हिन्दु-संस्कृतिका अनुयायीहरूले मुस्लिम, इसाई वा अन्य कुनै पनि धार्मिक समुदायको विरोध गर्दैनन् । हिन्दूहरूलाई ‘सम्प्रदायिक’ भन्नु राजनैतिक नेतृत्वको अपराध हो । यही अपराधपूर्ण वक्तव्यले गर्दा हिन्दूहरूमा ‘असहिष्णुता’ बलियो हुँदैछ । सम्भवतः नेपालका धर्मनिरपेक्ष राजनैतिक नेतृत्वलाई यो कुरा बुझाउन सकिन्न, जब कुरा बुझ्नेछन्- समाज अतिअसहिष्णु भइसकेको हुनेछ ।
✍ डा. गोविन्दशरण उपाध्याय
मनमा पीडा हुन्छ, बौद्धिक वर्गहरूको कर्म अनुसन्धान तथा शिक्षादीक्षामा हुनुपर्छ, तर धर्म, संस्कृति तथा मौलिकताको संरक्षण र सम्वर्द्धनका विषयमा चर्चा गर्नुपर्छ । नेपालमा दुई प्रकारका अतिवादी विचारधाराहरूले जनताको माइन्ड-सेटलाई बडो दोधारमा पुऱ्याएको छ- (१) नेपालको हिन्दू-संस्कृति मौलिक होइन, (२) हिन्दू सनातनीबाहेक सबै नेपालका मौलिक हुन् र ती हिन्दुहरूको संक्रमणमा परेका छन् ।
पहिलो विचारधाराको स्रोत सन् १७४७ मा विलियम जोइनले लेखेको ‘भारतको इतिहास’ हो भने दोस्रो चिन्तनको स्रोत विदेशीले स्थापित गरिदिएको आत्महीनताबोध गराउने मानविकी र समाजशास्त्रीय शिक्षानीति हो । विदेशीहरूले आफ्ना लागि तयार पारेको समाजशास्त्रीय, राजनैतिक, दार्शनिक तथा प्रगतिशीलताका मानकहरू आँखा चिम्लेर नेपाली मानकहरू थोपरिदिँदा उपयुक्त घृणावादी चिन्तनको विकास भएको हो ।
विश्वको कुनै पनि राष्ट्रले आफ्नो ८१.१९ प्रतिशत जनसंख्या विदेशी मूलको भएको परिकल्पनासमेत गर्दैन भने नेपालमा त झन् सन् ३३५ तिर स्थापित भएको चाँगुनारायण मन्दिरको शिलालेखले, विष्णुगुप्तको अर्थशास्त्रले अथर्वपरिशिष्टले नेपालमा वैदिक सनातनीहरू पारापूर्वकालदेखि नै निवास गर्छन् भन्ने प्रमाणित गरिरहेको छ । नाकका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा हिन्दू र गैरहिन्दू भन्ने विभाजनकारी दृष्टिकोण नेपालीको आफ्नो मौलिक होइन । जो-जसले यस्तो विदेशी प्रतिमानलाई प्रमाणिक मान्छन् ती अज्ञानी हुन् अथवा बौद्धिक दास (Enslave) हुन् निर्णय गर्न कठीन छैन ।
यदि नाकका आधारमा, भूगोलका आधारमा, भाषाका आधारमा वा धर्मका आधारमा कसैको मौलिकता (Ingeniousness) निर्धारण हुने हो भने सम्पूर्ण चिनिया, कोरियन, जापानिज नेपालका आदिवासी जनजाति ठहरिने छन् भने बाली, थाइल्याण्ड, इन्डोनेसिया आदिका आँखाचिम्से हिन्दूहरू पनि बुद्धिष्ट नै ठहरिने छन् । अचम्मको कुरा के भने यस्तो प्रगतिशील परिभाषाले मधेशका समुदायलाई नेपालभित्र आदिवासी र गैरहिन्दू भन्छ भने त्यही व्यक्ति भारत, पाकिस्तान वा नर्वेको सीमामा प्रवेश गर्दा साथ ‘आर्य’ ठहरिन्छ । संसारको राजनीतिमा नेपालको जस्तो प्रगतिशील र वैज्ञानिक ज्ञान अरू केही छैन !
