मानिसको जीवनमा आफ्नोपन आवश्यक छ, सम्बन्धहरू पनि चाहिन्छ । ‘मलाई कसैले माया गर्छ’ भन्ने भ्रम भइरहनु पनि स्वास्थ्यका लागि राम्रो हो । किनभने, मानिस जतिसुकै ब्यस्त भएपनि, जतिसुकै ठुलो पदमा पुगेपनि या ध्वस्त भएपनि जीवनमा भएका कतिपय घटना र तिनका यादबाट टढा रहन सक्दैन ।
✍ बबिता बस्नेत
मानिसको जीवनमा सबैभन्दा ठुलो डर मृत्यु हो । मृत्युको त्रासबाट मुक्त मानिसको सङ्ख्या यो संसारमा कमै होला । मृत्युलाई छोडेर हेर्ने हो भने प्रायः एक्लोपनको त्रासबाट मानिसहरू गुज्रिरहेका हुन्छन् । कतिले ब्यक्त गर्छन्, कतिले गर्दैनन् अलग कुरा हो, तर जीवनको कुनै मोडमा म एक्लै हुने हुँ कि भन्ने एक प्रकारको भय मानिसमा रहेको हुन्छ । त्यसपछिको लहरमा असफलता, अभावलगायतका त्रासहरूले मानिसलाई जिन्दगीभर कुनै न कुनै रूपले घेरिरहेको हुन्छ ।
विगतमा समाजमा के चलिरहेको छ भनेर बुझ्न गाउँ घुम्नु पर्थ्यो, कुरा गरेर, समय बिताएर मानिसका भावना बुझ्नु पर्थ्यो । अहिले समाजमा के चलिरहेको छ, मानिसको मनमा के कुराले बढी ठाउँ लिइरहेको छ भनेर बुझ्न सामाजिक सञ्जाल हेर्दा हुन्छ । सामाजिक सञ्जालमा अहिले जे-जस्ता कुराहरू ब्यक्त भइरहेका देखिन्छन् ती हेर्दा घटना फरक होलान् तर अधिकांश मानिसहरू एक्लोपनको त्रासबाट गुज्रिरहेको देखिन्छ । आफूले नजिक ठानेको मान्छेबाट पाएको धोखा हिजोआज टिकटक, रीलहरूमा भेटिने जल्दाबल्दा विषय हुन् । एक्लोपनको डर नहुँदो हो त मानिसलाई कसैको साथ हुनु र नहुनुले त्यति ठुलो असर या प्रभाव पार्ने थिएन ।
रिस, डर र इर्ष्याले मान्छेलाई मान्छे भएर बाँच्न दिँदैन । यो लहरमा मोह पनि जोड्न मिल्छ तर मोह, एट्याचमेन्ट जस्ता कुरा अलि फरक हुन् । मानिसहरूलाई अहिले खानलाउन भन्दा बढी सम्बन्धमा समस्या देखिएको छ । पतिको पत्नीसँग समस्या, पत्नीको पतिसँग समस्या, प्रेमी-प्रेमिकाबीचका सम्बन्धहरू त्यस्तै छन् । विगतमा पतिको प्रेमिका या पत्नीको प्रेमी भएको सुनिन्थ्यो अहिले त प्रेमीको पनि प्रेमिका र प्रमिकाको पनि प्रेमी हुने गर्छ । प्रेमिकाको प्रेमीले हत्या गरेको या प्रेमीको प्रेमिकाले धम्क्याएका अनेक घटना बाहिर आइरहेका छन् । मानिसमा आर्थिक, राजनीतिक मात्र नभइ भावनात्मक विचलन पनि त्यत्तिकै बढिरहेको छ । सम्बन्धमा कुनै समस्या आए त्यसको अन्तिम समाधानका लागि अभ्यास गर्न सकिने या अभ्यास गर्न मिल्ने कानूनी प्रक्रियामा जानुभन्दा फेसबुक या टिकटक लाइभमा बसेर रोइकराइ गर्नेहरूको संख्या बढ्दैछ । मानिस जन्मिदा एक्लै जन्मिन्छ, मर्दा पनि एक्लै मर्छ । जन्म र मृत्युको बीचमा जे-जे हुन्छ त्यसमा हामी धेरै मानिसहरूलाई सहभागी बनाइरहेका हुन्छौँ ।
‘भविष्यमा जेपनि हुनसक्छ, अन्ततः म एक्लै हुनसक्छु, त्यस्तो बेलामा मैले के गर्ने ?’ भन्ने योजनाको खाका मानिसले आफ्नो मन-मष्तिष्कमा कोरिरहनु पर्छ । एक्लोपनको त्रासबाट मुक्तिको राम्रो उपाय ‘म कुनै पनि बेला एक्लै हुनसक्छु’ भन्ने कुराको आत्मसात गर्नसक्नु नै हो ।
