अमेरिकाको स्वर्ण युगसुरु भएको जिकिर
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड जे. ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रधानन्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराउनुभएको हो ।
राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा सोमबार सपथ लिनुभएको हो, तर ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो ।
राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्व राष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो ।
राष्ट्रपतिको सपथ ग्रहण लगत्तै गरेको सम्बोधनमा नेता ट्रम्पले भन्नुभयो, ‘आजबाट अमेरिकाको स्वर्ण युगसुरु भएको छ । अब हाम्रो देश समृद्ध हुनेछ र सम्मानित हुनेछ। म स्पष्ट छु म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्नेछु। अमेरिकाको सार्वभौमिकता पुनर्स्थापित हुनेछ, सुरक्षा पुनर्स्थापित हुनेछ र न्यायको सन्तुलन कायम राखिनेछ ।’
ट्रम्पले न्याय विभागको अनुचित र पक्षपातपूर्ण प्रयोगको अन्त्य हुने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो प्राथमिकता गौरव, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण देश निर्माण गर्नु हो ।’
डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी दिँदै अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताउनुभयो । उहाँले अवैध प्रवेश तत्काल रोकिने र सरकारले लाखौँ ‘आपराधिक आप्रवासी’लाई आफ्नो देशबाट निर्वासित गर्ने प्रक्रिया सुरु गर्ने बताउनुभयो ।
सामान्यतया अमेरिकी क्यापिटल बाहिर हुने सपथ ग्रहण समारोह यस पटक चिसोका कारण हलमा गरिएको थियो ।
प्रतिक्रिया