डेनमार्कमा ‘विश्वासमाथि उभिएर’को विमोचन

डेनमार्कमा ‘विश्वासमाथि उभिएर’को विमोचन


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्कले राजधानी कोपनहेगनमा कवि सुदर्शन पोखरेलको कविता संग्रह ‘विश्वासमाथि उभिएर’को विमोचन गरिएको छ । प्रमुख अतिथि नेपाली दूतावासकी कार्यवाहक राजदूत सावित्रा वलीले संग्रहको विमोचन गर्दै परदेशमा नेपाली भाषामा पुस्तकहरु लेखिएर पठन संस्कृति अभ्यास हुनु सह्रानीय कुरा भएको बताउनुभयो । कार्यवाहक राजदूत वलीले भाषा र साहित्यको सेवा निरन्तर भए मात्र यसले हाम्रो पहिचानलाई स्थापित गरिराख्ने बताउनुभयो ।

विमोचित पुस्तकको बारेमा टिप्पणी गर्दै कवि प्रकाश सापकोटाले यस पुस्तक संग्रहमा संकलित कविताहरुमा गहनता, विचार, पौराणिक ज्ञान र विज्ञानसमेतको मिश्रणले भरिपूर्ण भएको बताउनुभयो । भर्चुअल माध्यमबाट वरिष्ठ साहित्यकार–नियात्राकार युवराज नयाँघरे र धर्मेन्द्र तिमिल्सिनाले कृति र कृतिकारलाई शुभेच्छा प्रदान गर्नुभएको थियो । कविता संग्रहका कवि सुदर्शन पोखरेल आफ्नो पहिलो कृति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताउनुभयो । वहाँले आफ्ना गद्य र पद्य कविताहरु पनि वाचन गर्नुभएको थियो ।

सोही दिनको अर्को सत्रमा पहिलो साधारण सभा सम्पन्न गरेको छ । सभाले अन्य विविध कार्यक्रमहरु पनि सम्पन्न गरेको छ ।

च्याप्टरका वरिष्ठ उपाध्यक्ष रमेश घिमिरेले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै आफ्नो रचना सुनाउनुभएको थियो । डेनमार्क च्याप्टरका उपाध्यक्ष प्रदीप पाण्डेले कोषाध्यक्ष अनुजा गौतमले प्रेषण गर्नुभएको आर्थिक प्रतिवेदन पढेर सुनाउनुभएको थियो । कोषाध्यक्ष गौतम स्थानान्तरण हुनु परेकोले शनिवारकै मितिदेखि सो पदमा नरहने भएपछि वार्षिक साधारणसभाबाट च्याप्टरका सदस्य अजित देवकोटालाई कोषाध्यक्षको नयाँ जिम्मेवारी प्रदान गरिएको हो । प्रतिवेदनसँगै पाण्डले आफ्नो रचना सुनाउनुभएको थियो ।

अनेसासका आजीवन सदस्य एवं एनआरएन डेनमार्कका निवर्तमान अध्यक्ष शैलु अधिकारीले साहित्यमा हुने यस्तै प्रयासले भाषा र साहित्यको संरक्षण भइरहने औंल्याउनुभयो । अधिकारीले आफ्ना रचनाहरु पनि सुनाउनुभएको थियो । त्यस्तै कार्यक्रममा डेनमार्क निवासी लेखक स्रष्टा कृष्ण पौडेले आफ्ना रचना सुनाउनुभएको थियो ।

कार्यक्रमका अतिथि एनआरएनए डेनमार्कका अध्यक्ष कम्मलराज शर्माले साहित्यलाई अझ संरक्षणको खाँचो र अध्ययन संस्कृति बढाउनुपर्ने बताउनुभयो ।

च्याप्टरका अध्यक्ष पूर्ण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन च्याप्टरकी महासचिव विमला शर्मा (विद्या) ले गर्नुभएको थियो । कार्यक्रममा डेनमार्कस्थित संघसंस्था, प्रतिनिधि र साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो । डेनमार्क च्याप्टरको इतिहासमा यो पहिलो साधारणसभा रहेको संस्थाका प्रतिनिधिले बताउनुभएको छ ।