म्याडम आरजुको ‘भारतजात्रा’ !

म्याडम आरजुको ‘भारतजात्रा’ !


शेरबहादुर देउवा र केपी शर्मा ओलीबीचको सम्झौताबाट गठन भएको वर्तमान सत्ता-गठबन्धनमा परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउनुभएकी आरजु राणा देउवा सरकारमा अधिक चासोका साथ हेरिएकी पात्रमा पर्नुहुन्छ । शेरबहादुर देउवालाई ‘सफल’ बनाउन मुख्य भूमिका निर्वाह गर्ने असल पत्नीका रूपमा चिनिनुहुने उहाँलाई आफै एक महत्वाकाङ्क्षी महिलाको रूपमा समेत मानिसहरू बुझ्दछन् । अङ्ग्रेजी भाषामा दखल भएको र विभिन्न आइएनजिओ एवम् एनजिओमा रहेर काम गर्दै आउनुभएकोले कतिपय मानिस आरजु प्रज्ञाशील हुनुहोला भन्ने आम बुझाइ पनि छ । तर आरजुका आलोचक तथा विरोधीहरू उहाँलाई असल मानिसका रूपमा बुझ्दैनन्, हेर्दैनन् र सुन्दैनन् । उनीहरू अनुचित निर्णय र अपारदर्शी कमाइको ‘धौलागिरी’का रूपमा आरजुको पहिचान दिन खोज्छन् ।

पछिल्ला केही वर्षयता आरजु राणाका विरूद्ध ‘पश्चिमी शक्ति संसार’ पनि निकै सचेततापूर्वक क्रियाशील रहेको पाइएको छ र उहाँलाई कुनै न कुनै प्रकरणमा झोसेर शेरबहादुर देउवाको राजनीतिक जीवनमा समेत पूर्णबिराम लगाइदिने चाल कतैबाट चलिरहेको सङ्केतहरू मिल्न थालेका छन् । आरजुको अति उत्साहजनक क्रियाकलापले उहाँप्रति सबैको आँखा लाग्ने परिस्थिति निर्माण भएको छ ।

काङ्ग्रेस नेता शेरबहादुर देउवासँगको वैवाहिक सम्बन्धमा प्रवेश गर्नुभएपछि आरजु बिस्तारै राजनीतिक क्रियाकलापमा तानिनुभयो या उहाँको आफ्नै महत्वाकाङ्क्षाले राजनीतिमा सक्रिय गरायो । टुप्पोतिरबाट राजनीतिमा जोडिनुभएकोले आरजु ‘ग्रासरुट’बाट टाढा हुनुहुन्थ्यो । उहाँको बुझाइमा राजनीति भनेकै सत्तामा पुग्न र पुगेपछि त्यहीँ टिकिरहन प्रयास गर्ने खेल थियो । आफूलाई मन परेका मानिसलाई नजिक राख्ने आलोचकहरूलाई बैरी ठान्ने, आफ्ना मानिसलाई महत्वपूर्ण अवसर दिने र अन्यलाई वरिपरि पर्नै नदिने, कर्मचारीको सरुवा बढुवामा पर्दापछाडि बसेर निर्णय लिने, विदेशी कुटनयिकहरूसँग बैठक तथा भोज गर्ने र कहिलेकाहीँ कुनै समारोहमा अतिथि बनेर भाषण गर्ने कार्य नै राजनीति भएको उहाँको बुझाइ थियो, छ ! अनि सत्ता प्राप्त गर्नु भनेको राजनीतिक सफलता हो र सत्ता नमिल्नुचाहिँ राजनीतिक असफलता भन्ने निष्कर्ष पनि आरजुको थियो, छ !

