कसैको ब्यवहार, सम्बन्ध, बोलीचाली, सफलता जे कुराले आफूलाई खुशी दिएका थिए ती सबै आफ्नै काम, मेहेनत, बोलीबचन र दानका परिणाम थिए । त्यसैले मानिसको खुशीको श्रोत आफैभित्र छ, आफ्नै ब्यवहारमा छ । तपाईंले कसैलाई लगातार राम्रो गरिरहनुभयो भने एकदिन अवश्य नै उसले तपाईंलाई राम्रो मान्नेछ ।
✍ बबिता बस्नेत
हरेक मानिस जीवनमा खुशी हुन चाहन्छन् तर खुशीको श्रोत के हो ? खुशी हुनका लागि हिँड्ने बाटो कता छ ? त्यो बाटो कस्तो छ, गोरेटो हो कि राजमार्ग ? … मानिसहरू दोधारमा देखिन्छन् । दोधारमा नहुनु पनि किन ? हिजोसम्म लागेको त्यही खुशीले आज दुःख दिइरहेको पनि हुनसक्छ । पहिला सानो लागेको कुरा अहिले ठुलो लागिरहेको हुन्छ । यो संसारमा दुःखी मानिस धेरै होलान् कि खुशी ? दुःख केलाई मान्ने.. खुशी केलाई ठान्ने ? प्रश्न अनेक हुन सक्छन् । यसैबीच नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले खुशीको बारेमा पुस्तक लेख्नुभएको छ, ‘खुशीको गोरेटो’ । पुस्तकको सुरुवातमै लेखिएको छ, ‘हिजोआज अधिकांश मानिस तनावमा देखिन्छन् । आफ्नो उन्नतिको चासोभन्दा अर्काको अवनति हेर्ने रहर बढेको छ । आफूले प्रगति गर्न नसकेर होइन, अरुले गरेको प्रगतिका कारण मानिस चिन्तित र दुःखी बनेको छ ।’ हुनपनि अरुको प्रगतिमा आलोचना गर्दागर्दै कतिपय मानिस आफूले प्रगति गर्नुपर्ने समय बिताइरहेका हुन्छन् ।
लेखक कृष्णहरि बास्कोटाले लेख्नुभएको छ, ‘जन्मनेबित्तिकै मानिस दुष्ट हुने होइन । हुर्कंदै गर्दा उसलाई दुःखी हुन सिकाइन्छ । बिस्तारै अरुलाई पनि दुःख दिन थाल्छ । दुःखैदुःखको यो भवसागरमा आखिर सुखी हुन नचाहने मान्छे को होला ? जति वितरण गऱ्यो उति बढ्ने चीज हो, ज्ञान । ज्ञान पाउने खुशी हुन्छ, यसबाट खुशीले खुशी नै जन्माएको हुन्छ । सकारात्मक कुरा बोल्दा खुशी भइन्छ, सुन्ने ब्यक्ति पनि खुशी हुन्छ । यसले दुवैलाई खुशी बनाउँछ ।’
‘खुशीको गोरेटो’मा मानिसको जीवनमा स-साना कुराले कसरी खुशी दिन्छ भन्ने कुरा सुक्ष्म तरिकाले लिपिवद्ध गरिएको छ । पुस्तकमा लेखकको आफ्नै जीवनमा स-साना प्रयासले पाएका खुशीका घटनाहरू, विभिन्न ब्यक्तिका प्रेरणादायी कथाहरू, शास्त्रमा भएका सकारात्मक र खुशीका घटनाक्रमहरू उल्लेख गरिएका छन् । पुस्तक लेखकका सय वर्षीय बुवा हरिहर बास्कोटामा समर्पण गरिएको छ ।
