहनेगरी तत्कालिन श्री ३ महाराज मोहनशम्सेरको नेतृत्वमा बीपी कोइराला गृहमन्त्री रहेको मन्त्रिमण्डल पनि गठन भयो । राणहरूको श्री ३ पदवी खोसियो, राजाले मात्र श्री ५ लेख्न पाउने अधिकार रह्यो । यो घटना पनि क्रान्तिका बीचमै शान्ति होस्, बढी रक्तपात नहोस् भन्नका खातिर एउटा मेलमिलापको नीति थियो । प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने एउटा बलियो उदाहरण हो- ०७ सालको त्रिपक्षीय सम्झौता पनि ।

वि.सं. २०३१ साल बैशाख १३ (सन् १९७५ अप्रिल २६) मा भारतले सिक्किमलाई आफ्नो मुलुकमा बिलय गराएपछि बीपी कोइरालालाई नेपालको अस्तित्व पनि सङ्कटमा पर्न लागेको आशंका भयो । जसरी सिक्किममा त्यहाँका राजा र जनताका बीचमा फाटो पैदा गराएर भारतमा विलय गराइयो, नेपाललाई पनि राजा र आफ्ना बीचमा फाटो गराएर नेपालको राष्ट्रिय अस्मितालाई धरापमा पर्ने षडयन्त्र भइरहेको बीपीले पूर्वानुमान गर्नुभयो । यही परिवेशमा अनेक अप्ठ्यारोका बीच पनि मतृभूमि र नेपाली जनताको मायाले गर्दा आफ्नो ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किनुभएको थियो ।

मुलुक नै नरहे केका लागि र कसका लागि राजनीति गर्नु ? पहिला मुलुक बचाउँ अनि राजासँग, पञ्चसँग, जो-जोसँग लड्नुपरेपनि लडौंला भनेर स्वदेश फर्किनुभएका बीपीले देश बचाउन राष्ट्रियताका सवालमा राजाको घाँटीभन्दा पहिला मेरो घाँटी छ, मलाई नछिनाई राजालाई सक्दैनौ भन्ने महत्वपूर्ण अभिव्यक्ति सार्वजनिक गर्नुभयो । अर्थात्, देश बचाउन राजा र म सँगै छौँ भन्ने सो अभिव्यक्तिको मर्म थियो । यसरी, देश जोगाएपछि राजा र पञ्चसँग प्रजातन्त्रका लागि लड्ने लडाइँ त फेरिपनि छँदैछ नि भनेर मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ बीपीहरू भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किनुभएको थियो ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किनुभएका महामानव बीपीले पत्रकारहरूले राखेको जिज्ञासामा मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो । निरंकुश राजतन्त्रलाई बीपीले कहिल्यै स्वीकार गर्नुभएन तर उहाँले राजासँग मिल्नुपर्छ भन्नुभएको थियो । तर, ‘काङ्ग्रेसले कम्युनिष्टसँग मिलेर राजा फाल्यो’ भनेर गलत भाष्य निर्माण गर्न खोजिँदैछ । बीपीले राजासँग मिल्ने कुरा कुन सन्दर्भ र प्रसङ्गमा गर्नुभएको थियो भनेर विश्लेषण नगरी एकोहोरो राजाको कुरामात्र गर्दा मेलमिलाप नीतिको उद्देश्य, औचित्य र सान्दर्भिकतामाथि अन्याय हुन जान्छ ।

आजभन्दा ५० वर्षअघि सिक्किममा सिक्किम नेशनल काङ्ग्रेस र सिक्किम जनता काङ्ग्रेससँग राजा छोग्यालको द्वन्द्व बढेर जाँदा राजतन्त्रमात्र समाप्त भएन, देशको स्वतन्त्र अस्तित्व नै सकियो, विश्वमानचित्रबाट सिक्किम हरायो, विलय भयो । भारतीय गुप्तचर संस्था रअ र प्रधानमन्त्री इन्दिरा गान्धीको गुप्त योजनाअनुसार नै सिक्किमलाई भारतले निलेपछि बीपीले देश जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिनुभयो । यही नीतिपछि सशस्त्र विद्रोहको तयारी गर्दै गरेको काङ्ग्रेसले हतियारको राजनीति छोड्दै शान्तिपूर्ण राजनीतिमा आउने सोचाइ बनाएकोे पाइन्छ ।

