इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या

इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या


तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार (१८ जनवरी) भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ ।

‘सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ’, न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटना लगत्तै आत्महत्या गरेको जनाइएको छ ।

सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ ।

मिजानले मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेको जनाएको छ भने उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतङ्कवादविरुद्धको अपराध सम्बन्धी’ मुद्दाहरू हेर्न गरेको पनि बताएको छ ।

उनीहरुको हत्याको कारण तत्काल स्पष्ट नभए पनि मिजानले आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गहरूको निरीक्षण गरेको भनी प्रतिबन्ध लगाएको थियो। उक्त समयमा आरोपहरूमा प्रमाणहरूको अभाव रहेको भन्दै इरानले आरोपका खण्डन गरेको थियो ।

मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्वपूर्ण पदहरु सम्हालिसकेका थिए र यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उहाँको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए ।

न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए तापनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ।

गत अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो ।

सन् २०२३ को अप्रिलमा अब्बास अली सुलेमानी नाम गरेका एक शक्तिशाली धर्मगुरुको उत्तरी प्रान्त मजन्दरानको एक बैङ्कमा गोली हानी हत्या गरिएको थियो।

सन् २००५ को अगष्टमा तेहरानको एक व्यस्त व्यापारिक क्षेत्रको बीचमा दुई जना बन्दुकधारीले प्रसिद्ध इरानी न्यायाधीश हसन मोघदासको हत्या गरेका थिए। उहाँको हत्यामा दोषी ठहर भएका दुई जनालाई दुई वर्षपछि फाँसी दिएर सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो ।