सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु


नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा शहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको सुडानी स्वयंसेवक उद्धारकर्ताले बताएका छन् ।

पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’मा १२० जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कले यो मृत्युसङ्ख्या प्रारम्भिक रहेको बताउँदै आक्रमणको पछाडि को थियो भनेर निर्दिष्ट गरेको छैन ।

उद्धारकर्ताहरूले ‘विभिन्न स्तरका चोटपटकबाट पीडित ठूलो सङ्ख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न सङ्घर्ष गरिरहेका बेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको जनाएका छन् ।

सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाइँ बढेको छ ।

सहायता एजेन्सीहरूका अनुसार युद्धमा दशौँ हजार मानिस मारिएका छन् जसले देशलाई अनिकालको संघारमा पारेको छ ।

सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ ।

ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रण गरेको छ ।

नाइल नदीका दुवैतर्फका बासिन्दाहरूले नदी पार गरेर गोलाबारी भएको बताएका छन् । त्यहाँ बम र छर्राहरू नियमित रूपमा घरहरू र नागरिकहरूमाथि पर्ने गरेका छन् ।