पृथ्वीनारायण शाह र घृणावादको तराजु !

पृथ्वीनारायण शाह र घृणावादको तराजु !


पृथ्वीनारायण शाह नेपालका राजा हुँदा विश्वभरी लोकतान्त्रिक गणतन्त्रको नाम थिएन । विश्वका केही देशमा बाहेक राजतन्त्र नै थिए । एउटा राजाका रूपमा पृथ्वीनारायणले त्यही गरे जुन विश्वभरीका राजाहरूले गर्दै थिए । बृटिशको राजतन्त्रले कम्पनी खडा गरेर तत्कालीन भारतीय जनतालाई रैतीसरह व्यबहार गरिरहेका बखतमा राजा पृथ्वीनारायण शाहले नेपाली जनतालाई समानुपातिक गणतन्त्रको ब्यवस्था दिएनन् भनेर आलोचना गर्नेहरू विश्वका सातौँ आश्चर्य हुन् ।

नेपालका केही घृणावादीहरूले राजा पृथ्वीनारायण शाहलाई गालीगलौज गरेको देख्दा निकै रमाइलो लाग्छ ! यदि यी घृणावादीहरूका पूर्खाहरूलाई समययात्रा गरेर (Time travel) गराएर पृथ्वीनारायण शाहको ठाउँमा गोर्खाको राजा बनाइदिने भने के गर्ने थिए होला ? सायद यिनका पूर्खाहरूले भाषाका आधारमा, जातका आधारमा, भूगोलका आधारमा, धर्मका आधारमा स्वतन्त्र १२३ वटा राज्य खडा गरेर आफूचाहिँ लोकतन्त्रको अध्ययन गर्न विश्वयात्रामा जान्थे !

त्यसबखतको सामाजिक र राजनैतिक परिवेशमा जुनसुकै जातजातिका राजा, सामन्त, जमिदारहरू तथा सिपाही भए पनि बुद्धलाई सम्झेर अहिंसाको उपासना गर्ने वा आक्रमणकारी राजाउपर प्रत्याक्रमण नगरेर आफ्नो राज्य स्वतः आक्रामकको हातमा दिने वा आफ्नो जातीय राज्यमा प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, सत्तामा समानअधिकार प्रत्यायोजन गर्थे ! इतिहासलाई गालीगलौज गर्नेहरू समाजलाई घृणातिर लैजान्छन्, इतिहासबाट शिक्षा लिनेहरू देशविकासका सिपाही हुन्छन् । आजको विश्वब्यवस्थाले राजा पृथ्वीनारायण शाहको समय र ब्यवस्था फर्केको कल्पनासम्म गर्न सक्दैन । तर आजको नेपालमा राजा पृथ्वीनारायण शाह समानको कुनै अर्को ऐतिहासिक व्यक्तित्व छैन, जसलाई नेपालको एकीकरण तथा सांस्कृतिक विविधताको रक्षक, सम्वर्द्धकका रूपमा सम्मान गर्न सकियोस् । उनी नेपालको एकताका प्रतीक हुन् र, रहिरहने छन् ।

केही राजनैतिक दलहरूको राजनैतिक एजेन्डामा पृथ्वीनारायण शाह र नेपालको मौलिक इतिहासका सम्बन्धमा घृणा नै घृणा भरिएको छ । विश्वभरीका समाजशास्त्रीहरूले स्वीकार गरको तत्थ्य हो कि देशहरूको इतिहास नै उनीहरूको पहिचान र राष्ट्र हो तर नेपालका केही घृणावादी राजनैतिक शक्तिहरूको मूल उद्देश्य नै घृणावादलाई (जातीय, भाषिक र भौगोलिक घृणा फैलाएर) राजनैतिक शक्ति प्राप्त गर्ने सपना राख्छन् । असलमा, यो गुण्डागर्दीको राजनीति हो । शान्तिप्रिय मान्छेहरू ‘मरोस्, के खान झगडामा जाने’ भन्ने मानसिकताका कारण द्वन्द्वमा जाँदैनन् र सत्ता प्राप्त हुन्छ भने राजनीतिमा काम गर्छन् । पृथ्वीनारायण शाहको योगदानलाई अस्वीकार गर्नेहरू समन्वयको शक्ति होइन विखण्डनबाट शक्ति आर्जन गर्न चाहन्छन् भन्ने प्रष्ट छ ।

