महोत्तरीको पाटु रातमाटा क्षेत्रमा हतियार कारखानाबारे थप अन्वेषण सुरु

महोत्तरीको पाटु रातमाटा क्षेत्रमा हतियार कारखानाबारे थप अन्वेषण सुरु


महोत्तरीको बर्दिबास-३ पाटु रातमाटा क्षेत्रमा तत्कालीन समयमा हतियार कारखाना रहे/नरहेको बारेमा पुरातत्व विभागले अन्वेषण सुरुआत गरेको छ । यसका लागि विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको तीन सदस्यीय विज्ञटोली बर्दिबास पुगेको छ ।

‘हामीले हतियार कारखानास्थलको अध्ययन र प्रारम्भिक खोज अन्वेषण थालेका छौँ, यसअघिका हालसम्म प्राप्त अध्ययनको निष्कर्षबाट यो ठाउँ पुरातात्विक महत्वको स्थल हो’, पुरातत्वविद ज्ञवालीले भनेका छन् ।

अहिलेको बिपी राजमार्ग (बर्दिबास-बनेपा राजमार्ग)को बर्दिबास-३ पाटुमा यो ठाउँ दुई दशकअघि जर्मन अन्वेषक गुडन कार्विन्सले पत्ता लगाएका हुन् । उनकै अध्ययन तथा खोज अन्वेषणको प्रतिवेदनका आधारमा अबका खोजीकार्य अघि बढ्ने विज्ञटोलीले जनाएको छ ।

अहिलेको बर्दिबासचोकबाट चार किलोमिटर उत्तर राजमार्गबाट पश्चिमपट्टि यो कारखानाले निकै ठाउँ ओगटेको प्रारम्भिक अध्ययनले देखाएको छ । कारखानास्थलमा निकै पुराना गारोका अवशेषजस्ता ठाउँ भेटिएको जनाइएको छ ।

पछिल्लो समयमा करिब सात दशकअघि यो ठाउँ नजिक वन फडानी गरी बसोबास थालिएको हो । विज्ञटोलीले यसअघि सात हजार वर्ष पहिलेसम्म यहाँ आसपास मानव बस्ती रहेका अवशेष पाइएको जनाएको छ । पाषाण युगकालीन हतियार कारखानास्थल आसपासमा अहिले पाटु, भब्सी, रातमाटा र राइमण्डलसहितका बस्ती छन् । कतिपय घरबस्ती र संरचनाले यो पुरातात्विक महत्वको ठाउँ चर्चेको प्रारम्भिक अध्ययनले देखाएको विज्ञ ज्ञवालीको भनाइ छ । ‘अब यसबारे गहन अध्ययन गरिन्छ, यो ठाउँको संरक्षण, संवर्द्धन, अध्ययन तथा अनुसन्धानबारे सरकारले औपचारिक रूपमै बजेटमा यसपालि पहिलोपटक सम्बोधन गरेको छ’, उनले बताएका छन् ।

यहाँ सात हजार वर्ष पहिलेसम्म मानव बस्ती रहेको भए पनि हतियार कारखाना भने त्योभन्दा निकैअघिको रहेको हुनसक्ने विज्ञटोलीको कथन छ । कारखाना सञ्चालन त करिब ३० हजार वर्ष पहिलेको हुनसक्ने उल्लेख गर्दै ज्ञवाली भन्छन्, ‘धेरै कुरा अबका थप अध्ययनले देखाउने छन्, प्रारम्भिक काम थालिएको छ, यो अध्ययनले यहाँको निकै पुरानो मानव सभ्यताबारे अध्ययनको ढोका पनि खोल्नेछ ।’

रातु नदीको पश्चिमतिरको यो ठाउँको निकै पुरानो मानव सभ्यताको अध्ययन हुने ज्ञवालीको भनाइ छ ।

‘सरकारले यस ठाउँबारे चासो बढाएछ, अब हाम्रो ठाउँको विकास सम्भावनाबारे आश बढेको छ, यसले हामीलाई उत्साही बनाएको छ’, पाटुका बासिन्दा तथा माध्यमिक तहका शिक्षक दीपकराज बराल भन्छन् ।

हतियार कारखानास्थलबारे पुरातत्व विभागले औपचारिक रूपमै काम थालेपछि अब यहाँका प्राचीन महत्वका ठाउँबारे क्रमशः अध्ययन हुँदै जाने बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री बताउँछन् । सबै पक्षको अध्ययन तथा अन्वेषण हुनसके रातु नदी किनारको प्राचीन सभ्यताबारे थप जानकारी बढ्दै जाने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्काको भनाइ छ ।