कानुनी, सामाजिक, व्यवहारिक र नैतिक दृष्टिमा १६ वर्षको उमेरलाई कलिलो र काँचो भनियो । विवाह गर्न पाउने उमेरमा भने कानुन आवश्यकताभन्दा बढी कडा भएको कारण युवाले अनैतिक यौन सम्बन्ध राख्नुपर्ने बाध्यता बनायो ।
✍ डा. प्रेमराज सिलवाल
यौन जैविक आवश्यकता हो । यसलाई प्राकृतिक, मानवीय र सामाजिक आवश्यकताको विषय मानिन्छ । सामाजिक, नैतिक, कानुनी र सांस्कृतिक बन्धनले बाँध्न मानव समाजले विवाह भन्ने संस्थाको जन्म दियो । विवाह कानुनी र सामाजिक विषय मात्र होइन । जैविक, प्राकृतिक र मानवीय आवश्यकताको विषय भएकाले यसको चौतर्फी अर्थ र महत्व रहेको छ ।
प्राकृतिक तथा यौनिक दृष्टिले १६ वर्ष नपुग्दै मानिस यौन कार्यका लागि सक्षम हुन्छन् भन्ने मानिएको छ । कति वर्षमा कुन युवा वा युवती यौनक्रियाको लागि सक्षम हुन्छन् भन्ने कुरा उसको परिवार र समाजको पारिवारिक, आर्थिक, सामाजिक र अन्य अवस्थाले पनि निर्धारण गर्दछन् । पोषणयुक्त खानपान तथा औषधीविज्ञानमा आएका अनेकौँ सुविधा र परिवर्तनले शहरबजारमा मानिस १६ वर्षपूर्व नै यौनक्रियाकाका लागि सक्षम भएको देखिन्छ । सूचना, ज्ञान र प्रविधिको विकास तथा विश्वव्यापीकरणका कारण उपलब्ध भएका अनेकौँ प्रविधि र प्रभावको कारण यौनसम्बन्धी सूचना एवम् बढी जानकारीले कलिलो युवा उमेरमा नै यौन चाहना वृद्धि गर्दैछ ।
शहरबजारका युवाहरूलाई १६ वर्षको आसपासबाटै तीव्र यौन चाहना जागृत भएको अनुभव गरिएको छ । यद्यपि, राज्यको कानुनी प्रबन्ध नै मानिसका जैविक र प्राकृतिक अधिकार खोस्न लागिपरेको महसूस गरिन्छ । १६ वर्ष पूरा नहुँदै विवाह गरी घरजम गरी बसेका ‘बा’, ‘आमा’ र ‘हजुबुबाहरू’ले बनाएको कानुन यौन चाहना पूर्ति गर्ने कार्यमा बाधक बन्यो । युवाका जैविक र प्राकृतिक आवश्यकतामा कानुनले बन्देज लगायो । २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने भन्ने ‘रिजिट’ कानुनी प्रबन्धले अनेकौँ यौनजन्य समस्या सिर्जना गर्दैछन् । कानुन निर्माण गर्ने ती कतिपय ‘बुबा सांसद’हरू चाहिँ आफ्ना असीमित यौन चाहना पूर्ति गर्न घर र बाहिरसमेत यौन सम्बन्धमा रहेको कुरा सार्वजनिक हुँदै आएका छन् ।
कानुन सबैको प्राकृतिक, सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारको सुरक्षा गर्न निर्माण गर्ने गरिने भए पनि विवाहसम्बन्धी कानुनले युवाका शारीरिक यौन चाहना पूर्तिको प्राकृतिक अधिकारमा घुमाउरो पाराले संकुचित तुल्याएको छ । यसलाई सच्च्याउन कानुनमा सुधार गर्नु आवश्यक छ ।
