सामाजिक सद्भावसहितको एकात्मक प्रजातान्त्रिक नेपाललाई धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक मुलुकमा रूपान्तरण गर्न प्रचण्डहरूलाई हदैसम्म प्रयोग गरिएपछि माओवादीको औचित्य सकिएको विश्वास गरिन्थ्यो । जनाधार रुग्ण र छवि दुषित हुँदै गएकोले माओवादीको राजनीतिक निरन्तरतामा पूर्णबिराम लाग्ने आम अनुमान भइरहेको यो समयमा अचानक प्रचण्डको फुर्ति ह्वात्तै बढेको छ ।
✍ देवप्रकाश त्रिपाठी
देशभित्र जतिसुकै अलोकप्रिय र बदनाम भएपनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको दृष्टिमा माओवादी अध्यक्ष प्रचण्ड अझै उपयोगी ठहर भएका सङ्केतहरू देखिएका छन् । सुदृढ राज्यशक्ति भएको एकताबद्ध मुलुकको रूपमा नेपाल रहँदासम्म यसलाई आफूअनुकुल प्रयोग, उपयोग र दुरुपयोग गर्न नसकिने देखिएपछि दशकौँ लामो प्रयासद्वारा देशको जग ‘हल्लाउने/भत्काउने’ कार्य सम्पन्न गरिएको छ । कथित क्रान्ति र अग्रगमनका नाममा माओवादीलाई अघिलगाएर नेपालको मौलिक धर्म-संस्कृति, इतिहास, एकता र सामाजिक सद्भाव बिथोलिसकेपछि प्रचण्डहरूको औचित्य समाप्त भएको ठानिएको थियो । तर, राज्यको जगाधार भताभुङ्ग तुल्याएर देशलाई पचासौँ वर्ष पछाडि धकेलिसकेपछि पनि आफ्नो उपादेयता कायम राख्न प्रचण्ड सफल हुनुभएको छ ।
सामाजिक सद्भावसहितको एकात्मक प्रजातान्त्रिक नेपाललाई धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक मुलुकमा रूपान्तरण गर्न प्रचण्डहरूलाई हदैसम्म प्रयोग गरिएपछि तिनका दृष्टिमा माओवादीको औचित्य सकिएको विश्वास गरिन्थ्यो । जनाधार रुग्ण र छवि दुषित हुँदै गएकोले माओवादीको राजनीतिक निरन्तरतामा पूर्णबिराम लाग्ने आम अनुमान भइरहेको यो समयमा अचानक प्रचण्डको फुर्ति ह्वात्तै बढेको छ । नेपाली जनताले ‘प्रचण्ड सकिएको’ टिप्पणी गरिरहेका भएपनि प्रचण्ड भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने संवैधानिक ब्यवस्था भएमा आफू भारी बहुमतले विजयी बन्ने विश्वासमा देखिनुहुन्छ । पछिल्लो समय विकशित राजनीतिक घटनाक्रम र भूराजनीतिक अवस्थाले प्रचण्डको विश्वास यसरी बढाएको हो ।
केपी शर्मा ओली र शेरबहादुर देउवाबीचको सहमतिबाट बनेको महागठबन्धनको वर्तमान सरकारप्रति छिमेकी मित्रराष्ट्र भारत सुरुदेखि नै सचेत र सशङ्कित रहेको बुझिन्थ्यो । आफ्नो विश्वासविपरीत गठबन्धन सरकारले अर्को छिमेकी मित्रराष्ट्र चीनसँग बीआरआई सम्झौता गरेपछि भारत थप सशङ्कित भएको स्वतः बुझ्न सकिन्छ । यो स्थितिमा भारतले नेपालमा आफ्नो अनुकुलता खोजेको छ भने त्यो अस्वाभाविक नहोला । संसदभित्रको सबैभन्दा विश्वासयोग्य विकल्पका रूपमा प्रचण्ड धेरै पहिलेदेखि नै रहिआउनुभएकोले भारतीय दृष्टिमा फेरि एकपटक सर्वाधिक उपयुक्त पात्र ठहर हुनुभएको छ । सूर्यबहादुर थापाको मरणपछि उनको स्थान लिनसक्ने नेता प्रचण्ड बन्नुभएको छ भन्दा अतिशयोक्ति नहुने स्थिति छ ।
केपी र देउवासँग जो-जसको दूरी बढ्दै जान्छ, तिनको असली सहयोगीका रूपमा प्रचण्डले आफ्नो उपयोगिता बढाउने मौका पाउँदै आउनुभएको छ । प्रचण्डको आत्मविश्वास बढ्नुको एउटा कारण भारत बनिरहेको बेला अमेरिकी उपमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउँदा उनले जसरी प्रशंसा गरे त्यसले प्रचण्डको आत्मविश्वासले सगरमाथा टेकाएको छ । अमेरिका र भारत दुवै आफ्नो पक्षमा भएको, सत्तागठबन्धनको पक्षमा शक्तिराष्ट्रहरू नरहेको ठम्याइ प्रचण्डको छ र यसले उहाँलाई निकै उत्साहित तुल्याएको बुझिन्छ । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग सामान्य भेट समेत नपाएपछि डोनाल्ड लु प्रचण्डको प्रशंसा गर्दै स्वदेश फर्किएका थिए ।
