मार्क्सवादको ‘स्क्रिन सर्ट’ र ‘स्किन कट’ कसरी गरियो ?

मार्क्सवादको ‘स्क्रिन सर्ट’ र ‘स्किन कट’ कसरी गरियो ?


मार्क्सवादी सिद्धान्तलाई ‘धर्मग्रन्थ र मन्त्र’ जस्तो जप्ने र व्यवहारमा सिर्जनात्मकतासहित लागु नगर्ने राजनीतिका ‘फ्रड’ र ‘ढोँगी’हरूले मार्क्सवादको छाला काडे, काड्दैछन् । मार्क्सवाद कुनै धर्मशास्त्र होइन, समाज विज्ञानको आधारभूत दर्शन हो । मुसलमान धर्मग्रन्थ कुरानको व्यवस्था र मन्त्रजस्तो मार्क्सवाद होइन । यो सिद्धान्तलाई जुन देश, पार्टी वा समूहले धर्मशास्त्र वा कुरानजस्तो बनाए ती सकिए ।

मार्क्सवादी क्रान्ति एउटा व्यापक र निरन्तरको राजनीतिक, सामाजिक तथा आर्थिक आन्दोलन हो । त्यसका निम्ति व्यक्तिभन्दा वर्गहरूको अवस्थिति र अवस्था जान्नुपर्छ भन्ने मार्क्सको मान्यता थियो । तथापि, सोभियत संघमा सन् १९१७ मा ससाजवादी सत्ता आएपछि मार्क्स र एङ्गेल्सको देवत्वकरण गर्दै मार्क्सवादी दर्शनको ‘स्क्रिनसर्ट’ गर्ने काम भयो । लेनिनको उत्तराधिकारी स्टालिनले ‘पिपुल्स इनिमी’ भन्दै लाखौँको हत्या गरे । उनका रचनालाई बाइवल र कुरानजस्तै भनियो । मार्क्सवाद रुसको राजधर्म बन्यो । त्यसले मार्क्सवाद र त्यो दर्शनको बुझाइमा पनि त्रास र संकुचन ल्याइदियो । सन् १८७१ मा फ्रान्समा आएको मजदुरको सत्ता वा पेरिस कम्युन ७२ दिनमा ढल्यो । मार्क्सवादको सिर्जनात्मक प्रयोग, व्यवस्थापन र नियन्त्रणको ज्ञान, कला, सीप र क्षमताको कमिले सत्ताहरू ढले । रुसमा सन् १९८९ मा समाजवाद ढल्यो । ‘स्क्रिनसर्ट‘ गरिएको कारण त्यस्तो भयो ।

मार्क्सवाद र त्यसको सिर्जनात्मक प्रयोग समय, आवश्यकता र औचित्यका आधारमा जनताको चाहनाअनुसार आफूलाई सुधार र परिवर्तन गर्ने दल, मुलुक वा समूहलाई जनताले रूचाए वा बचाए । नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको सिद्धान्त र विचार तत्कालिन एमाले नेता मदन कुमार भण्डारीले दिए । एमालेको आठौं महाधिवेशनमा त्यससम्बन्धी विचार पेश गरेपछि त्यसको सिर्जनात्मक प्रयोग गर्ने भनियो । जनताको बहुदलीय जनवाद (जबज)लाई राज्य सञ्चालनको सिद्धान्त बनाइयो ।

वास्तवमा मार्क्सवादी दर्शनलाई कुनै पार्टीको विचार वा सिद्धान्तको रूपमा बुझ्ने सोच त्याग्नुपर्छ । त्यो बुझाइ नै मार्क्सवादलाई नबुझ्ने र मार्क्सवादको छाला काड्ने सोच हो । मार्क्सले त्यो बेलाको सन्दर्भ, समय, परिस्थितिमा भनेका कुरा हुबहु आज लागु हुने होइन । उनको दार्शनिक बुझाइलाई बदल्नुपर्छ भन्ने पनि होइन । समय, आवश्यकता, औचित्य र देश अनुसार त्यसको सिर्जनात्मक प्रयोग गर्नुपर्दछ भन्ने हो ।

न्यूनतम र आवश्यक भौतिक सुविधाको प्रयोग गर्दा मार्क्सवादविरोधी भइने होइन । सफा कपडा नलगाउनु, भौतिक बस्तु र साधनको प्रयोग नगर्नु भन्ने मार्क्सको तर्क थिएन । त्यसको अर्थ आफूलाई मार्क्सवादी भन्नेहरूले पुँजीपतिले भन्दा महँगा भौतिक साधन, पजेरो, महल र सुविधा प्रयोग गर्ने बानी, सोच र कार्यले मार्क्सवादको ‘स्किन कट’ हुँदैछ ।

