दलका नेताहरूको नूनको सोझो गर्ने परिपाटी पत्रकारिता नभएर पत्रुकारिता हो, पर्चाकारिता हो; जसले कदाचित व्यावसायिक धर्म निर्वाह गर्दैन । महासंघले क्रियाशील वस्तुपरक पत्रकारिता गरिरहेका पेशाकर्मीहरूको आजीविकाको सुरक्षण र तिनको पेशागत हित सम्बर्द्धनका खातिर काम गर्नु नितान्त जरुरी भएको छ ।
✍ राजबाबु शंकर
हालैमात्र नेपालभरका सञ्चारकर्मीहरूको छाता संगठन भनिने नेपाल पत्रकार महासंघको तीनै तहको चुनाव सम्पन्न भएको छ । इतिहासमै यसपालि पहिलोपटक महासंघले महिला नेतृत्व पाएको छ ।
तर, महासंघ राजनीतिक दलको संगठन रहेझैं यसपटक पनि साक्षात भयो । एकातिर, दलकै नेताहरू ‘सञ्चारकर्मीहरू निरपेक्ष रहनुपर्दछ’ भन्ने गर्छन् भने अर्कातिर तिनै दलका धेरजसो नेताहरू आ-आफ्नो दलको मुखपत्र बनाउन उद्यत छन्, जसमा सञ्चारकर्मीहरू पनि उत्तिकै दोषभागी छन् । दलका नेताको जुठोपुरोमा रत्तिएका वा अवसर र पदको भोको रहेको जनाउ दिएर सञ्चारकर्मीहरू पनि पेशागत मर्यादाबाट च्यूत हुँदै आएका छन् । अब यसरी कुनैनकुनै खाले बक्सिस पाउन लालायित रहने सञ्चारकर्मीहरूले कस्तो सञ्चारकर्म गर्लान्- कसैबाट छिपेको छैन ।
आमसञ्चारका माध्यम खासगरी कोरोनाकालयता धिपिक-धिपिकको हालतमा पुग्दैछन् । मूलतः छापामाध्यम अस्तित्व बचाउन संकट झेलिरहेका छन् । पत्रकार र पत्रपत्रिकामा काम गर्ने कर्मचारीले रोजगारी गुमाउने क्रम जारी छ, जसमध्ये पनि स्थानीय समाचार संस्था बढी संकटोन्मुख छन् भने ठूला प्रकाशन गृहहरू पनि गम्भीर रूपले प्रभावित छन्, कतिपय त बन्द नै भइसकेको अवस्था छ । रेडियो समाचारका स्रोत हुन छाडेका छन् र टेलिभिजनका दर्शक पनि लगातार घट्दा छन् । बरु समाचार स्रोतका रूपमा सामाजिक सञ्जालका प्लेटफर्महरू तीव्रतर रुपमा आकर्षक र अधिकांशतः मानिसको पहुँचमा रहेको छ । यसो हुनु भनेको परम्परागत समाचार स्रोतमाथिको निर्भरता स्वात्तै घटेको छ भन्ने हो ।
कुनै जमाना थियो, जब छापामाध्यम विश्वस्त स्रोत थियो- समाचार र विचारको । त्यसपछि सूचनाको स्रोतमा क्रमभंगता आउँदै रेडियो र रेडियोबाट टेलिभिजन अनि टेलिभिजनबाट अनलाइन समाचार पोर्टल समाचारका स्रोत बन्दै गए; जसलाई विज्ञानको वरदान मानिँदै गयो । तर, अहिलेको समय सामाजिक सञ्जालमार्फत सूचना आउने समय बनेको छ । उहिले-पहिले समाचार स्रोतमा विश्वसनीयता र जवाफदेहीपन थियो । तर, अब भने फेसबूक, एक्स, यु-ट्युब, इन्स्टाग्राम, ह्वाट्सएप, भाइवर आदि सञ्जालमा सार्वजनिक हुने जानकारीमाथि त्यस्तो कुनै विश्वसनीयता र उत्तरदायित्व छँदैछैन ।
डिजिटल प्रकाशन/प्रसारण शुरुवातको तीन दशकयता पत्रकारिताको परम्परागत आयाममाथि धावा बोलिएको छ । यसले गर्दा कुनै बेलाका प्रभावशाली सञ्चारमाध्यमहरूको व्यावसायिकता धरापमा पर्दै गएको छ । उनीहरूमध्ये कतिपय भने जेनतेन अस्तित्व रक्षाको संघर्षमा छन् । सूचना प्रवाहको जंजाललाई तथ्यपरक, सन्तुलित र आम जनसमुदायमुखी बनाउनु आजको चुनौति हो । यसै पनि नेपालको अपेक्षाकृत विश्वस्त आमसञ्चार माध्यमको व्यावसायिक दिगोपन गम्भीर संकटमा परिसकेको छ ।
यस्तो अवस्थामा अब सञ्चारकर्मीहरूको पेशागत संगठन पेशाकर्मीहरूको अनन्य हितचिन्तक बन्न जरुरी छ । दलका नेताहरूको नूनको सोझो गर्ने परिपाटी पत्रकारिता नभएर पत्रुकारिता हो, पर्चाकारिता हो; जसले कदाचित व्यावसायिक धर्म निर्वाह गर्दैन । त्यसो हुँदा महासंघले क्रियाशील वस्तुपरक पत्रकारिता गरिरहेका पेशाकर्मीहरूको आजीविकाको सुरक्षण र तिनको पेशागत हित सम्बर्द्धनका खातिर काम गर्नु नितान्त जरुरी भएको छ । ‘पत्रकार’ वा ‘सञ्चारकर्मी’को मुखुण्डो भिरेर तस्करका मतियार र हप्तावारी/महिनावारी असुली धन्दामा लागिरहेका दलालहरूलाई पेशाबाट बेदखल गराउने हुति राख्न अत्यावश्यक छ । आज समयले खोजिरहेको पेशागत शुद्धीकरण यही नै हो ।
प्रतिक्रिया