आफ्नो जीवनमा कोही आएपनि, नआएपनि, भएपनि, नभएपनि अरुको प्रभाव नपर्ने गरी आफूलाई बनाउन सक्यो भने जीवनमा यस्ता रुवावासी गर्नै पर्दैन । कसैको अगाडि रोएर, कराएर हुनेपनि केही होइन । मानिसले आफ्नो भावनाको नियन्त्रण अरुको मनमा छोडुञ्जेल जीवन बाँच्न सहज हुँदैन । त्यसैले आफूले आफैलाई संहाल्नका लागि आफैभित्र काम गर्नु आवश्यक छ, आफू र आफ्नो मनलाई दह्रो बनाउनु जरुरी छ । सम्बन्धमा समस्या भएकाले मात्र नभइ म कुनैपनि समय एक्लै हुनसक्छु भन्ने कुराको ख्याल सबैले मनमा राख्नैपर्छ । जतिसुकै राम्रो सम्बन्ध भएका, मिल्ने र आफूलाई राम्रो गर्ने मानिस आफ्नो साथमा भएपनि मृत्युमा अघिपछि हुन्छ नै । भुइँचालो आएर एकैछिनमा परिवारका सबै सदस्यको देहान्त भएर एक्लो मानिस बाँचेको हामीले देखेका, भेटेका छौँ । कुनैपनि बेला कुनैपनि दुर्घटनाले एक्लै बनाउन सक्छ । ‘भविष्यमा जेपनि हुनसक्छ, अन्ततः म एक्लै हुनसक्छु, त्यस्तो बेलामा मैले के गर्ने ?’ भन्ने योजनाको खाका मानिसले आफ्नो मन-मष्तिष्कमा कोरिरहनु पर्छ । एक्लोपनको त्रासबाट मुक्तिको राम्रो उपाय ‘म कुनै पनि बेला एक्लै हुनसक्छु’ भन्ने कुराको आत्मसात गर्नसक्नु नै हो ।
एक्लोपनको त्रासकै कारण कति मानिसले विषाक्त बन्दैछ भन्ने थाहा पाउँदापाउँदै पनि सम्बन्ध तोड्न सकिरहेका हुँदैनन् । अङ्ग्रेजीमा ‘टक्सिक’ भनिने त्यस्ता सम्बन्धहरू यत्रतत्र छन्, त्यस्ता सम्बन्धले कतिलाई मृत्युसम्म पनि पुऱ्याएका छन् । कतिचाहिँ एक्लोपन मेट्न एकपछि अर्को सम्बन्धमा गएको देखिन्छ । यसरी एक्लोपनलाई मेट्न अर्को, अनि फेरि अर्को सहारा खोज्दै हिँड्नु जीवनमा विपत्ति निम्त्याउनु हो ।
आफ्नो खुशी अरुको हातमा छोड्दा र साथ खोज्दासम्म हामीलाई एक्लोपनको त्रासले गाँजिरहन्छ । भनिन्छ, एकपटक भगवान् गौतम बुद्धलाई कसैले सोधेको थियो– ‘मानिसलाई अरुको साथ नभइनहुने कुरा हो कि उ एक्लै पनि अघि बढ्न सक्छ ?’ बुद्धले भन्नुभयो– ‘साथमा कस्तो मान्छे छ, त्यसमा भरपर्छ । गलत मान्छेका साथमा यात्रा गर्नुभन्दा एक्लै हिँड्नु राम्रो हो ।’ एक्लोपनको डरले गलत मान्छे पऱ्यो भन्ने जानकारी हुँदाहुँदै पनि साथ छोड्न नसक्ने मानिसहरूको सङ्ख्या यो संसारमा ठुलो छ । यो एउटा समाज या देशको कुरामात्र होइन समग्र मानव जातिको कुरा हो । मानिस नै यस्तो प्राणी हो जसलाई एउटै परिभाषामा समेट्न सकिँदैन । नियत र ब्यवहार फरक भएका मानिसहरू यो संसारमा धेरै छन् ।
झट्ट सुन्दा स्वार्थी लाग्न सक्छ तर मानिसलाई अरुको भन्दा आफ्नो साथ बढी महत्वपूर्ण हुन्छ । हामी आफूले आफैलाई साथ दिएनौँ भने अरुले साथ देला भनेर सोच्नु या अपेक्षा गर्नु ब्यर्थ छ । आफूलाई साथ दिनु भनेको आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा ध्यान दिनु हो ।
झट्ट सुन्दा स्वार्थी लाग्न सक्छ तर मानिसलाई अरुको भन्दा आफ्नो साथ बढी महत्वपूर्ण हुन्छ । हामी आफूले आफैलाई साथ दिएनौँ भने अरुले साथ देला भनेर सोच्नु या अपेक्षा गर्नु ब्यर्थ छ । आफूलाई साथ दिनु भनेको आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा ध्यान दिनु हो । आफूले बोल्ने शब्दहरूको चयनमा ख्याल गर्नु हो । हाम्रो सोचले कर्मलाई निर्धारण र निर्देशन गर्छ । सोचलाई राम्रो बनाउनु आफूलाई सशक्त बनाउनु हो । मानिसको जीवनमा आफूभन्दा शक्तिशाली यो संसारमा अरु कोही हुँदैन । मनैबाट आफू सशक्त हुने हो भने धेरै कुरा गौण लाग्दै जान्छन् ।