यदि नेपाली समाजमा उपर्युक्त अविवेकी विचारप्रति विश्वास फैलिँदो छ भने राजकीय तहमा निर्णयगत त्रुटिका कारणले हो । यसका लागि कुनै धर्म वा व्यक्तिलाई दोष लगाउनुको कुनै औचित्य छैन । राष्ट्रको पहिचान र गौरवको विषय नै उसको मौलिक संस्कृति हो तर नीतिगत भ्रष्टाचारका कारण नेपालको मौलिकता दीर्घकालीन सङ्कटमा परेको छ । कुनै विवेकी मान्छेले मनन गर्न सक्छ कि जुन देशका राजनैतिक शक्ति र बौद्धिक शक्तिहरूले आफ्नै ८१.१९ प्रतिशत नागरिकहरूलाई विदेशी, अत्याचारी तथा आक्रमणकारी भन्दै व्याख्या गर्छ, त्यसको इतिहास कहिलेसम्म सुरक्षित रहला ?
हिन्दू, जैन, बौद्ध, किराती र इसाई जे भए पनि नेपाली नागरिकका रूपमा सबै समान हुन् । सबैको अधिकार समान छ तर ‘अधिकार-संरक्षण’को अधिकार केवल अल्पसंख्यकको हुन्छ, बहुसंख्यकलाई गालीगलौज गर्ने अधिकार अल्पसंख्यकलाई हुन्छ भन्ने वर्तमान भाष्य नेपाल र नेपालीको लागि हितकारी छैन ।
हिन्दू धर्मको रक्षाका लागि भन्दै मुस्लिम, इसाई वा अन्य समुदायका विरुद्ध अनार्हल कुरा गर्नु उचित होइन । यी सबै राज्यले प्रदान गरेको अधिकार र बाटोलाई समातेर आफ्नो काम बडो दक्षतापूर्वक गरिरहेका छन् । इसाई मिसनरीहरू धर्मपरिवर्तन गराउन व्यस्त छन् । एनजिओ/आइएनजीओहरू पोलिसी तहमा प्रभाव पारेर आफ्नो प्रभाव फैलाउँदै छन् र, जुन विदेशी शक्तिलाई नेपालको मौलिकता र समावेशीपनसँग डाहा छ र नेपालमा बसेर नेपालीहरू बीच एकआपसमा घृणावादको बीऊ रोपेर आफ्नो दुनु सोझ्याउन सकिन्छ भने विश्वास छ, उनीहरूले पनि नेपालको कानुनी ब्यवस्थाअनुसार नै काम गरिरहेका छन् । बुद्धिजीवीहरू प्रगतिशीलताको नाममा विदेशीको नक्कली समाजशास्त्र र मानविकीका सिद्धान्तहरू निर्माण गर्दैछन् ।
नेपालका राजनैतिक बुद्धिजीवीहरूको बडो हास्यास्पद पोजिसन छ- बौद्धहरूको पक्षमा कुरा गरेर हिन्दूहरूलाई गालीगलौज गर तर बौद्धहरूलाई सहानुभूति देखाऊ ! यदि केही अतिवादी बौद्धहरूले हिन्दूविरुद्ध गालीगलौज गरे भने त्यो अधिकारको प्रयोग हो, यदि कुनै हिन्दूले त्यसविरुद्ध प्रतिक्रिया दिए भने त्यो आदिवासी जनजातिको अपमान हो ! यदि कुनै मुस्लिम वा इसाईले हिन्दूविरुद्ध विष बमन गरे भने त्यो तिनको अधिकार हो, तर यदि हिन्दूहरूले प्रतिक्रिया दिए भने त्यो हिन्दु–सहिष्णुताको विपरीत हो । नेपालका नागरिकहरूलाई अल्पसंख्यक र बहुसंख्यक कित्तामा छुट्याउने र अल्पसंख्यकहरूलाई बहुसंख्यक हिन्दूविरुद्ध घृणावादमा प्रयोग गर्न प्रेरित गर्नुलाई मोडर्न र प्रगतिशील मान्ने सानो झुण्ड छ ।
नेपालको सम्पूर्ण जनसंख्याको ८१.१९ प्रतिशत जनता हिन्दू छन् । मुस्लिम र इसाईबाहेक नेपालको अन्य जनसंख्या प्राचीन कालदेखि नै एकअर्कासँग घूलमिल भएर नै सहअस्तित्वमा छन् । हिन्दू वा बौद्धसँग नमिल्नेहरू हिन्दू वा किराती होइनन् । धार्मिकताका सवालमा सधैं सहअस्तित्वको विपक्षमा उभिने इसाई र मुस्लिम समुदाय हुन् र यो समुदाय धर्मनिरपेक्ष हुनैसक्दैन । यिनका लागि धर्मनिरपेक्षता नेपालका रैथाने समुदायले सोध्ने प्रश्नको राजनैतिक उत्तरमात्र हो । राजनैतिक वा बौद्धिक दिवालीयापन नै भन्नुपर्छ कि जब नेताहरूले ‘साम्प्रदायिक’ शब्दको प्रयोग गर्छन्, त्यस घृणाको केन्द्र ‘हिन्दू’ समुदाय हुन्छ । मानौं, नेपाली राजनैतिक चिन्तनमा नेपालको लागि सबैभन्दा ठूलो समस्या नै ‘हिन्दू जनसंख्या’ हो । हिन्दु-संस्कृतिका अनुयायीहरूले मुस्लिम, इसाई वा अन्य कुनै पनि धार्मिक समुदायको विरोध गर्दैनन् । हिन्दु समुदायलाई बामपन्थी वा इसाई-मुस्लिमको आँखाले बुझ्नु र हिन्दूहरूलाई ‘सम्प्रदायिक’ भन्नु राजनैतिक नेतृत्वको आपराध हो । यही अपराधपूर्ण वक्तव्यले गर्दा हिन्दूहरूमा ‘असहिष्णुता’ बलियो हुँदैछ ।
सम्भवतः नेपालका धर्मनिरपेक्ष राजनैतिक नेतृत्वलाई यो कुरा बुझाउन सकिन्न । जब कुरा बुझ्नेछन्, समाज अतिअसहिष्णु भइसकेको हुनेछ । राजनैतिक उद्देश्यका लागि जैन, बौद्ध, इसाई वा मुस्लिम समुदायको भोट प्राप्त गर्न हिन्दूलाई दोष दिने ‘चक्र’ले नेपाल र नेपालीको भलो गर्ने छैन । नेताहरूले आफ्नो मौलिकताको दृष्टिकोण र नागरिकप्रतिको राजकीय दायित्व विवेकशील भएर पालन गर्नुपर्छ । यो उपदेश होइन, एउटा नागरिकको विवेकशील अनुभूति हो ।
हिन्दू, जैन, बौद्ध, किराती र इसाई जे भए पनि नेपाली नागरिकका रूपमा सबै समान हुन् । सबैको अधिकार समान छ तर ‘अधिकार-संरक्षण’को अधिकार केवल अल्पसंख्यकको हुन्छ, बहुसंख्यकलाई गालीगलौज गर्ने अधिकार अल्पसंख्यकलाई हुन्छ भन्ने वर्तमान भाष्य नेपाल र नेपालीको लागि हितकारी छैन । सन् २००७ मा भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले ‘यो देशका सम्पूर्ण संसाधनहरूमा मुस्लिमहरूको पहिलो अधिकार हुन्छ’ भन्ने वक्तव्यले भारतीय राजनैतिक कोर्सलाई परिवर्तन गरेको छ ।
यदि सनातनी हिन्दूहरूको माइन्ड-सेट कट्टरपन्थी हुन्थ्यो भने नेपाल र भारतका विविधताहरू आजसम्म जीवित रहने कुनै सम्भावना थिएन । पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया (बाली बाहेक)लाई बुझे पुग्छ । यदि नेपाल विविधताको जीवन्त फूलबारी हो भने यसको श्रेय ८१.१९ प्रतिशत हिन्दू समुदायलाई जान्छ ।