बीपीको स्वदेश आगमन र त्यसको प्रभावले देशमा प्रजातान्त्रिक आन्दोलनका पक्षमा राजनीतिक तरंग सिर्जना गऱ्यो, सर्वसाधारण जनतासमेतलाई प्रभावित गऱ्यो । त्यसैको परिणाम २०३५ को विद्यार्थी आन्दोलन, २०३६ को जनमत संग्रह हँुदै राजनीति केही खुकुलो भयो । त्यही मेलमिलापको नीतिमा टेकेर काङ्ग्रेसले राणा, राजा र कम्युनिष्टहरूलाई प्रजातन्त्र र जनतामा निहित सार्वभौम सत्ता (अर्थात् जनताको सर्वोच्चता)लाई स्वीकार गराउन नेपाली काङ्ग्रेसले समय-समयमा कठोर संघर्ष गर्नुपरेको इतिहास साक्षी छ । काङ्ग्रेसले २०४२ सालमा सत्याग्रह आन्दोलन गऱ्यो । त्यसले पार्टीलाई थप संगठित गर्न मद्दत पुग्यो र काङ्ग्रेस पार्टीकै नेतृत्वमा २०४६ सालको राष्ट्रिय जनआन्दोलन सम्पन्न भइ प्रजातन्त्र पुनःस्थापना भएको थियो ।

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र पछि यसको व्याख्या गर्दा राष्ट्रियताको विषयमा बीपीले भन्नुभएको थियो- राजामा जुन राष्ट्रियताको तत्व छ, त्यसकारणले राजाले प्रजातन्त्रलाई स्वीकार गर्छन् भने राजा पनि चाहिन्छ । यसो भन्नुको अर्थ ‘निरंकुश राजा चाहिन्छ’ भनेको होइन । बीपीले कम्युनिष्ट पार्टीहरूसँग कहिले पनि सहकार्य गर्नुभएन र गर्ने पक्षमा पनि हुनुहुन्नथ्यो । किनकि, कम्युनिष्टहरू सर्वहारा वर्गको एकदलीय अधिनायवादी शासनको वकालत गर्दथे । उनीहरू प्रजातन्त्रलाई मान्दैनथे, अधिकार सार्वभौम जनतामा होइन कम्युनिष्ट पार्टीको पोलिटब्यूरोमा हुनुपर्छ भन्ने कम्युनिष्ट-नीतिको खरो विरोधि हुनुहुन्थ्यो बीपी ।

कम्युनिष्टले बहुदलीय ब्यवस्था, मानवअधिकार, प्रेस स्वतन्त्रता र जनताको सर्वोच्चतालाई स्वीकार गरेको भए २०३६ सालको जनतमत संग्रहमा बहुदलको निलो रङ्गको मतपत्रमा छाप लगाउँथे र त्यसैबेला निरंकुश पञ्चायत ब्यवस्था समाप्त हुन्थ्यो । जनमत संग्रहमा केही कम्युनिष्टले पञ्चको पहेंलो रङ्गमा भोट हाले भने केहीले यो बहुदल भनेको काङ्ग्रेसले ल्याउन चाहेको ब्यवस्था हो, हाम्रो होइन भनेर जनमत संग्रहमा तटस्थ बसे । मनमोहन अधिकारीको मार्क्सवादी समूहले भने पञ्चायत भन्दा काङ्ग्रेसले चाहेको बहुदल उचित छ भनेर बहुदलको पक्षमा भोट हालेका थिए । यिनै कारणहरूले बीपीले नेपालका कम्युनिष्टहरूकाप्रति विश्वास र भरोसा गर्न सक्नुभएन ।