सहकारी ठगीकाण्डका नाइकेले नेतृत्व गरेको उछृङ्खल जत्था, आफूलाई राजाबादी दाबी गर्ने समूह, अनेक राष्ट्रवादी समूहहरू, सस्तो गाडी चढ्न पाउने प्रलोभन दिएर नेपाललाई अरू कुनै मुलुकको जिम्मा लगाउनुपर्छ भन्ने अराजक जत्थाहरू तथा पूर्व सूरक्षाकर्मीहरूलाई समेत सडकमा उतार्ने तयारी प्रचण्डले गरिरहनुभएको छ ।
आकाशको छिमेकी मित्रराष्ट्र अमेरिका र दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले नेपालमा आ-आफ्नै प्रकारले अनुकुलता खोज्ने कुरामा शङ्का गरिरहनु परेन ! यसक्रममा कुन-कुन पात्र कसरी कताबाट प्रयोग हुनेहुन् सो समयाक्रममा स्पष्ट हुने नै छ । संसदभित्र अनुकुलता पैदा गर्न प्रचण्डको सामर्थ्यले नभ्याउने भएकोले यसमा अन्तर्राष्ट्रिय शक्तिहरू नै लागिपर्ने निश्चितप्रायः छ । संसदबाहिर अर्थात् सडक सङ्घर्ष सञ्चालन गर्ने जिम्मेवारी भने प्रचण्डलाई मिलेको छ । आगामी दुई महिनाभित्रै सङ्घर्षका माध्यमबाट अस्तब्यस्तता पैदा गरि सत्तापक्षमाथि चर्को दबाब दिने र परिस्थितिलाई कम्तिमा सरकार परिवर्तनसम्म पुऱ्याउने जिम्मेवारी प्रचण्डले प्राप्त गर्नुभएको छ !
संसदको सबैभन्दा ठूला दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले पछिल्लो समयमा आफै निर्णय लिन अग्रसर हुन थालेपछि बाह्य शक्तिको दृष्टिमा प्रचण्डको महत्व थप बढेको हो र, विभिन्न शक्तिकेन्द्रहरूबाट सम्भवतः अन्तिमपटक ‘प्रचण्ड पुनः प्रयोग’को समय आएको छ । शक्ति सञ्चय गर्ने, सत्ताविरूद्धका सबै समूह, शक्ति र ब्यक्तिलाई एकीकृत गरि सङ्घर्षको मैदानमा उतार्ने, परिवर्तनको लागि परिस्थिति अनुकुल बनाउने निर्देशित कार्यमा प्रचण्ड जुटि पनि सक्नुभएको छ । सहकारी ठगीकाण्डका नाइकेले नेतृत्व गरेको उछृङ्खल जत्था, आफूलाई राजावादी दाबी गर्ने समूह, अनेक राष्ट्रवादी समूहहरू, सस्तो गाडी चढ्न पाउने प्रलोभन दिएर नेपाललाई अरू कुनै मुलुकको जिम्मा लगाउनुपर्छ भन्ने अराजक जत्थाहरू तथा पूर्व सूरक्षाकर्मीहरूलाई समेत सडकमा उतार्ने तयारी प्रचण्डले गरिरहनुभएको छ ।
संसदबाट एमसीसी अनुमोदन गराउन, बीआरआईलाई पन्छाउन र इसाइकरणलाई संरक्षकत्व दिन प्रचण्डले पुऱ्याउनुभएको ‘योगदान’बाट पश्चिमी जगत् निकै प्रशन्न रहेको पाइन्छ भने दक्षिणसँग उहाँले बेजोडको अन्तरसम्बन्ध बनाउनुभएको रोचक अवस्था छ । यसअघि धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयता, समाबेसिता, समानुपातिकता र जातिवादी अवधारणा स्थापित गराउन प्रचण्ड मुख्य निमित्तनायक बनाइनुभएको थियो । अब कुन अन्तर्राष्ट्रिय अभीष्ट पूरा गर्नका निम्ति प्रचण्ड उपयोग हुँदैहुनुहुन्छ भन्ने स्पष्ट हुन केही काल प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
शेरबहादुर देउवा र केपी ओलीलाई विस्थापित गर्नका लागि मात्रै प्रचण्ड उचालिनुभएको ठानिएको छैन । तर अराजकता र अन्यौलको वातावरण सिर्जना गर्न अति उच्चतम क्षमता भएका प्रचण्डलाई कहाँसम्म बोकिने हो र कुन अभीष्ट पूरा भएपछि छोडिने हो भन्ने स्पष्ट हुन यो लेख प्रकाशित भएको मितिले अझै कम्तिमा तीन महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ । जय मातृभूमि !
प्रतिक्रिया