त्यसैगरी उहाँको बुझाइमा काङ्ग्रेस भनेको कम्युनिष्ट होइन र बाँकी अन्य कुनैपनि समूह होइन, यो आफ्नो पतिले नेतृत्व गर्नुभएको एउटा विशिष्ट समूह हो, जसको स्थापना आफ्ना पिता-पुर्खाको सत्ता खोस्नका लागि भएको थियो र आफ्ना पुर्खाको सत्ता खोस्ने पार्टीको नेतृत्व लिनसक्नु नै आजको समयमा आरजुको महानतम् सफलता हो । उहाँ काङ्ग्रेसको नेतृत्व ग्रहण गर्न हरतरहले तयारी अवस्थामा हुनुहुन्छ । शेरबहादुर देउवाजीलाई सहयोग पु¥याएवापत आफू स्वतः पार्टी-नेतृत्वको उत्तराधिकारी भएको विश्वास उहाँको छ र जो यस विश्वासको प्रतिकुल उभिएका हुन्छन् ती कदापि काङ्ग्रेस होइनन्, हुन सक्दैनन् । आरजुले आफ्नो आँखाबाट काङ्ग्रेसलाई हेर्नुहुन्न, शेरबहादुरजीको आँखाबाट काङ्ग्रेसलाई हेर्ने अभ्यास उहाँले गर्दै आउनुभएको छ । त्यसरी हेर्दा काङ्ग्रेसका हरकोही नेता/कार्यकर्तालाई आफूभन्दा निकै होचोपुड्को देख्नुहुन्छ । त्यही दृष्टिका कारण आरजुले आफूलाई सबैभन्दा अग्लो स्थानमा पाउनुभएको छ । हुतिहाराहरूको एउटा ठूलो जत्था म्याडम आरजुको पाउमा आफूसँगै काङ्ग्रेसलाई समर्पण गर्न लामवद्ध हुँदैछन् !

तीन दशकअघि ‘दाइ’ शेरबहादुर देउवाकी पत्नी बनेर हरिहरभवनस्थित मन्त्रीनिवासमा प्रवेश गर्ने बित्तिकै काङ्ग्रेसका लाखौँ कार्यकर्ताकी भाउज्यू बन्नुभएकी आरजुले तीन दशकसम्म सत्ता सञ्चालनको प्रत्यक्ष र औपचारिक भूमिका निर्वाह गर्न पाउनुभएको थिएन, भलै देउवाजीले लिने हरेक निर्णयमा उहाँको हातपाउ चल्ने गरेको यथार्थ किन नहोस् ! यसपटक (२०८१ सालमा) आरजु म्याडमले पहिलोपटक सत्ता सञ्चालनको औपचारिक जिम्मेवारी प्राप्त गर्नुभएको छ । केपी शर्मा ओली जस्ता दिग्गज र चतुर नेताको सरकारमा सबैभन्दा बलवान् मन्त्रीको हैसियतमा काम गर्न थाल्नुभएपछि आरजुले आफ्नो महत्वको उचाइबारे थप ज्ञान प्राप्त गर्नुभएको बुझिन्छ । शेरबहादुर देउवाको हातमा सिङ्गै काङ्ग्रेस रहेको र सिङ्गै देउवा आफ्नो हातमा भएको स्पष्ट ज्ञान मिलेपछि केपीले दिनुभएको प्राथमिकताले उहाँ अझै आकाशिनु भयो । प्रधानमन्त्री केपीले आरजुको महत्वाकाङ्क्षाको स्तर नबुझ्ने कुरा भएन । परराष्ट्रमन्त्रीको हैसियतमा पहिलोपटक भारत भ्रमणमा जानुहुँदा दिल्लीले उहाँलाई हात खोलेर स्वागत गऱ्यो, प्रधानमन्त्रीलाई दिने स्तरको दर्जामा राखेर नयाँ दिल्लीले स्वागत गरेपछि आफ्नो उचाईले सगरमाथा नाघेको सायद महसूस गर्नुभएको थियो ! प्रधानमन्त्री केपी ओलीसङ्गको असमझदारीका कारण उत्पन्न परिस्थितिको परिणामका रूपमा आफ्नो स्वागतको भब्यतालाई बुझ्ने ‘झन्झट’तिर आरजु लाग्नुभएन । बरु भारत आफ्नो मुट्ठीमा रहेको महसूस उहाँले गर्नुभयो ।

