जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता

जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता


जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच वटा केन्द्रीय विभागले पूर्णता पाएका छन् । महाधिवेशनपश्चात गठित विभागहरुको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउन केन्द्रीय कार्यालय समितिको समन्वयमा सम्बन्धित विभागहरुको बैठकबाट विभागहरूलाई पूर्णता दिइएको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या विभागको बैठकबाट प्रमुख डा. सुरेन्द्र यादव र अब्दुल कलाम अन्सारीलाई विभागको सचिव चयन गरिएको छ भने पूर्ण बस्नेत प्रमुख रहेको प्रचारप्रसार तथा प्रकाशन विभागको उपप्रमुखमा शम्भु झा र सचिवमा देवबहादुर दुरा चयन भएका छन् ।

यस्तै, सहकारी तथा गरिवी निवारण विभागको बैठकबाट प्रमुखमा उदयकान्त मिश्र र विभागको विज्ञ सदस्यमा रघुवीर मिजार तथा युवा, विद्यार्थी तथा खेलकुद विभागको उपप्रमुखमा कृष्णशंकर साह र सचिवमा रमेश यादव चयन भएका छन् । यस विभागको प्रमुख विक्की यादव रहेका छन् ।

वन तथा वातावरण विभागको सचिवमा हंशा साह तथा विभागको विज्ञ सदस्यमा चन्देश्वर सदा र माधवप्रसाद देवलाई मनोनित गरिएको छ ।

अर्जुन थापा प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको बैठक आज (१६ पुष) पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बताइएको छ । बाँकी विभागलाई पूर्णता दिनको लागि पुस २४ गतेसम्म बाँकी विभागहरुको बैठक पालैपालो बस्ने गरी आह्वान गरिएको बस्नेतले बताएका छन् ।

यसैबीच, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियानलाई प्रभावकारी बनाउन पाँच दिने राजनीतिक कार्यक्रम लिएर लुम्बिनी प्रदेश पुगेका छन् । पुस १५ गतेदेखि पुस १९ गतेसम्मको कार्यतालिका बोकेर अध्यक्ष यादव लुम्बिनी प्रदेश पुगेको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।

अध्यक्ष यादवले मङ्गलबार परासीको बहुमुखी क्याम्पसमा जिल्ला कार्यसमिति र सम्पूर्ण भ्रातृसंगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने छन् । जसपा नेपालले पुस १७ गते बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला समन्वयको सभाहलमा जनतासँग जसपा नेपालसँग, आधारभूत संगठन निर्माण अभियानसम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष यादव प्रमुख वक्ता भई कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

अध्यक्ष यादव पुस १८ गते पार्टीले बाँकेको नरैनापुर गाउँँपालिकामा र पुस १९ गते बर्दियाको गुलरियामा आयोजना गर्ने अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने बताइएको छ । उनले सोमबार नवलपरासी जिल्ला समितिद्वारा संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको हुकईमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।