अर्थात्, मार्क्सवादी दर्शनको प्रयोग सिर्जनात्मक हुनुपर्दछ भन्ने हो । नागरिकको व्यापक हित र सुरक्षा हुने गरी सिद्धान्तको प्रयोग गर्नुपर्दछ भन्ने हो । सिद्धान्त गतिशील हुनुपर्छ । जडसूत्रको रुपमा व्याख्या गर्नु हुन्न । मुलुक र समाजका आफ्ना विशेषता हुन्छन् । सोहीअनुसार अघि बढ्नुपर्छ भन्ने हो । संसार बदल्ने र इतिहासका निर्माता कुनै राजा-महाराजा, ईश्वर, पादरी वा महात्मा होइनन् । श्रमजीवी र मजदुर हुन् । किसान र स्वतन्त्र नागरिक हुन् । जनता हुन् । यसर्थ समय, आवश्यकता, औचित्य, देश, काल र परिस्थितिअनुसार मार्क्सवादलाई बुझ्नुपर्छ, ढाल्नुपर्छ । मार्क्सवादलाई नागरिकका राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक आवश्यकतासँग जोड्न सक्नुपर्छ ।

मार्क्स हाल छैनन्, तथापि मार्क्सवादी दर्शन आज पनि विश्वमा र नेपालमा पनि जीवित छ । मार्क्सवादी दर्शन लामो समय मानव समाजका रहनेछ । मार्क्सवादी दर्शनको थप सिर्जनात्मक प्रयोग आजको सन्दर्भमा बढी सान्दर्भिक देखिन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायतका सबै नीति र मुद्दामा कुनै न कुनै रूपमा मार्क्सवादी दर्शनको प्रभाव प्रत्यक्ष/अप्रत्यक्ष रह्यो । मार्क्सवादी विचार र सिद्धान्तबाट प्रेरित भएर नेपालमा तत्कालिन एमालेको सरकारले सामाजिक सुधार र वृद्धभत्ता कार्यक्रम लागु गऱ्यो । जसले अहिले निरन्तरता पाएको छ । यसलाई बस्तुगत र वैज्ञानिक बनाएर लागु गर्नुपर्दछ । वृद्धभत्ता, मजदुर तथा श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी आर्थिक व्यवस्था र कार्यक्रम अहिले नेपालमा लागु भएका असल कार्यक्रमहरूमा पर्दछन् । नेपालमा मार्क्सवादी दर्शनलाई अलग गरेर कुनै राजनीतिक कार्यक्रम, नीति, बजेट, योजना र सरकार सञ्चालन हुन सक्ने अवस्था छैन ।

मार्क्सवादी दर्शन के थियो ? दार्शनिक मार्क्स को थिए ? यसलाई स्मरण गर्नुपर्दछ । जर्मनका दार्शनिक कार्ल मार्क्स (सन् १८१८–१८८३) राजनीति दर्शनका प्रसिद्ध विचारक रहे । उनको अध्ययन र ज्ञान अनेकौँ विषयमा थियो । मार्क्सवाद र मार्क्सवादी दर्शन भनेको जीवन र जगतलाई बुझ्ने, अध्ययन गर्ने र समाजलाई वदल्ने वैज्ञानिक, भौतिक र वस्तुवादी विचार हो । राजनीति राज्य सञ्चालन गर्न आवश्यक हुने मान्यता, दर्शन र सिद्धान्त हो । मार्क्सको सवल पक्षमध्येमा सोच र सोच्ने तरिका हो । आफूभन्दा अगाडिको इतिहासको अध्ययन गरी नयाँ विचार दिनुपर्दछ भन्ने उनको विचार थियो । मूलरूपमा सोच्ने तरिकामा चिन्तन, मनन, निरन्तरता र फड्को हुन्छ भन्ने मार्क्सको सोच रह्यो ।

मार्क्सले मानव समाजलाई गतिशीलतामा बुझ्नुपर्छ भने । विश्वका थुप्रै दर्शन, सिद्धान्त र विचारहरूको अध्ययनपछि द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको विकास मार्क्सले गरे । सन् १८४८ मा मार्क्स र एङ्गेल्स मिलेर कम्युनिष्ट घोषणपत्र लेखे, जसमा सर्वहाराको अधिनायकत्वबारे उल्लेख थियो । लण्डनमा उनको रुची अर्थशास्त्रमा पनि गयो । उनले ‘दास क्यापिटलिजम्म’ जस्ता चर्चित पुस्तक लेखे । मार्क्सलाई जीवनभर साथ दिनेमा उनकी श्रीमती जेनी र एङ्गेल्स रहे । छोरीको नाम पनि जेनी थियो । जर्मनका तत्कालिन दार्शनिक हेगेलको ‘आदर्शवादी द्वन्द्ववाद’ले उनलाई पोल्यो । सत्रौँ शताब्दीअघिसम्मका सबैजसो दार्शनिकहरू ईश्वर, प्रकृति, धर्म र पादरीहरूको आदेश र इच्छाबाटै समाज सञ्चालित हुन्छ भन्दथे । हेगलले द्वन्द्वात्मक आदर्शवादको विचारलाई मार्क्सले उल्ट्याइदिए ।

