रेलमा आगलागीको हल्लाले निम्याएको विपत्ति : भारतमा रेल दुर्घटनामा परी १३ जनाको मृत्यु

रेलमा आगलागीको हल्लाले निम्याएको विपत्ति : भारतमा रेल दुर्घटनामा परी १३ जनाको मृत्यु


भारतको महाराष्ट्र राज्यमा रेलमा आगलागी भएको हल्लाकै कारण १३ जनाको ज्यान गएको छ । मृत्यु भएका मध्ये चार जना नेपाली नागरिक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो घटना पश्चिमी महाराष्ट्रमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् ।

बुधबार (२२ जनवरी) भएको सो घटनाबारे बताइएअनुसार आगलागीको हल्लाका कारण त्रासमा परेका यात्रुहरू भागदौड गरी रेलबाट हाम फालेपछि आउँदै गरेको अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको हो।

भारतको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भनेका छन्, ‘मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र करिब पाँच जनाको उपचार भइरहेको छ ।’ उपचार भइरहेकामध्ये थप दुई जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो ।

भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रुहरू रेलबाट ओर्लिएको’ बताएका छन् । रेलमा आगलागीको अलार्म बजेको कुरा सत्य थियो वा झुटो भन्ने अझै स्पष्ट भएको छैन ।

अत्तलिएर यात्रुहरु ओर्लिंदा विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको जनाइएको छ ।

भारतले अर्थतन्त्र र कनेक्टिभिटी बढाउन ३० अर्ब डलरको रेल पूर्वाधार आधुनिकीकरण सुरु गरेको छ, तर विश्लेषकहरूका अनुसार दुर्घटनाको सङ्ख्या समयको साथ घट्दै जाँदा भारतको पुरानो रेल प्रणालीले अझै धेरै लामो यात्रा गर्न बाँकी छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ । सन् २०२३ मा एउटा यात्रु रेल र स्थिर मालवाहक रेलमा ठोक्किँदा करिब तीन सय जनाको मृत्यु भएको थियो ।