सर्वोच्चद्वारा राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज

सर्वोच्चद्वारा राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज


राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आज (६ माघ) उक्त रिट खारेज गर्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले फैसलाको लिखित आदेश आउन बाँकी रहेको बताएका छन् । तर, अदालतले सो रिट खारेज गरेकोले सरकारलाई काम अघि बढाउने बाटो भने खुलेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।

यसअघि विसं २०८१ जेठ २४ को मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि पहिलो चरणमा २८ जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।