सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा

सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा


विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी ६ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएको छ । प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था झन् बिग्रिएको र सन् २०२४ नोभेम्बर ३० सम्ममा आठ लाख ९२ हजार मानिस दक्षिण सुडानबाट भाग्न बाध्य भएको जनाएको छ ।

डब्ल्यूएफपीले चेतावनी दिएअनुसार परिस्थिति अझै खराब हुन सक्छ, सन् २०२५ मा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्न सक्छन् ।

करिब ७७ लाख मानिसमध्ये २५ लाखले खाद्यान्न असुरक्षाको आपतकालीन स्तरको सामना गर्न सक्ने प्रतिवेदनमा जनाइएको छ । डब्लुएफपीले २१ लाख बालबालिका तथा ११ लाख गर्भवती महिला तीव्र कुपोषणबाट पीडित हुने सम्भावना रहेको पनि उल्लेख गरेको छ ।

डिसेम्बर २०२४ मा डब्लुएफपीले दाताहरूलाई खाद्य आपूर्तिहरू पूर्वस्थापना गर्न प्रारम्भिक रकम उपलब्ध गराउन आह्वान गरेको थियो । जनवरी सन् २०२४ देखि, डब्लुएफपीले ४२ लाख मानिसलाई सहयोग गरेको छ । सन् २०२४ डिसेम्बर ११ मा डब्लुएफपीले खाद्य असुरक्षा, द्वन्द्वबाट प्रभावित सीमान्तकृत समुदायहरूलाई सहयोग गर्न दक्षिण सुडान लचिलोपन रणनीति सुरु गरेको हो ।