किन चाहियो मधेसी दल ?—राजेश अहिराज

किन चाहियो मधेसी दल ?—राजेश अहिराज


पहिचान, सम्मान, अधिकार र भूमिकाको खोजीमा निस्केका आममधेसी समुदाय पुन: आफ्नै नेतृत्वबाट ठगिएका छन् । पासपोर्ट बेच्ने, अनैतिक कार्य गर्ने, भ्रष्टाचार गर्ने, जातिवाद गर्ने र ठूला दलका निमित्त मधेसमा जनाधार तयार गर्ने नेताहरूको माझमा मधेसी एकता र मधेसवाद छिन्न–भिन्न भएको छ । प्रश्नहरू सार्वजनिक र नेताहरू भूमिगत हुँदैछन् । मधेसी दल र दलपतिहरूको पूर्वकार्यहरूमाथि बहस प्रारम्भ भइसकेको छ । आममधेसीले सोध्न थालेका छन् कि सद्भावना पार्टीले सत्ताकेन्द्रित राजनीति गर्‍यो भन्दै चोइटिएको सङ्घीय सद्भावना आफैं के गर्दै छ ? ‘सत्ता होइन प्रभुसत्ता चाहियो’ भनी मधेसका भित्ताहरू फोहोर गरेका तमलोपाका दुई भाइ सत्तामा के गर्दै छन् ? मजफो नेपाल सत्तामुखी भयो, भ्रष्टाचार, जातिवाद वा यादववादको राजनीति गर्‍यो भनी आरोप लगाउँदै छुट्टिएका मजफो गणतान्त्रिकका नेतृत्व हिजोआज के गर्दै छन् ? सात भाइ सद्भावना, चार भाइ फोरम र दुई भाइ तमलोपा मिलेर कसका लागि राजनीति गर्दै छन् । मिलेर मत माग्ने र सत्ताका निमित्त फुटेर मधेसवादलाई बद्नाम गर्दै आएका मधेसी नेतृत्वले अब मधेसलाई आ–आफ्नो हिसाब प्रस्ट्याउन जरुरी छ । संसदीय विकास कोषको प्रयोग वा दुरुपयोगबारे लेखा परीक्षण हुन जरुरी छ ? चप्पल लगाएर मधेसवादी कित्तामा प्रवेश गरेकाहरूले कसरी र कहाँबाट अकुत सम्पत्ति आर्जन गरे ? सँगै हिँडेका आन्दोलनका अन्य घटकलाई तिरस्कृत र बहिस्कृत गर्दै कसरी सिंहदरबारवासी भए ? न्यायपालिका, कार्यपालिका र पत्रकारिता क्षेत्रका सहकर्मीलाई संस्थागत दोहन गर्दै विगत चार वर्ष सिंहदरबार र संविधानसभाबीच मात्र रूमल्लिएकाहरू एकाएक मधेसका समस्यातर्फ फेरि किन आकर्षित हुँदै छन् ? लगायतका थुप्रै प्रश्नको साझा र एकमात्र जवाफ छ, ‘अब नेताहरूको सत्ताको नवीकरण गर्नुपर्ने भएको छ ।’ उनीहरूलाई मधेसमा चुनावका निमित्त जानुपर्नेछ वा सत्ताको नयाँ समीकरणमा प्रवेशआज्ञा पाउनुपर्नेछ । काङ्ग्रेस, एमाले र राजावादीले मधेसलाई समग्रमा विभेद गर्‍यो तर तिनका प्रतिनिधिहरूले मोर्चा बनाएर मधेसभित्र जातिवाद र भ्रष्टाचारको राजनीति गरेर मधेसवादलाई नै कलङ्कित तुल्यायो । ठूला दलबाट रुष्ट मधेसीलाई फेरि उनकै प्रतिनिधिहरूको जमातले धोका दियो । मधेसी नेताहरूले न्यायपालिका, कार्यपालिका र पत्रकारिताको क्षेत्रमा मधेसका निमित्त केही गर्न चाहेनन् । मधेसमा राजनीतिक अराजकता, सामुदायिक द्वेष, भ्रष्टाचार, जातिवाद र नातावादको राजनीति गरेर मधेसीहरूको सामूहिक शक्तिलाई टुक्रा–टुक्रामा विभाजित गर्न सफल भयो । मधेस आन्दोलनताका शहादत दिएका परिवार आज आफ्नै नेताबाट क्षुब्ध छन् । मधेसी नेता वा मन्त्रीहरूलाई सम्झिँदा घृणाबोध गर्दो होलान् । आन्दोलनमा सहकार्य गरी आफ्नो समय र शरीर कमजोर गरेकामध्ये अधिकांश रोजगारीका निमित्त खाडी मुलुक पसे । जोगिएकामध्ये केही घरमै फर्के र केही आज पनि सडकबाट अस्तित्वकै लडाइँ लड्दै छन् । हिजोसम्म पहाडी शासकसँग आफ्नो हकअधिकार खोज्नेहरू आज आफ्नै नेतृत्वबाट ठगिएका छन् । मधेस आन्दोलन र मधेसवादलाई सहयोग गर्नेहरू कुजातकै कारण आन्तरिक विभेदका सिकार भएका छन् । समग्रमा भन्नुपर्दा मधेसी नेतृत्वकै कारण मधेस थप पीडाबोध गरिरहेको छ । मधेसभित्र भ्रष्टाचार र जातिवादले संस्थागत रूप लिइसकेको छ । मधेसी नेतृत्वको बेइमानी, स्वार्थी चरित्र र खस भक्तिकै कारण आज मधेसी मोर्चा वा मधेसी दलको भविष्य समाप्त हुँदैछ । मधेसी दलपतिको छाडापनका कारण मधेसवाद बद्नाम भइरहेको छ भने मधेसी दलको औचित्य र भविष्यमाथि प्रश्न उठ्न थालेको छ । यदि मधेसीले मौखिक मधेसवाद, सत्ता–सम्झौताको कागजात, आश्वासनको राजनीति र भ्रष्टाचारीको नेतृत्व नै पाउने हो भने लाज पचाएर भन्नुपर्छ कि मधेसको अस्तित्व–रक्षाका निमित्त पनि यस्ता सरकारी मधेसी दल चाहिन्न ।
(मधेस दपर्ण फिचर सेवा)