तर जब कम्युनिष्टहरूले पूर्वी युरोपमा कम्युनिष्ट सत्ताको पतनको श्रृङ्खला देखे तब उनीहरूमा प्रजातन्त्रलाई स्वीकार गरेर अघि नबढेमा नेपालबाट पनि आफ्नो अस्तित्व समाप्त हुने कुरा बुझे । त्यसपछि उनीहरूले प्रतिष्पर्धात्मक बहुदलीय ब्यवस्था र जनताबाट निर्वाचित प्रतिनिधिले बनाएको संविधान र कानूनअनुसार शासनसत्ता संचालन हुने कुरालाई स्वीकार गरे । तब सर्वोच्च नेता गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्राद कोइरालाले २०४६ सालको संयुक्त जनआन्दोलनमा बाम मोर्चाको रुपमा सँगै प्रजातन्त्रप्रप्तिको आन्दोलनमा कम्युष्टिहरूलाई सहभागी बनाउनुभएको थियो ।

कतिपय मानिसहरूले बीपीको जीवनपछि बीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीति काङ्ग्रेसले परित्याग गऱ्यो भनेर त्यसको अपव्याख्या पनि गर्दै आएका छन् । मुलतः प्रजातन्त्र र जनतामा निहित सार्वभौमसत्ता नस्वीकार्नेसँग सहकार्य नगर्ने बीपीको नीति थियो । जब कम्युनिष्टहरू जनताको सर्वोच्चतालाई स्वीकार गर्ने र बहुदलीय प्रजातन्त्रलाई मान्ने सवालमा सँगै आन्दोलन र सहकार्य गर्न राजी भए, तबमात्र नेपाली काङ्ग्रेसले नेपालका कम्युनिष्ट घटकहरूसँग सहकार्य र मेलमिलापको नीति अंगिकार गरेको पाइन्छ ।

हाम्रा नेताहरूले २०४६ सालमा वाममोर्चालाई साथ लिएर गरेको जनआन्दोलन, काङ्ग्रेसको नेतृत्वमा तत्कालीन सात दलले माओवादीसँग गरेको १२बुँदे समझदारी र त्यसमा टेकेर गरिएको ०६२/६३ को जनआन्दोलन, विस्तृत शान्तिसम्झौता र २०७२ मा संविधान निर्माण पनि निश्चय नै मेलमिलापको नीतिमा आधारित नै थियो भन्न सकिन्छ । किनकि, कुनैपनि अधिनायकवादी शासक चाहे राजा, महाराजा होस् वा कम्युनिष्ट वा सैनिक तानाशाह उसले प्रजातन्त्र र जनताको सर्वोच्चतालाई स्वीकार गऱ्यो र राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा आफूलाई उभ्याउने प्रयास गऱ्यो भने नेपाली काङ्ग्रेसले उसँग मेलमिलाप गरेर देश विकासको महायात्रामा सहभागी गराउनुको सट्टा अनावश्यक द्वन्द्व सिर्जना गरेर मुलुकमा झमेला बढाउनु बीपीको नीतिभित्र पर्दैन । राजा त्रिभुवनले प्रजातन्त्रको पक्षमा भित्रीरूपमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदा भागेर दिल्ली गएपनि काङ्ग्रेसले नै स्वदेश फिर्ता गराएर राजगद्दीमा राखेकै हो । राजा महेन्द्रले प्रजातन्त्र खोस्दा महेन्द्र चढेको जीपमा जनकपूरमा कांगे्रसका दुर्गानन्द झा लगायतले बम हानेकै हुन् र, बाबुकै पथ पछ्याउने राजा ज्ञानेन्द्रलाई राजद्दीबाट काङ्ग्रेसकै अगुवाइमा हटाइएको हो । त्यसैले जब नेपालका कम्युनिष्टहरूले प्रजातन्त्र र जनताको अधिकारलाई स्वीकार गरे तब काङ्ग्रेसले उनीहरूलाई राष्ट्रिय राजनीतिको मुल प्रवाहमा सँगसँगै या साथ लिएर द्वन्द्व मेटाएको पाइन्छ ।

