लामिछानेबाट एक करोड धरौटी लिन रुपन्देही जिल्ला अदालतदको आदेश

लामिछानेबाट एक करोड धरौटी लिन रुपन्देही जिल्ला अदालतदको आदेश


सहकारीको रकम अपचलन तथा ठगीको अभियोगमा मुद्दा खेपिरहेका रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर थुनाबाहिरै राखी मुद्दा अघि बढाउन आदेश दिएको छ । सो अदालतका तहसिलदार कुमार खतिवडाका अनुसार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासद्वार एक करोड धरौटी लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश भएको हो ।

यसअघि कास्की र काठमाडौं जिल्ला अदालतले लामिछानेलाई क्रमशः ६० र ६५ लाख रुपैयाँ धरौटी लिएर थुनाबाहिरै रही मुद्दा लड्ने सुविधा दिएको थियो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा गतसाता बुधबार लामिछानेको बयान लिइ बिहीबारदेखि थुनछेक बहस शुरु गरिएको थियो ।

धरौटी लिएर छाड्न आदेश दिए पनि लामिछानेले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा सफाइ पाएका छैनन् । उक्त मुद्दा अदालतमा विचाराधीन नै छ ।

यसैक्रममा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पनि यसै साताभित्र लामिछानेविरुद्ध सहकारीको रकम ठगी मामलामा मुद्दा दर्ता गरिने जनाएको छ। उता जिल्ला सरकारी वकिलको कार्यालय पर्साले भने अनुसन्धान जारी रहेको भन्दै मुद्दा दर्तामा केही समय लाग्ने जानकारी दिएको छ ।