एमालेका अध्यक्ष ओलीसँग पौँठेजोडी खेल्दा एमालेका तत्कालिन उपाध्यक्षहरू वामदेव गौतम र भीम रावलहरू राष्ट्रिय राजनीतिको परिदृष्यबाटै ओझेल परिसकेका हुन् । ‘जिरो’मा जतिवटा जिरो मिसाएपनि परिणाम ‘जिरो’ भन्दा बढी हुन सक्दैन । ‘जिरोहरू’को भेलाको कुनै अर्थ छैन ।
✍ डा. प्रेमराज सिलवाल
राजनीतिको एउटा कोणबाट माधव नेपाल, वामदेव, भीम रावल आदि मिलेपछि एमालेलाई ‘गम्भीर’ क्षति हुने तर्क गरिएका छन् । उनीहरूको मिलनबाट एमालेलाई कति हानी हुन सक्दछ ? चौरासीको चुनावमा एमाले सकिन्छ ? कि नेपाल, गौतम र रावलहरू आफैं सकिन्छन् ? बजारमा यो पनि प्रश्न छ ।
पन्ध्र वर्ष एमालेको शक्तिशाली महासचिव ओहदा ओगटेका माधव नेपाल यतिबेला समाजवादी नामको ‘खुद्रा दल’ चलाएर बसेका छन् । अध्यक्ष भइसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल कहिलेकाहीँ कसैले ‘पुस्तक विमोचन’मा बोलाए ‘प्रमुख अतिथी’ बन्ने भूमिकामा सीमित छन् । कुनैबेला उनीहरूको नेपाली राजनीतिमा ठूलै मान, शान र इज्जत थियो । अब त्यो अवस्था रहेन । खनाललाई नाममात्रको ‘सम्मानित’ नेता बनाइएको छ । वामदेव आएपछि ‘सम्मान’ वामदेवलाई चाहिने भयो । खनालको भागमा अब ‘नेता’ मात्र बाँकी हुने प्रस्ट छ । सत्ता-राजनीति, नियुक्ति र पार्टीको आन्तरिक निर्णय नेता नेपाल र उनको ‘कोर टिम’ले गर्दछ । खनाललाई कुनै जानकारी नै हुँदैन । हुँदा-हुँदा राजनीतिक, सार्वजनिक, नैतिक, वैधानिक र सम्पूर्ण दृष्टिबाट ‘डेट एक्सपायर्ड’ भइसकेका वामदेव गौतमलाई ‘भित्र्याउन’ पनि खनालसँग कुनै सोधनी भएन ।
एमाले पार्टीलाई टुक्र्याउने समयमा सक्रिय रहेका ‘दशभाइ’ भनिएका प्रभावशाली नेताहरू एमाले अध्यक्ष ओलीसँग वार्ता गर्ने क्रममा अन्ततः एमालेमै रहे । माधव नेपालको दुःख त्यही बेलादेखि नै चुलिएको थियो । २०७९ सालको निर्वाचनपूर्वको अवस्था अहिले छैन । ‘कौन पुछे खेसरीका दाल’ जस्तो हालतमा छन् नेपाल । प्रचण्डले ओलीलाई तर्साउन खोलेको ‘समाजवादी मोर्चा’ ‘खोइ खोला… सुक्यो’ भनेजस्तो भयो । अर्थहीन थियो, त्यसबाट केही हुनेवाला पनि थिएन । यदि ओलीले बोलाए र पत्याइदिए कान समातेर माफी माग्दै एमालेमा छिर्न तयार नेताहरूको झुण्ड बोकेर माधव नेपाल ‘कफी मिटिङ’ गर्दैछन् । ‘प्वाल परेको नौका’को हालतमा नेपालको दल पुगेको छ ।
नामै लिएर भन्नुपर्दा रामकुमारीदेखि आधा दर्जन सांसद केपी ओलीसँग ‘कुरा मिलाउन’ ओलीनिकटका व्यक्ति–व्यक्तित्वहरूसँग निरन्तर सम्पर्क र भेटघाटमा दौडधुप गर्दैछन् । पहिले ‘राष्ट्रिय पार्टीचाहिँ बन्ने’ अनुमानले हावा खाएपछि देखि नेता नेपाल ‘काँचो रायोको साग खाएजस्तो’ अनुहार लगाएर सार्वजनिक हुँदैछन् । २०८१ साल वैशाख १५ गते सम्पन्न भएको इलाम र बझाङको निर्वाचनमा त समाजवादीले शर्मनाक हार ब्यहोर्नुपऱ्यो । उसले एमालेलाई हराउन पुग्ने मतसमेत ल्याउन सकेन । यसले पनि पार्टीको खास हैसियत देखाइदियो ।
