अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश

अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश


राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गरेका छन् ।

६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरूबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को-पुस्ताको क्षेप्यास्त्र सुरक्षा कवच (नेक्स्ट-जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’ को कार्यान्वयन योजना पेश गर्न ट्रम्पले रक्षामन्त्रीलाई आदेश दिएका हुन् । यसमा अन्तरिक्ष-आधारित अवरोधकहरूको विकास पनि समावेश छ ।

सन् २०२४ को चुनावी अभियानमा राष्ट्रपति ट्रम्पले बारम्बार अमेरिकाका लागि इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गरेका थिए ।

तथापि, ट्रम्पले यो प्रणाली छोटो दूरीका खतराहरूको लागि डिजाइन गरिएको तथ्यलाई बेवास्ता गरे, जसले संयुक्त राज्य अमेरिकाका लागि मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रहरूविरुद्ध यसलाई अनुपयुक्त बनाउँछ ।

‘विगत ४० वर्षमा कम हुनुको सट्टा अर्को पुस्ताको रणनीतिक हतियारहरूबाट खतरा अझ तीव्र र जटिल भएको छ’, सोमबारको कार्यकारी आदेशले अज्ञात विरोधीहरूको मिसाइल प्रक्षेपण क्षमताको विकासलाई उद्धृत गर्दै भनिएको छ ।

ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको रिट्रिटमा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताएका थिए ।

इजरायलले अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धमा गाजाको हमास र लेबनानको हिजबुल्लाले प्रहार गरेका रकेटहरू खसाल्न आफ्नो ‘आइरन डोम’ प्रणाली प्रयोग गरेको छ । ‘उनीहरूले लगभग हरेक रकेटलाई खसाल्छन्’, ट्रम्पले मायामी बैठकमा भने, ‘त्यसैले मलाई लाग्छ संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ ।’

उनले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अन्य केही आदेशहरूमा पनि हस्ताक्षर गरेका छन् । यसमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ ।