प्रत्येक ब्यक्तिको जीवनमा स्वधर्म निकै महत्वपूर्ण कुरा हो । ब्यक्ति स्वयंले के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ नजाने, के खाने, के नखानेलगायतका आफूसम्बन्धित विषयमा आफैले आफ्नो आचारसंहिता बनाउने कुरा, अर्थात् आफूले आफैलाई नियममा बाँध्नु स्वधर्म हो । ‘स्व’को अर्थ आफू र ‘धर्म’को अर्थ नियम, कानून, न्याय, कर्तब्य !
✍ बबिता बस्नेत
धर्मको बारेमा विभिन्न परिभाषा र विचारधाराहरू छन् । धर्म संस्कृत शब्द हो, पाली भाषामा यसलाई धम्म भनिन्छ । जसले जे–जसरी परिभाषित गरेपनि समग्रमा प्राणी जगतमा जसले जे गरिरहेको छ त्यो इमान्दारीपूर्वक गर्नु धर्म हो । आफ्नो कर्तब्य निर्वाह गर्नु धर्म हो ।
धर्मको बारेमा हामीकहाँ जसरी चर्चा-परिचर्चा गरिन्छ, स्वधर्मको बारेमा खासै गरिँदैन । मन्दिरमा गएर पूजा गर्नुलाई मात्रै धर्म भनी बुझ्नेहरूको जमात ठुलो भएका कारण धर्मसँगै जोडिएर आउने शब्द स्वधर्मको बारेमा चर्चा नभएको हो भन्न सकिन्छ । प्रत्येक ब्यक्तिको जीवनमा स्वधर्म निकै महत्वपूर्ण कुरा हो । ब्यक्ति स्वयंले के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ नजाने, के खाने, के नखानेलगायतका आफूसम्बन्धित विषयमा आफैले आफ्नो आचारसंहिता बनाउने कुरा, अर्थात् आफूले आफैलाई नियममा बाँध्नु स्वधर्म हो । ‘स्व’को अर्थ आफू र ‘धर्म’को अर्थ नियम, कानून, न्याय, कर्तब्य ! महाभारतमा कृष्णले अर्जुनलाई धर्म र स्वधर्मका बारेमा लामो समय लिएर ब्याख्या गर्नुभएको छ । आफ्ना प्रश्नहरूको जवाफ आफै खोज्नुपर्छ, अरुले खोजिदिएर हुँदैन भनिएको छ । राम्रो या खराब दुवै सोच र कर्मको भागीदार पनि तिमी आफै हौ भन्ने कृष्णका सबै सम्वादहरू मनन गर्नेमात्र नभइ ब्यवहारमा लागु गर्न योग्य छन् । आफ्नो स्वार्थका लागि अरुलाई दुःख दिनु अधर्म हो । मानिसमा करुणा र सत्य नष्ट हुनु धर्म नष्ट हुनु हो ।
स्वधर्मको ब्याख्यालाई अब हामीले धर्मशास्त्रहरूमा मात्रै सीमित नरही अलि फराकिलो अर्थ गर्नुपर्छ जस्तो लाग्छ । कतिपय कुराहरू आफूमै रहँदा ठिक हुन्छ भने बाहिर नभने पनि हुन्छ । आफ्नो संहिता आफै बनाएर हिँड्ने ब्यक्तिलाई हतपत अरुले आक्रमण गर्न सक्दैनन् । हामीले राम्रो लक्ष्य लिएर, राम्रो सोचले कुनैपनि काम गऱ्यौँ भने त्यसको परिणाम अन्ततः राम्रो नै आउँछ । हो, गर्दै जाँदा कहिलेकाहीँ अप्ठ्याराहरूको सामना गर्नुपर्ला तर राम्रो सोच राखेर गरेका काम, अघि बढाएका सम्बन्धलगायतका कुराले मानिसलाई त्यति दुःख दिँदैनन् जति स्वार्थवश गरिएका कुराहरूले दिन्छन् । कहिलेकाहीँ कतिपयक कुराहरू तपाईं कस्तो परिवेशमा हुनुहुन्छ त्यसले पनि निर्धारण गर्न सक्छ । तपाईं रातदिन अर्काकै टिकाटिप्पणी गर्ने माहौलमा हुनुहुन्छ भने कसैको राम्रो कुरा आँखाअगाडि कमै आउने गर्छ । अरुलाई दोष दिने काममात्र गर्नुहुन्छ भने कुनैपनि बेला आफूले गर्दै आएको कर्म आफूमाथि लागु हुनसक्छ । स्वधर्ममा कर्म निकै महत्वपूर्ण कुरा हो ।
आफ्नो कर्म अर्थात् आफूले गर्ने काम र त्यसको परिणामका बारेमा भगवान् श्रीकृष्णले लामो ब्याख्या गर्नुभएको छ । कुनैपनि परिस्थितिमा कर्मबाट विमुख नहोउ, कर्म गर, परिणाम जे आएपनि कर्म गर्न नछोड भनेर गीतामा उहाँले पटक-पटक भन्नुभएको छ । महाभारत युद्धमा कृष्णले अर्जुनलाई भन्नुभएको छ- ‘हामीले गर्ने राम्रो-नराम्रो सबै काम कर्म हो । हरेक कर्मको प्रतिफल हुन्छ । राम्रो कामको प्रतिफल राम्रै हुन्छ र नराम्रो कामको प्रतिफल नराम्रै हुन्छ । हामीले गरेको कर्मको फल अर्थात् कामको परिणाम नै प्रारब्ध हो । आफैले गरेको कामको प्रतिफल भएका कारण प्रारब्ध टर्दैन । मानिसले आफ्नो कर्मको फल भोग्नैपर्छ । श्रीमद्भागवत गीताको तेश्रो अध्यायमा श्रृङ्खलावद्ध रूपमा कर्मको कुरा उल्लेख छ । कर्म गर्नु प्राकृतिक गुण हो, प्रकृतिले नै सबै प्राणीलाई कुनै न कुनै कर्मका लागि तय गरेको छ भनी गीतामा भनिएको छ । गीतामा भनिएको छ- ‘जसले कर्मेन्द्रीयलाई रोकेर इन्द्रीयको भोग्य बस्तु मनले चिन्तन गरिरहन्छ त्यो ब्यभिचारी र दम्भी हो । जसले मनले इन्द्रीयलाई रोकी अनासक्त हुँदै कर्मेन्द्रीयद्वारा कर्मयोगको आचरण गर्छ उ श्रेष्ठ हो ।’ परिणाम सधै राम्रो नआउन सक्छ तर आफ्नो काम गरिराख, कर्म गर्नबाट आफूलाई अलग नगर भन्ने गीताको सन्देश निकै महत्वपूर्ण छ ।
पूजा पाठ गर्नु र चिन्तनमनन गर्नु फरक कुरा हो । आध्यात्म आफूले आफैलाई चिन्ने प्रक्रिया हो । यसलाई स्वयंको अध्ययन पनि भन्न सकिन्छ । को आस्तिक, को नास्तिक भनी बहस गरेपनि वास्तविक धर्मको अर्थ आस्तिक या नास्तिक हुनुसँग खासै जोडिएको हुँदैन ।
अध्यात्म र स्वधर्मबीचमा पनि गहिरो सम्बन्ध छ । गीतामा भित्री आत्मा चिन्नु अध्यात्म हो भनिएको छ । भित्री आत्मा चिन्नु अर्थात् आफैलाई चिन्नु अध्यात्म हो । वास्तवमा अध्यात्मको सम्बन्ध हामी आफूले गर्ने अनुभवसँग छ । धर्मलाई पूजा अर्चनासँग जोडेर हेर्नेहरूले भगवानको चर्चा बढी गर्छन् । उनीहरूले भगवानमा पनि आफूले मान्ने भगवान् नै सबैभन्दा ठिक र सही भन्छन् । भगवान् या इश्वरको बहसमा भगवान् छैनन् भन्नेहरू पनि छन् । कसैले भगवान् छ भन्छन्, कसैले छैन भन्छन्, जसले जे भनेपनि आफूलाई अनुभव नभएको, आफूले नदेखेको कुरामा सदियौँदेखि बहस जारी छ । तर, अध्यात्म अनुभव गर्न सकिने कुरा हो । ध्यानका क्रममा या ध्यानपछि मानिसको दिमागले पाउने शान्ति संसारमा कुनैपनि मूल्य खर्च गरेर प्राप्त गर्न सकिँदैन ।
आफूभित्रको चेतन तत्वलाई जगाउनु आध्यात्म हो । जुन कुरामा धेरै मानिसलाई चासो नै छैन । पूजा पाठ गर्नु र चिन्तनमनन गर्नु फरक कुरा हो । आध्यात्म आफूले आफैलाई चिन्ने प्रक्रिया हो । यसलाई स्वयंको अध्ययन पनि भन्न सकिन्छ । को आस्तिक, को नास्तिक भनी बहस गरेपनि वास्तविक धर्मको अर्थ आस्तिक या नास्तिक हुनुसँग खासै जोडिएको हुँदैन । शास्त्र नमान्दा खासै फरक पर्दैन, पूजा नगर्दा पनि केही हुँदैन तर धर्म नमान्दा मान्छे अधर्मी हुन्छ । अधर्मी हुनु भनेको अन्यायी हुनु हो, न्यायिक नहुनु हो । त्यसैले कसैले म धर्म मान्दिनँ भन्छ भने उसले धर्मलाई पूजा या प्रार्थनासँग मात्रै जोडेर हेरेको छ, धर्म र स्वधर्मलाई बुझेको छैन भनेर मान्नुपर्ने हुन्छ ।
कुनैपनि कुरामा तपाईंको सोच कस्तो छ ? विचार कस्तो छ र त्यसलाई कसरी ब्यक्त गर्नुहुन्छ ? हामी आफैले उत्पादन गरेका सोच र भावनाहरूले हामी आफै र अरुलाई कस्तो असर या प्रभाव पारिरहेका छन् ? भन्नेबारेमा विचार गर्ने हो भने राम्रा–राम्रा कुराहरूले जीवनमा आफै ठाउँ लिन थाल्छन् । वास्तवमा आफू हिँड्ने बाटो, आफूले तय गर्ने नीति, अपनाउने मूल्य मान्यता, अवधारणा, सोच, आफूले प्रयोग गर्ने शब्द, आफूले निर्माण गर्ने संहिता, आफूले आफैलाई र अरुलाई गर्ने ब्यवहार लगायतका कुरासँग सम्बन्धित भएकाले स्वधर्मको शक्ति विशाल छ । आफूले आफूलाई नबनाइ कसैले अरुलाई बनाउने परिकल्पना गर्छ भने त्यो त्यति सहज र सफल हुँदैन । हामी आफैले उत्पादन गरेका सोच र भावना, अपनाएका संहिता एवं प्रयोगमा ल्याएका अभ्यास र ब्यवहारले हामीलाई दुःख र खुशी दिइरहेका हुन्छन् । राजनीतिदेखि नीजि जीवनसम्ममा लागु हुने कुरा हो यो । त्यसैले पहिला आफूले आफैलाई सहज बनाउनका लागि आफैभित्रको संसारलाई हेर्ने र चिन्ने अभ्यास गर्दै स्वधर्मको शक्तिलाई पहिचान गरी अघि बढ्ने कोशिस गरौँ ।
प्रतिक्रिया