अहिलेसम्म नेपाली समाज र सामाजिक अन्तरघुलन समाप्त भएको छैन । राजनैतिक र विदेशी दलालहरूको अथक प्रयत्नपछि पनि नेपालीहरूको ‘मन’ भाँचिएको छैन । जातीय, धार्मिक, सांस्कृतिक, भाषिक तथा भौगोलिकरूपमा नेपाली जनताको मौलिकता र पहिचानको अभ्यास गर्न पाउनुपर्छ । संविधानले पनि यसको ग्यारेन्टी गरेको छ तर यस्तो अधिकार छिमेकीको अस्तित्व मेटाएर, तिनलाई गालीगलौज गरेर, अपमानित गरेर प्राप्त हुन्छ भन्ने घृणावादी राजनैतिक भाष्यविरुद्ध कसैले बोल्नैपर्छ, लेख्नैपर्छ र सामाजिक प्राक्कथनमा चिन्तन गर्नैपर्छ । हिन्दू वैदिक सनातनीहरूलाई गालीगलौज गरेर, तिनको संस्कृति, सभ्यता, धर्म र परम्पराहरूको अपमान गरेर ‘आदिवासी जनजाति वा बौद्धहरूको पहिचान सुरक्षित हुन्छ’ भन्ने अविवेकी र घृणापूर्ण माइन्ड-सेट निर्माण गर्नेहरूविरुद्ध कठोरतापूर्वक उभिनुपर्छ । उदाहरणका लागि कुनै पनि हिन्दुलाई किरात राज्य, तमुराज्य, थरुहट जस्ता राजनीतिक मागहरूसँग कुनै समस्या हुँदैन तर ‘थरुहट वा ताम्सालिङ’का बाधकको रूपमा हिन्दूसमुदायलाई गालीगलौज गर्ने अनि चरम जातिवादी र कट्टरपन्थी विचार बोकेकाहरूलाई आफ्नो सहयोगी ठान्नेहरू साँच्चिकै नेपालका असली शत्रु हुन् । राजनैतिक रूपमा यस्तो घृणावादी चिन्तन को-कसले बोकेर हिँडिरहेका छन्, सजिलै बुझ्न सकिन्छ ।
यदि सनातनी हिन्दूहरूको माइन्ड-सेट कट्टरपन्थी हुन्थ्यो भने नेपाल र भारतका विविधताहरू आजसम्म जीवित रहने कुनै सम्भावना थिएन । पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया (बाली बाहेक)लाई बुझे पुग्छ । यदि नेपाल विविधताको जीवन्त फूलबारी हो भने यसको श्रेय ८१.१९ प्रतिशत हिन्दू समुदायलाई जान्छ । पङ्क्तिकारलाई थाहा छ, घृणावादी माइन्ड-सेटले उपर्युक्त ऐतिहासिक सत्यलाई स्वीकार्न सक्दैन किनभने घृणावादमा विभाजन नै अधिकारको प्राप्ति हो, रक्तपात नै राष्ट्रियता हो । हिन्दूहरूलाई दोषी देख्ने घृणावादीहरूले एकपटक आफ्नो माइन्ड-सेटको पुनरावलोकन गर्नुपर्छ कि समाज किन मुस्लिम वा इसाईको जस्तो एकलकाँटे जीवनशैलीप्रति आकर्षित हुँदैछ र, बहुसंख्यक हिन्दू किन पहिचानको निरन्तरता र रक्षाको पक्षमा उभिँदै छ ?
जवाफ प्रष्ट छ- नेपाली राजनैतिक नेतृत्वको अविवेकी दृष्टिकोणका कारण नेपालका सबै मौलिक संस्कृतिहरू धरापमा परेका छन् तर इतिहासमा सधैं असहिष्णु सावित भएकाहरू मौलाएका छन् । यस्तो सत्य देख्दादेख्दै भोग्दाभोग्दै एउटा विवेकशील व्यक्ति चूप रहनु अपराध हो । यो चिन्तन नेपालको मौलिकता संरक्षणको गुहार हो । यो गुहार कुनै धर्म, संस्कृति, समुदाय, भाषा वा नागरिकविरुद्ध होइन अपितु ८१,१९ प्रतिशत नेपाली जनसंख्याको आत्मसम्मान र पहिचानको रक्षाका लागि हो र विभाजनकारी, घृणावादी माइन्ड-सेटविरुद्ध जागरुकता र विवेकशील दृष्टिकोण विकास गर्नका लागि हो ।
प्रतिक्रिया