नेपालमा १६ वर्ष पूरा भएपछि नागरिकता पाइन्छ । तर अहिले पनि कानुनले युवालाई कानुनी व्यक्तिका रूपमा वैध नागरिक मान्दैनन् । कानुनी, सामाजिक, व्यवहारिक र नैतिक दृष्टिमा १६ वर्षको उमेरलाई कलिलो र काँचो भनियो । विवाह गर्न पाउने उमेरमा भने कानुन आवश्यकताभन्दा बढी कडा भएको कारण युवाले अनैतिक यौन सम्बन्ध राख्नुपर्ने बाध्यता बनायो । २० वर्ष पूरा भएपछि विवाह गर्न हुने र १८ वर्ष पूरा हुँदा विवाह गर्नै नहुने भन्नेमा वैज्ञानिक, जैविक, मानवीय र व्यवहारिक कारण तथा आधार देखिन्न । विश्वका धेरै मुलुकहरूले १८ वर्षलाई विवाहको उमेर मान्नुपछाडिको कारण समाजमा यौन समस्या न्यूनीकरण गर्नु र मानिसका यौन आवश्यकता पूर्ति गर्नु पनि हो । नेपालमा चाहिँ किन १८ वर्ष पूरा हुने वित्तिकै विवाह गर्न नहुने ? तार्किक र वस्तुगत कारण छैन । ‘कानुन नै त्यही छ’ भन्ने तर्क आफैंमा वैज्ञानिक आधार बन्न सक्दैन । संसद्ले बनाएका जस्तोसुकै कानुन जहिल्यै असल कानुन बन्न सक्दैनन् । यही भएर नै समय, आवश्यकता र औचित्यका आधारमा कानुनमा सुधार, संशोधन र परिवर्तन गर्नु परेको हो ।
विश्वमा विवाहको उमेरसम्बन्धी कानुनी प्रबन्ध हेर्ने हो भने विविधता देख्न सकिन्छ । धेरै मुलुकहरूले १८ वर्षको उमेरलाई विवाहको उमेर मानेका छन् । अमेरिका, भारत, बेलायत, स्विट्जरल्याण्ड, स्वीडेन, स्पेन, सर्भिया, रुस, रोमानिया, अल्बिानियाँ, बुल्गेरिया, बेल्जियम, बलारुस, ब्रुनाइ, ग्रिस, श्रीलङ्का, जर्मनी, हंंगेरी, इटाली, लक्जेम्बर्ग, नर्वे, नेदरल्याण्ड, ताइवान, साउदी अरब, पाकिस्तान, म्यानमार, माल्दिप्स, जापान, इरान आदि मुलुकहरूका कानुनमा विवाहको उमेर १८ वर्ष राखिएको देखिन्छ । चीनमा भने स्वेच्छाले विवाह गर्न सक्ने उमेर २२ वर्ष गरिएको छ । अभिभावकको सहमतिमा भने २० वर्षमा पनि गर्न सकिन्छ । भारतमा २१ र अभिभावकको सहमतिमा चाहिँ १८ वर्ष राखिएको छ ।
विश्वमा जनसंख्याको दृष्टिले चीन, भारत, अमेरिका, इन्डयोनेशिया आदि मुलुकहरू सर्वाधिक ठूला हुन् । सोही कारण ती देशहरूले विवाहको उमेर बढी राखे । तिनलाई जनसंख्या नियन्त्रण गर्नु पनि थियो । यद्यपि अहिले चीनले जनसंख्यामा खुकुलो नीति अपनाएको छ । विश्वमा शक्तिशाली हुने र राष्ट्र बन्ने प्रमुख आधार नै जनसंख्या हो । पश्चिमा र अमेरिकी समाजमा हेर्ने हो भने आफूखुसी यौनसम्बन्ध राख्ने घटना सामान्य भएको देखिन्छ । अमेरिकामा विवाहितले सम्बन्ध विच्छेद गर्ने घटना सामान्य भएको देख्न सकिन्छ । यौनसम्बन्धी विषय र आपसमा यौन सम्पर्क राख्ने कुरामा अमेरिकनहरू खुलेर गर्ने गर्दछन् ।
