आफूलाई गरिएको कारबाही विधानसम्मत नरहेको भीम रावलको जिकिर

आफूलाई गरिएको कारबाही विधानसम्मत नरहेको भीम रावलको जिकिर


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा. भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन् ।

पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु ।’

एमाले सचिवालय बैठकले उहाँलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेका थिए ।

पार्टीभित्र आफूलाई राष्ट्रवादी नेता भन्न रुचाउने डा. रावल पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी थिए । वि.सं. २०३२ मा सदस्य लिएपछि देश, जनता, स्वाभिमान र सिद्धान्तप्रति इमान्दार भई पार्टीभित्र सम्हाल्दै आएको जिम्मेवारी र सामना गर्नुपरेका चुनौतीलगायत विषय उनले आज पत्रकार सम्मेलनमा सुनाए ।