जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याकबक्सको रेकर्डिङ रोकिएको खुलासा

जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याकबक्सको रेकर्डिङ रोकिएको खुलासा


दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ ।

गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७-८०० विमान मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो ।

‘विश्लेषणले सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेट पहिलेको अवधिमा रेकर्ड नगरिएको देखाएको छ’- यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक अनुसन्धानले विमान अवतरणमा मद्दत गर्ने वा ‘ब्लाइन्ड ल्यान्डिङ’मा प्रयोग हुने रेडियो ट्रान्समिटर (लोकलाइजर) दुर्घटनाको गम्भीरता बढाउनको लागि दोषी ठहराएको छ । क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरलाई दक्षिण कोरियाली अधिकारीहरूले डाटा निष्कर्षको लागि अप्राप्य भनेका थिए भने यसलाई अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा विश्लेषणको लागि संयुक्त राज्य अमेरिका पठाएका थिए ।

उडानको अन्तिम क्षणहरूको जानकारी रेकर्ड गर्ने बक्सहरूमा तथ्याङ्क नष्ट भएको पाइएको र यो किन र कसरी भयो भन्ने विषय खोजी भइरहेको अधिकारीहरूले बताए ।

‘जारी दुर्घटना अनुसन्धानका क्रममा तथ्याङ्क हराउनुको कारण पत्ता लगाउने प्रयास जारी छ’- मन्त्रालयले भनेको छ। दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकर्ताहरूले ती बाकसहरू अनुसन्धानका लागि महत्वपूर्ण रहेको बताउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहने बताएका छन् ।

‘विभिन्न तथ्याङ्कको परीक्षण र विश्लेषण गरेर अनुसन्धान गरिनेछ । दुर्घटनाको कारण पत्ता लगाउन समिति सक्दो प्रयास गर्न प्रतिबद्ध छ’- मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा औंल्याएका छन् । चालकले पहिलो अवतरण प्रयासअघि नै चराको आक्रमण (चरासँग ठक्कर) खानसक्ने चेतावनी दिएका थिए, त्यसपछि दोस्रो अवतरण प्रयासमा ल्यान्डिङ गियरले काम गरेको थिएन ।

यसै हप्ता प्रमुख अनुसन्धानकर्ता ली सेउङ-योलले पत्रकारहरूसँग कुरा गर्दै घटनास्थलमा रहेको विमानको एउटा इन्जिनमा ‘प्वाँख हरू फेला परेको’ बताएका थिए ।

अधिकारीहरूले दुर्घटना भएको स्थानमा रहेको मुआन विमानस्थल, दक्षिणपश्चिमी शहरमा रहेको क्षेत्रीय उड्डयन कार्यालय र राजधानी सियोलस्थित जेजु एयरको कार्यालयमा छापा मारेका छन्। उनीहरुले जेजु एयरका प्रमुख कार्यकारीलाई पनि देश छोडी बाहिर जान रोक लगाएका छन् ।

विपक्षी दलले दुर्घटनाको छानबिनका लागि संयुक्त कार्यदल गठन गरेका थिए भने यातायातमन्त्री पार्क साङ-वूले यसै साता राजीनामा दिएका थिए ।

राजीनामाको घोषणा गर्दै उनले भनेका थिए, ‘उड्डयन सुरक्षाको जिम्मेवारीमा रहेको मन्त्रीको हैसियतले मैले यस त्रासदीप्रति ठूलो जिम्मेवारी महसुस गरेको छु र स्वतन्त्र अनुसन्धानका लागि मार्गप्रशस्त गरेको छु ।’