मातृभाषामा विज्ञान कहिले पढ्न पाइन्छ ?

मातृभाषामा विज्ञान कहिले पढ्न पाइन्छ ?


‘हामी एक्काइसौं शताब्दिमा छौँ, विज्ञानमा विश्वास गर्छौं र वैज्ञानिक साम्यवाद वा समाजवादका आधारमा नेपाललाई विश्वको उन्न्त्तम देश बनाउँछौंँ’ भन्दै हुङ्कार गर्ने राजनैतिक नेता र तिनका कार्यकर्ताहरूले अझै पनि ११ कक्षाको लागि मातृभाषा नेपालीमा पाठ्यपुस्तक तयार पारेका छैनन् र, नेपाली बालबालिकाले ११ कक्षा भन्दा माथि आफ्नो मातृभाषामा विज्ञान पढ्न पाउँदैनन् भन्दा तपाईंहरूलाई कस्तो लाग्ला ? तर यो सत्य हो । आजको मितिसम्म कक्षा ११पछि नेपाली बालबालिकाले विज्ञान पढ्न विदेशीको भाषा अंग्रेजी जान्नुपर्ने बाध्यकारी व्यबस्था छ । अंग्रेजी विद्यालयमा पढ्नेका लागि विज्ञानको ढोका खुला छ तर नेपाली माध्यममा पढेकाहरूका लागि नीतिगत तहमै विज्ञानको ढोका बन्द छ, सत्य यही हो ।

पङ्क्तिकारले धेरै पटक उठाएको र आफैले भोगेको कुरा हो- नेपाली राजनैतिक शक्ति र तिनको झोला बोकेर हिँड्ने शिक्षाक्षेत्रका व्यक्तिहरूले नेपाल र नेपालीलाई पटक्कै माया गर्दैनन् जति विदेशी र विदेशी शिक्षालाई गर्छन् । यसो भन्दा धेरै राजनैतिक शक्तिहरूसँग हिँड्ने व्यक्ति वा समुदाय रिसाउलान्, तर सत्य यही हो कि नेपाली राजनैतिक शक्तिहरू र तिनका झोलेहरूले नेपाल र नेपालीका लागि काम गर्दैनन् । यस कुराको ज्वलन्त उदाहरण हो- नेपाली भाषामा विज्ञानको पठनपाठन नहुनु र नेपाली जनताका छोराछोरीलाई जबर्जस्ती अंग्रेजी भाषा लादिनु । एउटा भाषाको रूपमा अंग्रेजी पढ्नुपर्छ, जान्नुपर्छ, तर मातृभाषाको हत्या गरेर विज्ञान, गणितजस्ता प्राविधिक विषयहरू पनि अंग्रेजी माध्यममा पढ्न बाध्यकारी बनाउनेहरू विदेशीका गोठाला नै हुन् ।

नेपालमा अंग्रेजीको विकासका लागि २०२७ सालदेखि सरकारी स्तरबाट नै प्रयास गरिएको छ र यो प्रयास २०८१ सालमा ५९ प्रतिशत विद्यार्थीहरू कक्षा १० को अंग्रेजी, अंग्रेजी माध्यममा पढिने विज्ञान र गणितमा फेल भएर सफल भएको छ ! यदि सरकार र तिनका झोले शिक्षाविद्हरूले अंग्रेजी भाषाको एउटा पेपर राखेर अन्य सबै नेपाली माध्यमबाट पठनपाठन गराउन आरम्भ गरेको भए देशको यस्तो स्थिति हुने थिएन । अंग्रेजी पुस्ता र नेपाली पुस्ताका बीचमा विभेद हुने थिएन । अंग्रेजी पढेका मात्र जान्ने हुन्छन् भन्ने कु-मनोविज्ञानको विकास हुने थिएन ।

अंग्रेजी कुनै पनि नेपालीको मातृभाषा होइन तर भाषाको रूपमा यसको वैश्विक महत्व छ । यसको अर्थ, नेपालीको हत्या गरेर अंग्रेजी सिकाउनु र सिक्नुपर्छ भन्ने कु-मनोविज्ञान रोप्नेलाई विश्वका सबै गालीगलौज गर्नुपर्छ र सक्नेले गरून् पनि । मैले गाउँबाट बल्ल-बल्ल १० पास गरेर आएकी मेरी भतिजीलाई उनको इच्छाअनुसार कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने गरी भर्ति गरेँ, त्यो पनि सरकारी विद्यालयमा । तर, शिक्षकहरूले ‘विज्ञान विषय केवल अंग्रेजीमा मात्र उपलब्ध छ’ भनेपछि बाध्य भएर अर्को विषय रोज्नु पऱ्यो । यस अर्थमा, नेपाली राजनीति र तिनका झोले शिक्षासँग सरोकार राख्नेवाला बौद्धिक हत्यारा हुन् र यिनै बौद्धिक हत्याराहरूका कारण नेपाली बालबालिकाले आफ्नै भाषामा विज्ञान पढ्न पाएका छैनन् । पङ्क्तिकार शिक्षक/शिक्षिकालाई दोष दिन चाहँदैन, दोषीहरू तपाईं चिन्नुहुन्छ ।

सन् १९४८ देखि सरकारले अंग्रेजी भाषामा गरेको लगानीको केवल १० प्रतिशतले मात्र विज्ञानका पुस्तकहरू नेपालीलगायतका नेपाली मातृभाषा अनुवाद गर्न लगाएको भए कक्षा १ देखि विद्यावारिधिसम्म आफ्नै भाषामा विज्ञान पढ्ने पुस्ता तयार हुन्थ्यो । चिनिया समाजले विज्ञान पढ्छ तर आफ्नै भाषामा पढ्छ, चीनले राम्रै विकास गरेको छ । बेलायतमा बाहेक कुनै पनि युरोपेली देशमा विज्ञान पढ्न अंग्रेजी चाहिन्न । छिमेकी भारतमा राज्यको भाषाअनुसार विज्ञानका पाठ्यपुस्तक उपलब्ध छन् र विद्यार्थीले आफ्नै मातृभाषामा विज्ञान पढ्न सक्छन् । तर, नेपालमात्र विश्वको यस्तो दुर्भाग्यशाली राजनैतिक शक्ति भएको देश हो जहाँका बालबालिकाहरूले तथाकथित २१औँ शताब्दिमा पनि विदेशी भाषामा विज्ञान पढ्न बाध्य पारिएका छन् ।

नेपालमा तथाकथित प्रगतिशीलहरूको बाहुल्यता छ । समाजवादीहरूको पनि बलियो उपस्थिति छँदैछ । तर, यी सबैले मिलेर नेपाली भाषाहरूलाई समृद्ध बनाउन विज्ञानलाई मातृभाषामा पढाउने व्यबस्था गर्नेतिर ध्यान दिनुको सट्टा नीतिगत तहमै नेपाली भाषाको हत्या गर्ने हत्यारो ‘अंग्रेजीकरण’लाई मलजल गरिरहेका छन् । भाषा सिक्नु राम्रो हो सिक्नुपर्छ तर मातृभाषाको हत्या गरेर विदेशी भाषा र संस्कृतिसंग सति जान प्रोत्साहन गर्ने नेपाली राजनैतिक शक्ति र तिनका झोले शिक्षाविद्हरूलाई इतिहासले माफ गर्ने छैन ।

सार्वजनिक माध्यमबाट सरोकारवाललाई सोध्दैछ पङ्क्तिकार- मेरी भतिजीहरूले आफ्नै भाषामा विज्ञान कहिलेदेखि पढ्न पाउँछन् ? तिमी नीति तर्जुमा गर्ने स्थानमा बसेका छौँ, तिमीसँग प्रसस्त पैसा छ, बोर्डिङ स्कूलहरूले पनि तिम्रो ‘पोजिसन’ हेरेर तिम्रा बालबालिका, नातिनातिना र आफन्तलाई निःशुल्क अंग्रेजी माध्यममा पढाइदेलान्, तर गाउँका सरकारी स्कूलमा बिहान एक डोको घाँस काटेपछिमात्र पढ्ने मेरो भतिजीले विज्ञान पढ्ने आफ्नो चाहना कहिले पूरा गर्न पाउने छिन् ? यो प्रश्नको उत्तर आउने छैन, मलाई थाहा छ तर प्रश्नको उत्तर नदिनेहरू भविष्यको नेपालका वैज्ञानिकहरूका असली हत्यारा हुन् । नेपाल र नेपालीलाई विज्ञानको पहुँचबाट टाढा राखेर शोषण गर्ने शोषक हुन् ।

एउटा भाषाका रूपमा जतिधेरै माया अंग्रेजी भाषाप्रति हुनुपर्छ, त्यति छ ! तर, आफ्नो मातृभाषाप्रति अंग्रेजी भाषाको भन्दा हजारौं गुणा माया छ । तिमीहरूभित्र रहेको २१औं शताब्दिको दम्भ असलमा विदेशीहरूको दासता हो । तिमीहरूको पोलिसीले गर्दा म अंग्रेजी माध्यमबाट पढ्न बाध्य पारिएको छु । तिम्रो अंग्रेजी मोहका कारण मेरा भतिजी, भतिजा, नातिनातिना, छोराछोरीहरूमा रहेको ‘वैज्ञानिक’ले आत्महत्या गरेको छ । यस्तो आमहत्यारा तिमीहरू हौँ । फेरि पनि सोध्दै छु- ‘तिमी र तिम्रो संसदले मेरी भतिजीको नेपालीमा विज्ञान पढ्ने र वैज्ञानिक बन्ने रहर पूरा गर्न विज्ञानका पुस्तकहरू नेपाली मातृभाषामा पठनपाठन मिलाउने कानून कहिले बनाउँदैछौ ? मेरा भतिजीहरूको विज्ञान पढ्ने चाहनालाई कहिले सम्बोधन गर्दैछौ ?

सरकार र सरकारी झोलेहरूले बालबालिकालाई मातृभाषामा विज्ञान पढ्न अवरोध उत्पन्न गरे पनि केही युवाहरूले आफ्नै प्रयासमा विज्ञानका सामग्रीहरू नेपाली भाषामा तयार गर्ने प्रयत्न गरिरहेका छन् । जसमा बर्दियाका नारायण पराजुली आदि छन् । मलाई लाग्छ, विदेशी भाषाका झोलेहरूले नारायणहरूको प्रयासलाई सकेसम्म अवरोध गर्ने छन् । नेपाली राजनैतिक चिन्तनले विज्ञानलाई नै कठै-बिचरा बनाइदिएका छन् । सायद, यो लेख पढेपछि (पढ्ने छैनन्) अख्तियारवालाले आफ्ना विदेशी स्वामीहरूसँग विज्ञानको भाषाका विषयमा सोध्ने छन् र भाषिक विवाद निम्त्याउने छन् ।