वास्तवमा खुशी र पीडा मनसँग सम्बन्धित छ । सुख र दुःख शरीरसँग सम्बन्धित छ । सुख पाउनुको अर्थ शरीरलाई आराम या शरीरलाई आनन्द महसूस हुने कुरा हो । सुख र दुःख त फरक हुन् नै, सुख र खुशी पनि फरक कुरा हुन् । सुखको अनुभूति शरीरले गर्छ भने खुशीको महसूस मनले गर्छ । खुशी कहाँबाट प्राप्त हुन्छ ? खुशीको श्रोत के हो ? भनेर खोजी गर्ने हो भने खुशीको स्थाइ श्रोत अहिलेसम्म कतै फेला परेको छैन । डा. विमल कोइरालाको शब्दमा ‘खुशी ‘इन्डेक्स’ तयार गरेर ‘इन्डिकेटर’को आधारमा तय हुने कुरा होइन ।’ हिजोआज विभिन्न मुलुकमा खुशीको मापन गर्दै विश्व प्रतिवेदनहरू तयार भइरहेका सन्दर्भमा विमोचन कार्यक्रममा डा. कोइरालाले उक्त धारणा राख्नुभएको थियो । जीवन विज्ञानमार्फत समाजमा सकारात्मक सन्देश फैलाइरहनु भएका एलपी भानु शर्माले ‘खुशीको गोरेटो’ विमोचन कार्यक्रममा भन्नुभएको थियो- ‘खुस रहेको मान्छेले मात्रै खुशी बाँड्न सक्छ । मानिसले आफूसँग जे छ, त्यही मात्रै दिनसक्छ, आफूसँग नभएको कुरा मानिसले अरुसँग बाँड्न सक्दैन ।’
अहिले हामीकहाँ प्रायः ‘हुँदैन’, ‘गरेर मात्रै खै के हुन्छ र ?’, ‘जमाना खराब छ’, ‘मानिस नै ठिक छैनन्’ भनी जमाना, समय र अरुलाई दोष दिने प्रचलन बढिरहेको बेला ‘खुशीको गोरेटो’ पुस्तकले एकपल्ट आफै राम्रो भएर हेरौँ न त… भन्ने प्रेरणा दिन्छ ।
लेखक बास्कोटाले आफ्नो पुस्तकमा विभिन्न ब्यक्तित्वले ब्यक्त गर्नुभएका विचारहरू उल्लेख गर्नुभएको छ । खुशीको सन्दर्भमा उहाँले पुस्तकमा नलेख्नु भएको यो प्रसँग उल्लेख गर्न चाहन्छु, ‘एकपल्ट गौतम बुद्धसँग दुई दिन बसेपछि एक ब्यक्तिले आफू जीवनमा धेरै दुःखी भएकाले खुशी हुने उपाय सुझाउन आग्रह गरेछन् । जवाफमा बुद्धले आफूले अहिलेसम्म पाएको दुःखलाई एकातिर लाइन लगाएर लेख्नु अनि अर्को लाइनमा आफूले पाएको सुख र खुशी लेख्नु भन्दै दुःख र खुशीको कारण पनि लेख्नु भन्नुभएछ । थी ब्यक्तिले दुःख लेख्ने क्रममा सुरुमा लेखेछन्- मैले धन कमाउन सकिनँ, कारणमा लेखेछन्- किनभने मैले जति काम र मेहेनत गर्न सक्थेँ त्यति गरिनँ । दोश्रो नम्बरमा लेखेछन्- मेरो परिवारले मलाई राम्रो गर्दैनन्, जसका कारण म निकै दुःखी छु, कारण- मैले उनीहरूलाई कहिल्यै राम्रो ब्यवहार गरिनँ । तेश्रो, छिमेकीहरू मसँग राम्ररी बोल्दैनन्, कारण- मैले छिमेकीलाई मर्दा-पर्दा कहिल्यै सहयोग गरिनँ । आफैले लेखेका कारणसहितका दुःखका श्रृङ्खला बुद्धलाई देखाउन उनलाई अप्ठ्यारो लागेछ । त्यसपछि सुख र खुशीको लाइनतिर लागेछन् । कसैको ब्यवहार, सम्बन्ध, बोलीचाली, सफलता जे कुराले आफूलाई खुशी दिएका थिए ती सबै आफ्नै