लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, १५०० भन्दा बढी घरमा क्षति

लस एन्जलस डढेलो : पाँच जनाको मृत्यु, १५०० भन्दा बढी घरमा क्षति


अमेरिकाको लस एन्जलसवरपर फैलिएको डढेलोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

शहरमा डढेलो प्रवेश गरेपछि घरहरूमा भएको आगलागीका कारण कम्तीमा १५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

लस एन्जलस काउन्टीका अग्निनियन्त्रक एन्थोनी मारोनले आफु मातहतका कर्मचारीहरू विपत्तिको परिमाण र गतिसँग जुधिरहेको प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘हामीले सक्दो प्रयास गरिरहेका छौं तर हामीसँग लस एन्जेलसका सबै विभागहरूमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रकहरू छैनन् ।’

पासाडेनाका अग्निनियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण ५०० भन्दा बढी भवन नष्ट भएका छन् । उनले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशंसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ भएको उल्लेख गरे ।

अगस्टिनले पत्रकारहरूसँग भनेका छन्, ‘उनीहरूको वीरतापूर्ण कार्यबिना आज आगलागीका कारण मृत्यु हुनेको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुने थियो ।’

लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका श्रोत (हाइड्रेन्ट) सुकेपछि पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गरेका छन् ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत पानीको अभाव राज्यको वातावरणीय नीतिका कारण भएको दाबी गरेका छन् ।

ज्ञात रहोस्, लस एन्जलसको अधिकांश पानी कोलोराडो नदीबाट आउँछ, र आवासीय प्रयोग वा फायर फाइटिंगको अलावा यसलाई खेतीमा सिँचाईका लागि प्रयोग गरिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिने बताएका छन् । उनले यसै साता इटालीको लागि तय भएको आफ्नो भ्रमण पनि रद्द गरेका छन् ।