समय सधैं एकनास हुँदैन; जनता उर्लिएपछि धेरै आतङ्की, नवाबी, शोखिन, बादशाह, तानाशाहहरू ढलेका इतिहास अनेकानेक छन् । सम्बद्ध सबैमा समयले बजाइरहेको चेतावनीको यो दुन्दुभी सुन्ने चेत अब ढिलो नगरिकन आओस् ।
✍ राजबाबु शंकर
नागरिक-जीवन निरन्तर विश्रृङ्खलित छ, जसको मूल कारण आर्थिक दूरावस्थासँग जोडिएको छ । यतिबेला नेपालका हरेक पेशा, व्यवसाय, समाज र गरिखाने वर्ग अगोचर तर असुरक्षित भविष्यप्रति संत्रस्त छन् । सत्ताधारीहरूले विधिको शासन कमजोर बनाएपछि पहुँचविहीन नागरिक सहायताशून्य र निरीह बनिरहेका छन् । समयचक्रले सम्भवतः असहाय एवम् निरुपाय बन्न पुगेकाहरूलाई नै विद्रोह बोल्ने बनाउँछ । त्यही भएर होला, जनताको अतिशय असन्तुष्टि र आक्रोश विद्रोहमा परिणत हुने गर्दछ- विधिको बर्खिलाप गर्नेहरू विरुद्ध जहिल्यसुकै । यसलाई समाजको गर्भगृहबाट विद्रोहको ज्वालामुखी सतहतर्फ निस्कँदै गरेको सङ्केतका रूपमा बुझ्नु पर्दछ, सत्तामा रहेर तानाशाही शैली अपनाउनेहरूले ।
सुशासनको भजन गाउँदै कुशासनको रत्यौली खेलिरहेका विधिभञ्जकहरूले केही वर्षयता देशको अर्थ-राजनीतिलाई गम्भीर चुनौती दिएका छन् । तर, त्यो दोषको नतिजाले प्रताडित हुने भागिदार भने जनता भइरहेका छन् । विभिन्न दलका मठाधीशहरू चुनावैपिच्छे समृद्धिको स्वैरकल्पनामा जनतालाई रनभुल्लाउन छोड्दैनन् । भाषणबाजीमा समाजवादउन्मुख राज्यव्यवस्थाको परिकल्पना २०४७ सालदेखि नै जारी छ । तर, बितेका ३३ वर्षमा नेपाली जनताको अवस्था भने हिजोको भन्दा आजसम्म तन्नम बन्दै जाँदो छ । यस्तो परिस्थितिले जनमनमा बढ्दो चरम निराशा र आक्रोश खतरनाक मोडमा पुग्न सक्ने अवस्था बनिरहेको छ ।
सत्ताका पुग्नुको अर्थ लोभी-लालची भएर केवल देशदोहन एवम् जनपीडन गर्नु मात्रै हो ? तिनलाई जनताले ‘देश र हामी नागरिकलाई सकेसम्म लूट’ भनेर मतरूपी लाइसेन्स दिएर पठाएको हो र ? तिनको लूट र बेइमानीको मूल्य वा सजाय चैं यस देशका गरिखाने वर्गका जनताले चुकाउनु पर्ने हो ? के यो सब सरकारले नागरिकलाई गरेको हलाली होइन ?
जीवन-संघर्षका क्रममा नागरिकहरूले भोगेको निरुपाय दीन-हीन अवस्था लुटिखाने शासकहरूको बाहुल्य हुनुको एक मात्र कारण हो । कथित ‘सरकार’ भने नागरिक जीवनको यस्तो करुण बिचल्लीप्रति तमाशे बन्नु बाहेकको विकल्पमा छैन ! जनअपेक्षाहरू पूरा गर्न ३३ वर्षदेखिका सरकारहरू निरन्तर अक्षम हुनु सबै तहका जनप्रतिनिधिहरू नै निकम्मा हुनुको एकमुष्ट परिणाम बनेको छ । सत्ताका पुग्नुको अर्थ लोभी-लालची भएर केवल देशदोहन एवम् जनपीडन गर्नु मात्रै हो ? तिनलाई जनताले ‘देश र हामी नागरिकलाई सकेसम्म लूट’ भनेर मतरूपी लाइसेन्स दिएर पठाएको हो र ? तिनको लूट र बेइमानीको मूल्य वा सजाय चैं यस देशका गरिखाने वर्गका जनताले चुकाउनु पर्ने हो ? के यो सब सरकारले नागरिकलाई गरेको हलाली होइन ?… यस्ता सवाल त कति छन् कति ! ‘यो देशमा भ्रष्ट र कुशासनीहरूको रजगज कहिलेसम्म जारी रहला ?’- यक्षप्रश्न बन्न पुगेको छ ।
वर्तमान निराशोन्मुख छ, भविष्य अन्योलपूर्ण गोचर भइरहेको छ । भ्रष्टाचार, कुशासन, गद्दार नेतातन्त्र र बेइमान एवम् ठग कर्मचारीतन्त्रको अराजकताबाट वर्षौंवर्षदेखि अपहेलित, शोषित, दलित, किनाराकृत र प्रताडित नागरिकहरू निकट आगतमा अदमनीय विद्रोहको पुल्ठो बोकेर तीविरुद्ध जाइलाग्ने परिस्थिति स्वयम् ती थेत्तरा र नकच्चरा शासक/प्रशासकहरूले सिर्जना गर्दै लगेका छन् । अब भने यही देशमा गरिखाने वातावरण खोजिरहेका आम नागरिक र त्यसमा पनि युवापंक्ति लुटेरा शासकहरूको प्रतिकार एवम् बहिर्गमनका खातिर उत्प्रेरित हुन समयले घच्घचाइरहेको छ ।
आम नागरिकको बेहिसाब असहमति अब त सरकारहरूविरुद्धको विद्रोहमा रूपान्तरण हुने चरणमा पुग्नै लागेको प्रतीति हुन थालेको छ । समय सधैं एकनास हुँदैन; जनता उर्लिएपछि धेरै आतङ्की, नवाबी, शोखिन, बादशाह, तानाशाहहरू ढलेका इतिहास अनेकानेक छन् । सम्बद्ध सबैमा समयले बजाइरहेको चेतावनीको यो दुन्दुभी सुन्ने चेत अब ढिलो नगरिकन आओस् । श्रृङ्खलाबद्ध अत्यासलाग्दो मुलुक र मुलुकीको दूरावस्थाले विद्यमान राजनीतिक प्रणालीमाथि अजंगको प्रश्न खडा गरिदिएको वर्तमानलाई नजरअन्दाज नगरियोस् ।
प्रतिक्रिया