ओसाकामा ‘प्रथम नेपाल फेस्टिवल कान्साई २०२५’ आयोजना हुने

ओसाकामा ‘प्रथम नेपाल फेस्टिवल कान्साई २०२५’ आयोजना हुने


  • विशेष प्रतिनिधि, ओसाका (जापान)

जापानको ओसाकामा ‘प्रथम नेपाल फेस्टिवल कान्साई २०२५’ हुने भएको छ । गैरआवसिय नेपाली संघ एनआरएन कान्साईको आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघसंस्थाको सह-आयोजनामा यही अप्रिल २६ र २७ का दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा बृहत रुपमा फेष्टिवल आयोजना गर्न लागिएको हो ।

एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै एनआरएन कान्साईले फेष्टिवल आयोजनाबारे कान्साईमा रहेका नेपाली संघसंस्थासंग छलफल गरेको हो । फेष्टिवलको हालसम्म भएको कार्य प्रगति तथा भावी कार्यक्रमका सम्बन्धमा मूल आयोजक कमिटी संयोजक तथा एनआरएन जापानका उपाध्यक्ष कृष्ण गैरेले जानकारी गराएका थिए भने कार्यक्रमको व्यवस्थापकिय पाटोबारे व्यवस्थापन समिति संयोजक नरेन्द्र कुमार बस्नेत दिनेशले बताए ।

मूल आयोजक समितिअन्तर्गत विभिन्न ११ वटा उपसमितिहरु समेत गठन भएका छन् जसमा तुलसीराम खरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समितिसहित स्टल व्यवस्थापन समितिको संयोजक महेशकुमार कटवाल, खाद्य गुणस्तर मापन समितिको संयोजक टिकाराम कँडेल, सांस्कृतिक तथा झाँकी व्यवस्थापन समितिको संयोजक टिआर गौडेल, सुरक्षा तथा स्वयम सेवक व्यवस्थापन समितिको संयोजक भीम काउछा, प्रचारप्रसार समितिको संयोजक तेज गुरुङ, मिडिया व्यवस्थापन समितिको संयोजक पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समितिको संयोजक सुवाष कडेल, संघ संस्था समन्वय समितिको संयोजक हरि कँडेल, फुलमाला ब्याज व्यवस्थापन समितिको संयोजक सपना डल्लकोटी, अतिथि व्यवस्थापन समितिको संयोजक हरिराज ढकाल रहेका संयोजक गैरेले जानकारी दिए ।

छलफल कार्यक्रममा फेष्टिवल सम्पन्न गर्नका लागि सहभागी वक्ताहरुले सल्लाह तथा सुझाव दिएका थिए । एनआरएन कान्साईका पूर्व संयोजकहरु हरिराज ढकाल, समाजसेवीहरु रमेशबाबु घिमिरे, सुनिल केसी, लाक्पा दोङ, तेज गुरुङ, कृष्ण भुषाल, बलबहादुर क्षेत्री, पत्रकार पुरुषोत्तम लामिछाने, झरेन्द्र कुमार कुँवर लगाएतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

एनआरएनए क्षेत्रीय समिति कान्साईको मिति २०२४ डिसेम्बर ११ र १६ तारिखका दिन संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त रुपमा बसेको बैठकबाट मिति २०२५ अप्रिल २६ र २७ तारिक नेपालको कलासंस्कृति भेषभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पूर्याउने उद्देश्यका साथ ऐतिहासिक ‘प्रथम नेपाल फेस्टिवल कान्साई २०२५’ गर्ने निर्णय गरेको थियो । फेस्टिवललाई भब्य र सभ्यरुपमा सफल पार्न एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरे मूल आयोजक समिति संयोजक र एनआरएनए जापान विशेषज्ञ समिति सदस्य नरेन्द्र कुमार बस्नेत दिनेश व्यवस्थापन समितिको संयोजक रहने गरी मूल आयोजक समिति गठन गरी कार्य अगाडी बढाएको एनआरएन कान्साईका संयोजक हरि कडेलले जानकारी दिएका छन् ।