हामीले सबैभन्दा बढी नियन्त्रणमा राख्नुपर्ने भनेको हाम्रो मन र मष्तिष्क हो । हाम्रा भावनाहरूले मन र मष्तिष्कमा यात्रा गरिरहन्छन । तिनले कहिले दुख दिन्छन्, कहिले आनन्दको अनुभूति गराउँछ । आनन्द र दुख यी दुवै अनुभूति हुन, विषयहरूलाई हेर्ने हाम्रो दृष्टिकोणमा यी कुराहरू भर पर्छन् । मानिस दुःखी र सुखी हुने प्रायः आफ्नै दृष्टिकोण र जीवनमा आफूले कोरेको ‘इथिक्स’का कारणले हो । ‘इमान्दारी’ मानिसको जीवनमा खुशी बनाइरहने एउटा अचुक अस्त्र हो । जीवनमा जे–जे कुराको अभाव भएपनि इमान्दारीले शान्तिचाहिँ दिन्छ । शान्तिभन्दा ठुलो अरु के छ र ? त्यसैले एक्लोपनको त्रासमा इमान्दारी गुमाउनबाट हामी सधैं सजग रहनुपर्छ ।
हामीलाई हुर्काउँदा परिवारका सदस्य र आफन्तहरूसँगको सामिप्यताको अर्थ बुझाउँदै हुर्काइयो । स्कुलमा पढाउँदा मानिस सामाजिक प्राणी हो भन्ने पढाइयो । कुरा सही नै पनि हो, तर तिमी एक्लै बाँच्ने दिन पनि आउनसक्छ है भनेर भनिएन, त्योचाहिँ गलत हो । हामीमध्ये कसैलाई पनि एक्लै जीवन बाँच्न सिकाइएको छैन । सानैदेखि अरुलाई कस्तो ब्यवहार गर्ने भनेर सिकाइयो तर आफैसंग कस्तो ब्यवहार गर्ने भन्ने सिकाइएको छैन । परिणामतः हामी आफुले आफैले जोखिमपूर्ण ब्यवहार गरि रहेका हुन्छौँ । मानिसको जीवनमा अरुका कारणले भन्दा आफ्नै कारणले बढी दुःख, कष्ट निम्तिइरहेको हुन्छ । मानिसलाई हेर्ने दृष्टिकोण, गर्ने विश्वास, रोजाइ, खानेकुरादेखि अरुलाई गर्ने ब्यवहार र जीवनशैलीसम्म यसमा पर्छन् ।
एकपटक भगवान् गौतम बुद्धलाई कसैले सोधेछ- ‘मानिसलाई अरुको साथ नभइनहुने कुरा हो कि उ एक्लै पनि अघि बढ्न सक्छ ?’ बुद्धले भन्नुभएछ- ‘साथमा कस्तो मान्छे छ, त्यसमा भरपर्छ । गलत मान्छेका साथमा यात्रा गर्नुभन्दा एक्लै हिँड्नु राम्रो हो ।’
त्यसो भए के जीवनमा कसैको साथ जरुरी छैन त ? एक्लाएक्लै भयो भने यो संसार कस्तो होला ? प्रश्न उठ्नसक्छ । एक्लै पनि बाँच्न सक्छु भनेर आफूले आफूलाई तयार गर्नुको अर्थ मानिसले घरमा या जहाँ बसेपनि एक्लै बस्नुपर्छ भन्ने होइन । मानिसको जीवनमा आफ्नोपन आवश्यक छ, सम्बन्धहरू पनि चाहिन्छ । मलाई कसैले माया गर्छ भन्ने भ्रम भइरहनु पनि स्वास्थका लागि राम्रो हो । किनभने मानिस जतिसुकै ब्यस्त भएपनि, जतिसुकै ठुलो पदमा पुगेपनि या ध्वस्त भएपनि जीवनमा भएका कतिपय घटना र तिनका यादबाट टढा रहन सक्दैन । तर ती सब भएनन् भने पनि फरक नपर्ने गरी आफूलाई बनाउनु आवश्यक भने हुन्छ ।
एक्लै बस्ने अभ्यास हामीमध्ये ज्यादै कममा मात्रै छ । कसैले म एक्लै बस्छु भन्यो भने त्यसलाई हाम्रो समाजमा धेरै ठुलो कुरा ठान्दै प्रश्न गरिन्छ, एक्लै ? कसरी सकेको होला… उ सहानुभूतिको पात्र बन्छ । एक्लै हुनु र एक्लोपन ‘फील’ गर्नु फरक कुरा हो । एक्लोपन महसूस गर्नबाट भने सकेसम्म आफूलाई टाढा राख्नुपर्छ । भगवान गौतम बुद्धले २५ सय वर्षअगाडि आफैमा धेरै ठुलो अनुसन्धान गरेर ‘मानिस आफैभित्र हराएर एक्लै बस्न सक्यो भने दुःखी र एक्लो नहुने’ बताउनुभएको थियो । हामी त्यसलाई आफ्नो जीवनमा अभ्यास गर्न सक्छौँ ।
प्रतिक्रिया