अमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ । आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्बिरहरूले यो विपत्ति कति ठूलो छ भन्ने स्पष्ट बुझ्न सकिन्छ । सयौँ घरहरू ध्वस्त भएका छन्, गाडीहरू जलेका छन् र एटिएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् भने हावाहुरीले रूखहरु ढलेका छन् ।
लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गरेका छन् र वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । यहाँको आकाश खरानीका सूक्ष्म कण र धुवाँको बादलले ढाकिएको छ।
आगलागीमा परी अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको पुष्टि गर्दै प्रशासनले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएको छ । लस एन्जलसका सयौँ भवनहरु ध्वस्त भएका छन् भने दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । आगो निभाउन हजारौं अग्निनियन्त्रकहरू अहिले पनि लागिपरेका छन् । यद्यपि धेरै ठाउँमा आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरूद्ध भएको छ । यो क्षेत्रमा कसैले बम खसालेको जस्तो आभास हुने दृष्य देखिन्छ ।
मौसम र जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि डढेलो लाग्ने क्रम जारी रहने विज्ञहरुले आशङ्का व्यक्त गरेका छन् ।
क्यानडा सरकार संयुक्त राज्य अमेरिकालाई सहयोग गर्न अगाडि आएको छ । क्यानडाले आगो निभाउन अग्निनियन्त्रकका अतिरिक्त विशेष उपकरणहरू पठाउँदैछ ।
आगलागी र डढेलोका कारण व्यापक क्षति पुगेकोले बिमाअन्तर्गत कभर गरिने कुल सम्पत्ति आठ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ भने अन्य ६० हजार भवन जोखिममा परेका छन् ।
लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । यीमध्ये अधिकांश मानिसहरूले आफूले बोक्न सक्ने सामान लिएर आफ्नो घर छोडेका थिए । यसबाहेक, एक लाख ६६ हजार बासिन्दालाई उनीहरूले चाँडै आफ्नो घर छोड्नु पर्ने हुन सक्छ भनी चेतावनी दिइएको छ ।
प्रतिक्रिया