काम, मेहेनत, बोलीबचन र दानका परिणाम थिए । त्यसैले मानिसको खुशीको श्रोत आफैभित्र छ, आफ्नै ब्यवहारमा छ । तपाईंले कसैलाई लगातार राम्रो गरिरहनुभयो भने एकदिन अवश्य नै उसले तपाईंलाई राम्रो मान्नेछ । खुशीको श्रोत पनि हामी आफै हौँ र दुःखको पनि आफै हौँ । कतिपय कुराहरू जो आफ्नो हातमा हुँदैनन, तिनमा दुःखी हुनुको अर्थ छैन । ब्यक्तिगत र ब्यवसायिक दुवै जीवनमा आफूले बोल्ने शब्दहरू, गर्ने ब्यवहार र लिने निर्णयहरू मूलतः हाम्रा दुःख र खुशीका श्रोत हुन् ।
जागिरे जीवनबाट अवकाश पाएपछि कतिपय प्रशासकहरूको जीवन त्यति सहज हुँदैन । घर, अफिस, फायल, मिटिङ गरेर समय बिताएकाले जाने ठाउँहरू कमै हुन्छन्, सोच्ने कुरा पनि धेरै हुँदैनन् । सिर्जनात्मक मानिसहरूका लागि भने जुनसुकै पेशा, ब्यवसाय अपनाएको भएपनि अवकाशप्राप्त जीवन एउटा अवसर लिएर आउने रहेछ भन्ने कुराको उदाहरण कृष्णहरि बास्कोटा बन्नुभएको छ । पुस्तकले जीवनमा खुशीका अनेक आयामहरू पस्किएको छ । सकारात्मक र राम्रा कुरा लेख्नका लागि मष्तिष्कमा राम्रा–राम्रा कुरा खेलाउनुपर्ने भएकाले उहाँ सधै हँसिलो देखिनुहुन्छ । नकारात्मक कुरा मष्तिष्कमा खेलाउने र नकारात्मक सामाग्री पस्किने मानिसहरूको मुहारमा उकुसमुकुस र हरदम एक प्रकारको असहज भाव देखिन्छ । सकारात्मक सोच आफैमा खुशीको मुहान हो ।
सफलता, बुद्धि, सुन्दरता, भ्रम, धेरै पढेका, ठिक्कै पढेका, आफूलाई भयङ्कर ठान्ने, केही पनि नठान्ने, पद प्रतिष्ठाका नाममा गमक्क फुलेका, पद भनेको क्षणिक हो भन्ने बुझेका, नबुझेका सबैले पढ्नुपर्ने खालको पुस्तक छ, खुशीको गोरेटो । पुस्तक समग्रमा जिन्दगी वरिपरि घुमेका कारण एउटा च्याप्टर सक्नासाथ अर्को पल्टाउन मन लाग्छ । आफूले बाँच्दै आएको सरल जीवन शैलीलाई इमान्दारीपूर्वक उहाँले लेख्नुभएको छ । कतिपय मानिसहरूलाई ठुला-ठुला कुरा गरेर, लेखेर ठुलो मान्छे भइन्छ भन्ने पनि लाग्छ । तर कृष्णहरि बास्कोटाले आफ्ना जीवनमा भोगेका र अरुले भनेका, भोगेका स-साना कुरा लेखेर आफ्नो कद थप उँचो बनाउनुभएको छ । अहिले हामीकहाँ प्रायः ‘हुँदैन’, ‘गरेर मात्रै खै के हुन्छ र ?’, ‘जमाना खराब छ’, ‘मानिस नै ठिक छैनन्’ भनी जमाना, समय र अरुलाई दोष दिने प्रचलन बढिरहेको बेला ‘खुशीको गोरेटो’ पुस्तकले एकपल्ट आफै राम्रो भएर हेरौँ न त… भन्ने प्रेरणा दिन्छ । खासमा जमाना र समयले त दोष मात्रै पाएका हुन्, आफूलाई राम्रो, सकारात्मक र खुशी हुनबाट रोक्ने त हामी स्वयम् हौँ ।
प्रतिक्रिया