गत मङ्सिर १५ को स्थानीय निर्वाचनमा पनि माधवको ‘लाज छोप्ने वस्त्र’ नै खुस्कियो । यसअघि नेता झलनाथ खनालको जिल्ला इलाममा कलम चिन्हमा आएको भोट ४०८ मात्र थियो । त्योबेलादेखि नेता खनाललाई नेपालले एउटा केन्द्रिय सदस्यजस्तो पनि ‘भ्यालु’ दिएका छैनन् । खनालको पक्षमा लाग्नेहरू धमाधम एमालेमा छिर्दैछन् । नेता खनाल आफैं पनि एमालेमा जान पाए हुने भन्ने मन बनाएर बसेको भएपनि ओलीले ‘बाल नदिएको’ कारण स्वयम्भुमा ‘हिटर तापेर’ बस्दैछन् ।
एमाले पार्टीलाई टुक्र्याउने समयमा सक्रिय रहेका ‘दशभाइ’ भनिएका प्रभावशाली नेताहरू एमाले अध्यक्ष ओलीसँग वार्ता गर्ने क्रममा अन्ततः एमालेमै रहे । माधव नेपालको दुःख त्यही बेलादेखि नै चुलिएको थियो । प्रचण्डले ओलीलाई तर्साउन खोलेको ‘समाजवादी मोर्चा’ ‘खोइ खोला… सुक्यो’ भनेजस्तो भयो । ‘कौन पुछे खेसरीका दाल’ जस्तो हालतमा छन् नेपाल ।
२०४९ सालदेखि २०६४ सालसम्म एमालेका महासचिव र २०६५ सालेखि २०६७ सालसम्म देशको ३४औँ प्रधानमन्त्री भइसकेका नेता खनाल ओलीको ‘रिस गर्दा’ राजनीतिक र सार्वजनिक जीवनबाट ‘आउटडेटेट’ भए । चुनावमा नेपालको पार्टीले डा. सि.के. राउतको दलले जतिपनि मत ल्याएन । यस्तो दयनिय हालतमा पुगेका नेपालको दलमा अब राजनीतिमा ‘डेटएक्सपायर्ड’ भइसकेका बामदेव मिसिनुको कुनै तुक छैन । बामदेवको ‘पोलिटिकल ग्राफ जिरो’ भएर नै अध्यक्ष ओलीले ‘कौडी बराबर’ पनि भाउ नदिएका हुन् ।
अर्का अराजक प्रवृत्तिका डा. भीम रावलसमेत तिनै ‘जिरो’हरूको ग्याङ्गतर्फ ढल्किएका छन् । ‘जिरो’मा जतिवटा जिरो मिसाएपनि परिणामचाहिँ ‘जिरो’ भन्दा बढी हुन सक्दैन । ‘जिरोहरू’को भेलाको कुनै अर्थ छैन । माधवको पार्टी आफैं ढाँडमा फसेको प्रतीत हुन्छ । उनलाई आफूबाहेकका नौ सांसद जोगाउन मुस्किल पर्दै गएको छ । मन्त्री पद दिने भन्दै ढाँट्दै सांसदलाई राखिएको थियो, अब ती कुरा ‘एकादेशका कथा’ भए ।
एमालेका अध्यक्ष ओलीसँग पौँठेजोडी खेल्दा एमालेका तत्कालिन उपाध्यक्षहरू वामदेव गौतम र भीम रावलहरू राष्ट्रिय राजनीतिको परिदृष्यबाटै ओझेल परिसकेका हुन् । २०५४ सालमा गृहमन्त्री भएका गौतम एमालेका मात्र होइन नेपाली राजनीतिका घगडान खेलाडी थिए । अछामबाट निरन्तर सांसद बनेका रावलको पनि ठूलै प्रभाव थियो । अहिले उनीहरू दुवै ‘सिनआउट’ भए । दुवै हिरोबाट जिरो भएका छन् । माधव नेपाललाई उनको ‘पार्टी’ चौरासी सालसम्म लैजान नसकिने चिन्ता बढेको बेला ‘जिरो मिसिएर’ केही अर्थ छैन । माधवका अनेक दुःख घट्दो होइन बढ्दो क्रममा रहेको प्रस्ट छ । केन्द्रीय कमिटीको मिटिङ गराउनेदेखिबाहेक माधवको दलको सत्ता र सार्वजनिक-सामाजिक राजनीतिमा कुनै भूमिका छैन । पहिले एमालेमा तल्ला कमिटीमा रहेका र जिम्मेवारी पूरा नगर्ने असन्तुष्टहरूलाई केन्द्रमा भरेका छन् उनले । यद्यपि तिनले आफू समाजवादीको फलानो पदमा रहेको भन्ने कुरा समेत समाजमा ढुक्कसँग भन्न सक्ने अवस्था छैन । भोलि फेरि एमालेमा नै फर्कने हो भन्ने ‘मनोविज्ञान’ नेता नेपालका केन्द्रिय सदस्यहरूमा बढी देखिन्छ ।