राजा पृथ्वीनारायण शाह देउता होइनन् । उनी दानव पनि होइनन् । उनी मान्छे हुन् तर ३०२ वर्षअगाडि जन्मेर, त्यसबखतको परिवेशमा रतेर, परिस्थितिलाई आफ्नो अनुकुल बनाएर, राज्यहरूलाई साम, दाम. दण्ड र भेदको प्रयोग गरेर राजा बन्न सफल भएका हुन् । यदि पृथ्वीनारायण शाह जत्तिकै विशिष्ट चिन्तन र दृष्टिकोण भएको भए उनकै मकवानपुरे ससुराली नेपालको एकीकरण गरेको जस पाउनेमध्ये पर्थे, कुनै घले राजाले यही विशिष्टता प्राप्त गरेको भए उनी नै बन्थे, यही कुरा राई, लिम्बु, गुरूङ वा अन्य जातजातिका सवालमा भन्न सकिन्छ । इतिहासको सत्यलाई स्वीकार नगरेर अड्कोमात्र थाप्ने तर भाषणमा चाहिँ समानताको कुरा गर्नु नै घृणावादीको लक्षण होइन भन्न मिल्दैन ।

पृथ्वीनारायण शाहले त्यसबखतका राजा-रजौटाहरूलाई हराएर आफ्नो राज्य विस्तार गरेकै हुन् । उनले आफ्ना विरोधीहरूको आवश्यकताअनुसार दण्ड वा हत्या गरेकै हुन् तर उनले क्षत्री वा बाहुन वा गोर्खाराज्य नबनाए ‘नेपाल राष्ट्र’कै अंगको रूपमा गोर्खालाई समाहित गरेका थिए । मलाई थाहा छैन, घृणावादीका पूर्खाहरूले पक्कै पनि नेपाललाई गोर्खाराष्ट्र भन्ने कि नेपाल !

आजको मितिमा पृथ्वीनारायण शाह ३०२ वर्षअघिका एउटा इतिहासका पात्र हुन् । उनको प्रसंशा गरे पनि र उनलाई गालीगलौज गरे पनि उनले कुनै प्रतिक्रिया दिँदैनन् । नेपालराष्ट्रको नामलाई गोर्खा राष्ट्र राख्ने क्षमता र अधिकार भए पनि गोर्खालाई नेपाल राष्ट्रको अंगको रूपमा स्वीकार गर्ने, काठमाडौंको नेवार सभ्यतालाई सम्मान गर्दै यसलाई जस्ताको तस्तै थामिदिने र देशको धार्मिक, संस्कृतिक तथा सामाजिक गौरवको रक्षाका लागि इसाईहरूलाई देश निकाला गर्ने राजा साँच्चिकै दूरदर्शी थिए ।

प्राचीन संस्कृत भाषाको एउटा श्लोक छ- ‘दुर्जनं प्रथमं बन्दे सज्जनं तदनन्तरम् । गुद्प्रक्षालनः पूर्वं हस्त प्रक्षालनं यथा ।।’ यसको अर्थ हो– जसरी दिसा गरेपछि प्रथमतः मलद्वार सफा गरिन्छ र त्यसपछि हातको सफाई गरिन्छ त्यसरी नै दूर्जनलाई पहिले नमस्कार गर्नुपर्छ र त्यसपछि सज्जनलाई नमस्कार गर्नुपर्छ । भावार्थ के हो भने सज्जन जस्तो अवस्थामा पनि सज्जन नै हुन्छन् । मानसम्मान दिनुपर्छ, अगाडिपछाडि दिँदा केही फरक पर्दैन, तर दुर्जनहरू सधैं घृणा फैलाउन, अर्काको कुरा काट्न र आफ्नै संस्कृति तथा इतिहास नष्ट गरेर अहङ्कार देखाउने स्वभावका हुन्छन्, त्यसैले ती तर्फ बढी सचेत हुनुपर्छ र, वास्ता नगरेर क्रियाकलापमा ध्यान दिनुपर्छ । देशमा घृणावादीहरूको पनि आवश्यकता छ, किनभने यिनका माध्यमबाट विदेशीहरूको चाहना र लक्ष्य राम्ररी थाहा पाउन मद्दत मिल्छ । यति भनेपछि विदेशीहरूले पृथ्वीनारायण शाहलाई किन घृणा गर्छन् भन्ने तत्थ्य लेखिरहन नपर्ला ।

राजा पृथ्वीनारायण शाहलाई गालीगलौज गर्नेहरूले पनि नकारात्मक रूपमा उहाँको प्रचारप्रसार नै गरिरहेकोले धन्यवाद दिनुपर्छ । घृणावादको तराजुमा आफ्नै गाउँका छिमेकी, आफ्नै देशको मौलिकता र आफ्नै देशको गौरव बाहेक विश्वको जुनसुकै कुरा अटाउँछ । राजा पृथ्वीनारायण शाह अटाएनन् भने अचम्म किन मान्नु र उनलाई देशको एकीकरणकर्ता भएको मान्न किन कर लाउने ?!