भारत भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले ‘अबको प्रधानमन्त्री महिला बन्ने’ उद्घोष गरेर आरजुलाई सगरमाथाभन्दा धेरै माथि पुऱ्याइदिनु भयो । यसरी आकाशिएकी आरजुले चीन भ्रमण गरेर बीआरआइ सम्झौताको सुनिश्चितता गरेपछि भारत र चीन दुवै मुलुकलाई प्रभावित गर्नसक्ने एकमात्र ब्यक्तिको हैसियतमा आफू रहेको निचोडमा उहाँ पुग्नुभयो । भावी प्रधानमन्त्रीको अभिनय यात्रामा जुट्नुभएकी आरजुले पश्चिमी सन्सार आफ्नो काबुमा रहेको धेरै पहिलेदेखि नै ठान्दै आउनुभएको हो । अब चीन र भारतसमेत आफ्नो अनुकुल रहेको पाउनुभएपछि उहाँको आत्मविश्वासले तीनवटा सगरमाथा नाघेको महसूस उहाँको हाउभाउ (दयमथ बिलनगबनभ)ले देखाउन थालिसकेको थियो ! त्यसैले आफ्नो प्रधानमन्त्रीलाई ‘तुरुन्त’ नयाँ दिल्लीमा आमन्त्रण गर्नुपर्ने सन्देश लिएर आरजु दोस्रोपटक युरोपबाट सोझै नयाँ दिल्ली पुग्नुभयो । तर यसपटक उहाँले दिल्लीमा चारैतिर हिउँले ढाकेको पाउनुभयो, जता छुँदा पनि चिसोले झट्का हानेपछि आरजुले ‘डुबते को तिनका सहारा’ भनेझैँ कुनै राममाधव नामक ‘नेता’सङ्ग भेटेर नेपालीको आँखामा इज्जत जोगाउने प्रयास गर्नुभयो । तर, अहिले भारतीय संस्थापनले आरजुलाई भेटेकै विषयलाई लिएर राम माधवजीसँग स्पष्टीकरण लिएको घटनाले आरजुप्रतिको भारतीय उपेक्षाको गहिराइ छर्लङ्ग पारिदिएको छ ।

भारत र चीन आफ्नो सम्बन्ध र मित्रतालाई प्रगाढ तुल्याउने अभ्यासमा जुटेको यो समयमा परिस्थितिको जटिलतालाई बुझेर व्यवहार गर्न नेपालले सक्नुपर्ने थियो । आरजुको चञ्चलताले नेपाललाई कुटनीतिक रूपले अप्ठ्यारोमा पारेको छ । पहिलेको भारतयात्रा र पछिल्लोपटकको ‘भारतजात्रा’ बीचको अन्तर बुझ्ने हो भने आरजुले आफ्नो अद्भुत असफलताका निम्ति तत्काल बिदा लिएर आत्मसमीक्षा गर्नुपर्ने हो ! तर शासकीय अहङ्कारले उहाँलाई आत्मसमीक्षा गरेर अघि बढ्ने बाटो पनि छेकिरहेको छ । भविष्यमा प्रधानमन्त्री होइन मन्त्रीमात्र बनिरहने परिस्थिति पनि दोहोरिन मुस्किल पर्ने वास्तविकतालाई बुझेर पन्छिने ‘गल्ती’ आरजु म्याडमबाट नहोला ! तर आफ्नो गुमेको खासियत जोगाउन उहाँ असमर्थ हुनुभएमा त्यसले काङ्ग्रेस र मुलुकलाई कुनै क्षति नपुग्ने चाहिँ अब निश्चित भएको छ । जय मातृभूमि !