यसरी माधव नेपालको पार्टी ‘गोठबाट हराएर जंगलमा भौँतारिएको बाच्छो’ जस्तो उत्रन नसक्ने खालको ढाँडमा पसेको छ । २०७९ सालको चुनावको बेला काङ्ग्रेस-माओवादीलाई झुक्याएर एमालेजस्तै ठूलो शक्ति भनिदियो, जुन ‘शीतको आयु घाम नलाग्दासम्म’ हो भनेजस्तै भयो । प्रश्नचाहिँ माधवको पार्टी नै चौरासीको चुनावसम्म टिक्ने कि नटिक्ने भन्ने भइसक्दा फेरि त्यहाँ ‘डेटएक्सपायर्ड’हरू गौतम र रावलको प्रवेश अर्थहीन कुरा हो । राजनीतिक भविष्य र पार्टीको भूमिका देख्नेहरू एमालेमा आइसके, आउँदैछन् । कार्यकर्तामा एमालेमा सानो पदमा बस्दा पनि ठूलो ‘सोसल/पोलिटिकल स्टाटस’ हुन्छ भन्ने मनोविज्ञान बढी छ । यसरी माधवको दल डुङ्गा डुब्नलागे जस्तो अवस्थामा पुगेको हो ।
नेता नेपाल, गौतम, रावल, खनाल सबै ‘डेटएक्सपायर्ड’ हुन् । ‘एमाले’ भन्दा नयाँ र विशिष्ट कुरा तिनले नेपाली राजनीतिमा के दिन सक्छन् ? केही पनि छैन ! अनि एमालेको ‘स्कुलिङ’ र ‘मुभमेन्ट’बाट आएकाहरूले तिनलाई फेरि पत्याइदिनुपर्ने ?
२०३९ देखि २०४२ सालसम्म तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका महासचिव रहिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०६४ सालमा एमालेको अध्यक्ष रहे । दार्शनिक चिन्तनमा रुचि भएका बौद्धिक, अध्ययनशील र तुलनात्मक दृष्टिमा स्वच्छ छवि भएका खनाल इलामको निर्वाचनबाट बढी नै ओझेल परेका हुन् । खनाल व्यक्तिवादी, आफू र आफ्नो परिवार वा नातामात्र हेर्ने, संकुचित र कार्यकर्ता नचिन्ने, नेता-कार्यकताहरूको कुनै पनि समस्या हल गर्न नसक्ने पात्र हुन् भन्ने आरोप माधवका मानिसहरूले खुलेआम लगाउने गरेका छन् । यी र यस्ता राजनीतिक परिदृष्ट भएको अवस्थामा नेता नेपालकोमा मिसिएका गौतम र मिसिनेक्रममा ‘खुट्टा उचालेका’ डा. रावलहरूले एमालेअध्यक्ष ओलीको राजनीतिक मार्ग अवरोध गर्नसक्ने कुनै पनि बस्तुगत अवस्था देखिन्न ।
संवैधानिक र कानुनी भूमिकाबाट मात्र होइन राजनीतिक, सामाजिक, सार्वजनिक र नैतिक धरातल समेत ध्वस्त भइसकेका ‘जिरोहरू’को कूल जोड जिरोभन्दामाथि उक्लने अवस्था हुँदैन । चौरासीमा आफू र आफ्नै भविष्य नभएकाहरूले एमालेलाई कुनै क्षति गर्न स्थिति छैन । ओलीको विरोध मात्र गरेर अब कसैलाई किन नेपाली जनताले विश्वास गर्नुपर्ने ? कुनै तर्क र आधार देखिन्न ।
‘अब एमालेबाहेक कुनै नयाँ कम्युनिस्ट पार्टी चल्दैन’ भन्ने सत्य स्विकार गरेका डा. रावलको राजनीतिमा कुनै ओज र ओजन रहेन । अब नेता नेपाल, गौतम, रावल, खनाल सबै ‘डेटएक्सपायर्ड’ हुन् । ‘एमाले’ भन्दा नयाँ र विशिष्ट कुरा तिनले नेपाली राजनीतिमा के दिन सक्छन् ? केही पनि छैन ! अनि एमालेको ‘स्कुलिङ’ र ‘मुभमेन्ट’बाट आएकाहरूले तिनलाई फेरि पत्याइदिनुपर्ने ?
प्रतिक्रिया