रुसका नेता कमरेड भ्लादिमिर लेनिनले लेखे- ‘हेगेल नपढ्दासम्म कार्ल मार्क्सलाई बुझ्न नसकिने रहेछ ।’ मार्क्सले हेगेलको आदर्शवादलाई पचाएर भौतिकवादी द्वन्द्ववादको सिर्जना गरे । हेगेल र कार्ल मार्क्सको विचारमा भएका प्रमुख भिन्नताबाट मार्क्स विश्वभर चर्चामा आए । उनको विचार आजपनि विश्वभर पढिने दर्शनमा पर्दछ ।

हेगेल आदर्शवादी, धार्मिक, राज्यमा विस्वास गर्ने, अदृश्य शक्तिप्रति विस्वास राख्ने र मूल रूपमा भन्दा आर्थिक असमानता र गरिबीको कारण अदृश्य शक्ति वा धार्मिक कारण हो भन्ने मान्यता राख्दथे । हेगेलको त्यस्तो आदर्शवादी, अवैज्ञानिक र अवस्तुवादी दर्शनलाई मार्क्सले पहिलोपटक पूर्णतः खारेज गरे । उनले गरिबीको कारण आर्थिक शोषण र असमानता हुने, पुँजीपति वा धनी वर्गले निरन्तर श्रमिक, किसान र आम जनतालाई वर्गीय शोषण गर्नु हो भने । शोषणले वर्गीय असमानता हुने स्पष्ट विचार दिए । धार्मिक अन्धविस्वास एउटा भ्रम मात्र हो भन्दै विज्ञानवाद, भौतिकवाद र वस्तुवादी दृष्टिकोणलाई एकमात्र सिद्धान्त भने । समाजमा हुँदा खानेलाई सधैं हुनेखानेले शोषण गर्ने भएकोले त्यसबाट मुक्तिको लागि श्रमिक, किसान र आम नागरिकले निरन्तर क्रान्ति र सघर्ष गर्नुपर्ने उनको विचार रह्यो । परम्परावादी कानुन, मान्यता र राज्यको अवधारणालाई उखेल्नुपर्ने भने । मार्क्सले श्रमिकको सर्वाेच्चताको वकालत गरे ।

नेपालमा मार्क्सवादी दर्शन र समाजवादी विचारधाराको प्रभाव बढिरहेको छ । दार्शनिक कार्ल मार्क्स र लेनिनको दर्शनबाट प्रेरित भएर सन् १९४९ अप्रिल २२ मा नेपालमा कम्युनिस्ट पार्टीको गठन गरियो । सोही दर्शन, सिद्धान्त र मूल्य र आदर्शबाट सन् १९५१ देखि निरन्तर सामाजिक-राजनीति, आर्थिक अधिकार तथा सांस्कृतिक अधिकारको आन्दोलन र राजनीतिक सङ्घर्ष भएका छन् । सन् १९९० को परिवर्तनपछि संविधानमा श्रमिक, सर्वहारा र हुँदा खाने गरीबको अधिकारको संवैधानिक व्यवस्था गरियो ।

नेपालको राजनीतिमा दार्शनिक कार्ल मार्क्सको दर्शनको व्यापक प्रभाव रह्यो । मजदुर, श्रमिक, सर्वहारा र पीडित जनताको पक्षमा निरन्तर वकालत गर्ने वामपन्थी पार्टीलाई जनताले सन् १९९१ पछिका सबैजसो निर्वाचनहरूमा समर्थन गरे । समाजवाद र समाजवादी विचारधारा नेपालको कानुनी र राजनीतिक सन्दर्भमा अनिवार्य विषय भएको छ । नेपालको संविधानको प्रस्तावनामा नै समाजवादउन्मूख राज्य प्रणालीको लागि अघि बढी जनताका व्यापक सामाजिक, राजनीतिक, आर्थिक अधिकारको पक्षमा राज्यले कार्य गर्ने उल्लेख छ । संविधानको धारा १६ देखि धारा ४६ सम्म नागरिकका विभिन्न आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई संवैधानिक प्रबन्ध गरिएका छन् ।

प्रत्येक निर्वाचन र राजनीतिक सन्दर्भमा मार्क्सवादी दर्शनको वकालत निरन्तर हुँदै आएको छ । मार्क्सवादलाई मुसलमान धर्मग्रन्थजस्तो मान्ने सोच केही कम्युनिस्टमा अहिले पनि देखिन्छ । केहीचाहिँ मार्क्सवादलाई राजनीतिमा ‘जप गर्न बोलिने मन्त्र’ जस्तो सोच्ने गर्दछन् । तिनका व्यवहारमा भने पुँजीवादी सोच र प्रवृत्ति देखिन्छ । मार्क्सवाद बोल्ने, मार्क्सवाद जप्ने र मार्क्सवादी दर्शनको ‘स्किन कट’ (छाला काट्ने) प्रवृत्तिले नेपाली राजनीति प्रदूषित हुँदैछ । मार्क्सवादको सिर्जनात्मक, वैज्ञानिक र वस्तुगत व्याख्या एवम् प्रयोग आजको आवश्यकता हो ।