बिआरआईलाई विवादको विषय नबनाउन आग्रह

बिआरआईलाई विवादको विषय नबनाउन आग्रह


नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर बिआरआईमा प्रस्ताव लैजानुपर्ने धारणा अघिसारेका छन् ।

नीति अनुसन्धान संस्थाको आयोजनामा बुधबार काठमाडौंमा भएको नेपालमा बिआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बिआरआई नेपालको हितमा रहेको प्रष्ट पारे ।

बिआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा बिआरआईका परियोजना अघि बढाउनुपर्ने बताए । उनले भने, ‘ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।’

बिआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरूरी रहेको भन्दै नेता खनालले दुई छिमेकीमुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरूरी रहेको औँल्याए । बिआरआईलाई विवादको विषय नबनाउन उनको आग्रह थियो ।

हाल विश्वको ७५ प्रतिशत जनसङ्ख्या बिआरआईभित्र परेको जानकारी गराउँदै उनले हालसम्म तीन हजार परियोजनामा सम्झौता भइसकेको जानकारी दिए । एक सय ५० भन्दा बढी मूलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा भइरहेको विकासले बिआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टि भएको दाबी गरे ।