भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार (१६ माघ) बताएका छन् ।
अथाह भक्तजनहरूको भीड हुने कुम्भ मेलामा एकाबिहानै भएको यो घटनालाई यसप्रकारका जमघटमा हुनेगरेका घटनाको दुःखद पुनरावृत्ति मानिएको छ ।
६हप्ते यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो मिलनबिन्दु हो र बुधबार पवित्र स्नानको दिनमा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरिएको थियो ।
‘अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरूको उपचार भइरहेको छ’, मिडियासँग बोल्न अधिकार नभएको बताउँदै नाम नखुलाइएका उत्सवस्थलका चिकित्सकले बताए ।
उद्धार टोलीहरूले तीर्थयात्रीहरूसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानहरूले भरिएको स्थलबाट पीडितहरूलाई बोकेर लैजाँदै गरेको देखिएको थियो । प्रहरी अधिकारीहरूले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो ।
दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए ।
बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरूमध्ये एक हो । उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप-मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो । तर यसको सट्टा अधिकारीहरूले तीर्थयात्रीहरूलाई जलमार्गबाट टाढा रहन आग्रह गर्दै लाउडस्पिकर लिएर उत्सव स्थलमा घुमिरहेका थिए ।
‘हामी सबै भक्तजनलाई मुख्य स्नान स्थलमा नआउन विनम्र अनुरोध गर्दछौँ’, एक उत्सव कर्मचारीले आफ्नो मेगाफोनबाट आवाजमा भने, ‘कृपया सुरक्षाकर्मीहरूसँग सहकार्य गर्नुहोस् ।’
स्थानीय सरकारी अधिकारी आकांक्षा राणाले पिटिआई समाचार एजेन्सीलाई केही भीड नियन्त्रण अवरोधहरू ढलेपछि भागदौड सुरु भएको जानकारी दिइन् ।
‘अचानक भीडले धक्का दिन थाल्यो र धेरै मानिसहरू कुल्चिए’, तीर्थयात्री मालती पाण्डेले आफू नदीमा नुहाउन ब्यारिकेड गरिएको पैदल मार्गबाट जाँदै गर्दा भागदौड सुरु भएको बताइन् ।
घातक भीड दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष उत्सवस्थल र फराकिलो शिविरतर्फ जाने सडकहरूमा सयौँ क्यामेरा जडान गरेको छ । ती पोल र ड्रोनहरूमा जडित छन् । निगरानी नेटवर्कलाई एक परिष्कृत कमाण्ड एन्ड कन्ट्रोल सेन्टरमा जोडिएको छ जसले भीडको केही भाग यति सघन भएमा सुरक्षाको खतरा हुनसक्ने सम्बन्धमा कर्मचारीहरूलाई सचेत गराउँछ ।
ज्ञातव्य छ, सन् १९५४ मा कुम्भ मेलाको एकैदिन कुल्चिएर वा डुबेर चार सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो विश्वव्यापी रूपमा भीड–सम्बन्धित विपत्तिमा सबैभन्दा ठूलो मृत्यु सङ्ख्यामध्ये एक हो ।
उत्तरी शहर प्रयागराजमा अन्तिम पटक सन् २०१३ मा आयोजित उत्सवमा अन्य ३६ जनाको कुल्चिएर मृत्यु भएका थियो ।
प्रतिक्रिया