खोज

खोज


जीवन हेरौं गतिशील कस्तो,
बदलिन्न आत्मा शरीर जस्तो ।
महानताको अँगाली चरित्र,
पाइनेछ तत्व पसी भित्र-भित्र ।

खोजेर कतै बाहिर अन्त-अन्त,
पाइन्न केही नदेखि अनन्त ।
श्रद्धा आफैंमा गर भित्र जान,
पाइन्छ भित्रै चैतन्यको ज्ञान ।

ऐना सरीझैं बनौं पारदर्शी,
सत्कर्म गरे बनिन्छ महर्षि ।
शिवको पूजा गरौं बारबार,
यो जीवनलाई मैलो नपार ।

जीवनभित्र ज्ञानदीप बाल,
विजयी बने जितिन्छ काल ।
श्रीकृष्ण नै हो सब सार पक्ष,
शिवतत्व पाउने अपार लक्ष ।

समाधिलाई छिटै गरौं भोग,
मिल्नेछ जहाँ सब दिव्ययोग ।
समाधिमै छ परिपूर्ण ज्ञान,
सत्सङ्ग भएमा छुट्दैन ध्यान ।

नबन्नु कैल्यै इन्द्रियको दास,
उन्मत्त अशान्त नभै उदास ।
महावीर बनी रथ हाँक आज,
आत्मा स्वयंको बन तीर्थराज ।

योगको अभ्यास गरौं बारबार,
साधना गर्दै चित्त शुद्धपार ।
सद्मार्ग भनें जतिसम्म मैले,
शंका नराखौं केही छैन ऐले ।

प्रकाश आए अहङ्कार जाला,
यो जिन्दगी नै रसरङ्ग माला ।
बुझिन्न पैले जीवनको मूल्य,
बुझेर आउँदा हुन्छ अमूल्य ।

अनेक जन्म तपमै तपेर,
विशुद्ध ज्ञान पाउँछौं रमेर ।
जागेर आए हुन्छ दीप तुल्य,
हुनेछ यो जीवन नै अमूल्य ।