‘कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त’

‘कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त’


नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन्।

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने धारणा राख्दै उनले भने, ‘विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’

निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए ।

उनले भने, ‘कोइराला परिवार एक होइन विचार एक हुनु पऱ्यो । विचार एक भए हुन्छ ।’ महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट-उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।