चार महिना कार्यकाल बांकी छँदा ६५ सदस्यीय सल्लाहकार चयन

चार महिना कार्यकाल बांकी छँदा ६५ सदस्यीय सल्लाहकार चयन


p-releaseलण्डन । नयां नेतृत्व चयनमा लागि चुनावी सरगर्मी शुरु हुनै लाग्दा गैर आवासीय नेपाली संघ यूकेले सल्लाहकारहरु नियुक्त गरेको छ । आगामी सेप्टेम्बर ६ मा नयां निर्वाचन घोषणा गरिसकेपछि अध्यक्ष महेन्द्र कंडेलको नेतृत्वले सल्लाहकारहरु नियुक्त गरेको हो । एनआरएनए यूकेको लामो विदादपछि केही महिनाअघि मात्र आईसीसीको निर्देशनमा अध्यक्ष बनेका महेन्द्र कंडेलले आफू निकटमा व्यक्तिहरुलाई सल्लहाकारमा चयन गरेका हुन् । विवादकाबीच पनि महेन्द्र कंडेललाई अध्यक्ष बनाउनुपर्छ भन्दै खुलेर लागेका प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राम शरण सिंखडादेखि नेपाली दूतावासमा भएको सहमतिका बेला बाहुबल प्रयोग गर्न तम्सिनेहरु पनि सल्लाहकार चयन भएका छन् ।
अध्यक्ष महेन्द्र कंडेलले आफू संरक्षक रहेको प्रगतीशील नेपाली समाजका पूर्ण लोक्साम, नविन सापकोटा, श्याम शेरचन, रणबहादुर केसी, कर्ण बहादुर शाही लगायतलाई एनआरएनए यूकेको सल्लाहकारमा चयन गरेका छन् । यसैगरी आफू निकट रहेका नेपाली कांग्रेस समर्थकहरु विज्ञान प्रसाई, विनोद मोक्तान, शिवजी श्रेष्ठ, चेतनाथ खनाल, युवराज गुरुङ, शान्तविनोद लामिछाने, भोज प्रसाद गुरुङ, तेज राई लगायतलाई सल्लाहकार चयन गरिएको छ ।
यसअघि तीन सय पाउण्डका दरले सल्लाहकार चयनको विरोध भएपछि तत्कालीन कार्यसमितिले म्याग्दीको गलेश्वरमा निर्माणाधिन बृद्धाश्रमको सहयोगार्थ सहयोग संकलन गरिएको जनाएको थियो । यद्यपि ती सल्लाहकारहरुको दुई बर्षे कार्यकालका बारेमा यस कार्यसमितिले केही उल्लेख गरेको छैन । सन् २०१३ को कार्यसमितिको निर्वाचनका लागि सदस्यता फारम बुझाउने अन्तिम दिन सदस्यता फारम नबुझई चुनाव बहिस्कार गरेका महेन्द्र कंडेल र उनका समर्थकहरुको सहयोगमा जुट्न नागरिक समाज गठन गरेका डा. चन्द्र लक्सम्बा पनि सल्लाहकारमा आसीन भएका छन् ।
एनआरएनए सल्लाहकारमा चयन हुनुभएछ नि… भन्ने नेपाली टेलिभिजनको जिज्ञासामा शिवजी श्रेष्ठले यस बारेमा कुनै जानकारी नभएको बताए । आफूलाई सम्पर्क नै नगरी सल्लाहकारमा चयन गरिएको भनी गरिएको प्रचार प्रति श्रेष्ठले आपत्ति जनाएका छन् ।
विगतमा पनि कार्यसमितिको तुलनामा धेरै ठूलो संख्यामा सल्लाहकार नियुक्त गर्ने परिपाटी अंगाल्दै महेन्द्र कंडेल कार्यसमितिले पनि चार महिना कार्यकाल बांकी रहंदा ६५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । एनआरएनलाई यूकेको कुना कुनासम्म पु-याउने उद्घोष गर्दै आएको यस कार्यसमितिले अधिकांश सल्लाहकार भने साउथ इष्ट लण्डन क्षेत्रमा बसोबास गर्नेहरुलाई रोजेको छ ।