इतिहासमा नेपाली काङ्ग्रेस र नेपाली जनताका विरुद्ध जो-जो उभिए ती समाप्त भएर गएका छन् । यसका प्रशस्त उदाहरण छन् । १०४वर्षे जहानीया राणा शासन, ३०वर्षे पञ्चायती शासन सबै नेपाली काङ्ग्रेस र नेपाली जनतासँग निहुँ खोज्दा, दमन गर्न खोज्दा समाप्त भएका हुन् । यो सब देखेका नेपालका कम्युनिष्टहरूले काङ्ग्रेसलाई बुर्जुवा आदि-इत्यादि भनेपनि नेपाली काङ्ग्रेससँगको सहकार्य र सहयात्राबिना आफ्नो अस्तित्व जोगिन नसक्ने ठानेर नै मेलमिलापको नीतिमा उनीहरू पनि आएकै हुन् र सहकार्य गरेका हुन् । राष्ट्रियताका सन्दर्भमा बीपीले राजसंस्था वा राजासँग गर्नुभएको मेलमिलापको प्रस्तावलाई राजा वीरेन्द्रलबाट स्वीकार गरिएन, तर जनमतसंग्रहमार्फत केही सुधारका पय्रास भने भए । बीपीको मेलमिलापको त्या नीति स्वीकार नगर्नाको परिणाम हो अन्ततः देशबाट राजसंस्था नै पतन भयो । २०६२/०६३ को परिवर्तनपछि नेपाली काङ्ग्रेस स्वयंको नेतृत्वमा देशमा गणतन्त्र स्थापना भयो ।

बीपीले मेलमिलाप नीति प्रतिपादन गर्दाको विश्व राजनीतिक परिवेश र घरेलु परिस्थितिमा अहिले परिवर्तन आएको छ । तर, हाम्रो राष्ट्रियता र प्रजातन्त्रमाथि देखिएको चुनौती र खतरा भने अझै टरेको छैन । अहिले हाम्रा छिमेकी एवं मित्रराष्ट्रहरू र विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको नेपालप्रतिको चासो झन् बढेको छ । त्यो चासो कतिपय अवस्थामा दबाब र हस्तक्षेपकै तहमा देखिने गरेको छ । यस अवस्थामा राष्ट्रियतामाथिको चुनौती विगतमा भन्दा अझ बढ्दो छ । अब राष्ट्रियताको जगेर्ना गर्न र जनताको स्वाभिमानलाई अझ उच्च बनाउन बीपीको नीति, विचार सिद्धान्तलाई शब्दमा भन्दा ब्यवहारमा अवलम्बन गरिनुपर्छ । यसलाई वर्तमान राजनीतिक परिवेशमा थप परिभाषित एवम् समृद्ध बनाउँदै राष्ट्रवादी एवम् प्रजातन्त्रवादी शक्तिबीच व्यापक एकता र मेलमिलाप स्थापित गर्न जरूरी छ ।

भ्रष्टाचार र बेथितिले गर्दा जनतामा चरम निरासा बढेर गएको छ । यो लोकतन्त्र र राष्ट्रियताका लागि झन् खतरा हो । अरु सबैसँग मेलमिलाप गरेपनि नेपाली काङ्ग्रेसले भ्रष्टाचारी, दलाल, कमिशनखोरहरूका विरुद्ध कठोर संघर्ष गरेर बीपीले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादी यात्रालाई द्रूत गतिमा अघि बढाउन ढिला गर्नु हुँदैन । गरीबी, पछौटेपन, रोग, भोक, शोक, अभाव र अनावश्यक प्रभावले ग्रस्त भएर मुलुकले समाजवादी मार्ग पहिल्याउन सक्दैन । गरीबलाई धनी नबनाई देशले समृद्धिको यात्रा पनि तय गर्नैसक्दैन । गरीबलाई धनी बनाउने नै हो बीपीको समाजवादी नीति । त्यसैले अबको लडाइँ काङ्ग्रेसले यसैतर्फ केन्द्रित गनुपर्दछ । यही नीतिले हामीलाई प्रजातान्त्रिक समाजवादको लक्ष्यमा पुऱ्याउँदछ । त्यही भएर बीपीले प्रतिपादन गर्नु भएको मेलमिलापको नीति वर्तमानमा भन् सान्दर्भिक भएर गएको छ । जय नेपाल ।
[email protected]

(लेखक नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति तथा हाल नेपाली काङ्ग्रेस झापाका जिल्लासचिव हुन् ।)