चार इजरायली बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई

चार इजरायली बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई


प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रमअन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।

बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेष्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको एएफपीले जनाएको छ ।

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।

कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।

गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिएको प्यालेस्टिनी स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।