महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागिता

महाकुम्भमा मेलामा आठ करोड भन्दा बढी भक्तजनको सहभागिता


भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाको आठौं दिन सोमबार (७ माघ) दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् । जनवरी २० सम्म, सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ । सोमबार बिहान ८ बजेसम्म एकैदिन २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेका थिए ।

यसैबीच, मेलाका महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गरेका छन् । उनले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताए ।

‘यो घटनाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ । स्थानीय प्रहरी अधिकारीहरू यसमा छन् । धेरै हल्ला छन् तर छानबिनपछि सही कारण खुल्नेछ’, उनले भनेका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले आगलागी भएको घटनास्थलको भ्रमण गरी घटनास्थलमा रहेका अधिकारी र अग्निनियन्त्रक टोलीसँग कुराकानी गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गर्दै घटनाको जानकारी लिएका थिए । १३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ सम्म चल्नेछ ।