सबै कुरा अमेरिकी वा पश्चिमा ठीक भन्ने होइन र जैविक, प्राकृतिक एवम् मानवीय आवश्यकताका असल कुरा उनीहरूबाट नलिने भन्ने पनि होइन । नेपालको कानुनले विवाह गर्न २० वर्ष पूरा हुनैपर्ने भनेकाले शहरीया युवामा अनेक खालका यौनजन्य समस्या विकराल बन्दै गएको छ । विवाहपूर्वका गैरकानुनी र अनैतिक यौन सम्बन्ध राख्नेहरू समाजमा बढिरहनुको पछाडि कानुन पनि बाधक बनेको मान्नैपर्छ । विवाह गर्ने कानुनमा उमेर बढी भएका कारण अनौपचारिक र निजी रूपमा वैवाहिक सम्बन्धमा बस्ने (लिभिङ टुगेदर) संस्कृति बढेको हो । विदेश र देशका प्रमुख शहरहरूमा त्यस खालका प्रवृत्तिले भीषण सङ्कट ल्याउँदैछ । कानुन ‘रिजिट’ भएका कारण ‘लेट म्यारिज’को प्रचलन बढ्न थाल्यो, जसले ढिला बच्चा जन्माउने प्रवृत्ति बढायो । त्यसको नकारात्मक प्रभाव आमा र बच्चाको स्वास्थ्यमा पनि पर्दैछ । यसले जनसंख्याको वृद्धिदरमा समेत नकारात्मक प्रभाव पर्दै गएको छ ।
‘कानुन नै त्यही छ’ भन्ने तर्क आफैंमा वैज्ञानिक आधार बन्न सक्दैन । संसद्ले बनाएका जस्तोसुकै कानुन जहिल्यै असल कानुन बन्न सक्दैनन् । यही भएर नै समय, आवश्यकता र औचित्यका आधारमा कानुनमा सुधार, संशोधन र परिवर्तन गर्नु परेको हो ।
नेपालमा वि.सं. २०६८ को जनगणनाका अनुसार कूल जनसङ्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेको थियो । १० वर्षपछि २०७८ सालमा भएको जनगणनाको प्रारम्भिक नतिजाअनुसार कूल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय असी मात्र देखियो । २०६८ सालको जनगणनाअनुसार जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेकोमा २०७८ सालमा त्यो दर घटेर ०.९३ प्रतिशतमा सीमित रह्यो । यस्तो हुनुमा युवाले आफूले चाहेको समयमा वैधानिकरूपमा यौन सम्पर्क राख्न नपाउनु पनि हो ।
नेपालको मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १ मा विवाहसम्बन्धी व्यवस्था राखिएको छ । ऐनको दफा ७० को (घ) मा बीस वर्ष उमेर पूरा भएमा विवाह हुन सक्ने भनिएको पाइन्छ । कानुनमा गरिएको यस्तो प्रावधानका कारण युवाहरूले लुकेर÷लुकाएर यौन सम्बन्ध राख्न बाध्य भएका छन् । लुकाएर राखिएका यौन सम्बन्धले अन्तमा कानुनी, सामाजिक र नैतिक पीडा बढी दिने गऱ्यो । खुलेर यौन सम्बन्ध राख्न पाउने जैविक, प्राकृतिक र मानवीय आवश्यकतामा ‘विवाहित बुढा’हरूले बनाएको उल्लिखित कानुन बाधाकारी भयो ।
कानुन सबैको प्राकृतिक, सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारको सुरक्षा गर्न निर्माण गर्ने गरिने भए पनि विवाहसम्बन्धी कानुनले युवाका शारीरिक यौन चाहना पूर्तिको प्राकृतिक अधिकारमा घुमाउरो पाराले संकुचित तुल्याएको छ । यसलाई सच्च्याउन कानुनमा सुधार गर्नु आवश्यक छ । उल्लिखित विवाह कानुनमा सुधार र परिवर्तन नगर्ने हो भने यसले अनेकौँ प्रकारका कानुनी, सामाजिक र व्यवहारिक समस्या वृद्धि गर्दै लग्नेछ । युवाका यौन-जीवनलाई सहजता प्रदान गर्न पनि कानुन परिवर्तन गर्नु परेको हो ।
प्रतिक्रिया