नेवारी खानाको परिकार धादिङ लोक सांस्कृतिक महोत्सवको आकर्षणका रूपमा परिचित बनेको छ । समयबजी, नेवारी खाजा सेट, छोइला, भुटन, योमरी, सपुमिचा, बारालगायत विभिन्न स्वादका परिकारले महोत्सवमा पुगेका सबैको ध्यान आकर्षित गराएको हो ।
महोत्सवको मञ्च नजिकै झिङ्गु नेवाः समाज धादिङले सञ्चालन गरिरहेको नेवारी खाजा स्टलमा नेवारी स्वाद चाख्ने र ‘वासा’मा रम्नेहरूको घुइँचो देखिन्छ । स्टलमा खटिएर स्वाद चखाउँदै गर्नुभएका हरिकुमार श्रेष्ठले भने, ‘यहाँ आइपुग्नुहुने सबैले नेवारी खानेकुरा चाखौँ न भन्नुहुन्छ, व्यापार सोचेभन्दा धेरै नै राम्रो छ ।’ महोत्सवमा अन्य खाजाका परिकार खुवाउने स्टल भए पनि मौलिक स्वाद लिन खोज्ने ग्राहक नेवारी खाजा स्टलमा आइपुग्ने गरेका उनको भनाइ छ ।
एकपटक स्वाद चाखेर फर्किएका अर्को पटक परिवारलाई लिएर आउने गरेका झिँगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । नेवारी परिकार अन्य खाना, खाजाको भन्दा फरक स्वाद हुने भएकाले पनि अवलोकनमा आइपुग्नेको रोजाइमा परेको उनको भनाइ छ ।
‘नेवारी परिकार धादिङका बजारमा सहजै नपाइने र पाइए पनि नाम मात्रैका हुन्थये’, गल्छी गाउँपालिका-८ बाट महोत्सव अवलोकनमा आएका कान्छोनारायण श्रेष्ठले भने, ‘यहाँ आउँदा अर्गानिक नेवारी परिकारका स्वाद खान पाइयो ।’
सुरुका दिनमा खासै चहलपहल नभए पनि दोस्रो तेस्रो दिनदेखि भ्याइनभ्याइ भएको व्यापारी श्रेष्ठले बताए । उनले भने, ‘यहाँ आउने ग्राहकले अन्य परिकारको तुलनामा यमरी सबैभन्दा बढी मन पराइदिनुभएको छ ।’ हेर्दा ममः जस्तै लाग्ने तथा ममः पकाउने भाँडोमा उसिनेर तयार पारिने योमरी बनाउन निक्कै समय खर्चिनुपर्ने उनको भनाइ छ ।
सयौँ वर्षदेखि योमरी पुन्हीका दिन नेवार समुदायले योमरी बनाई खाने प्रचलन भए पनि विस्तारै बजारमा योमरी बनाइ बेच्ने चलन आएपछि अरु समुदायको पनि यो परिकारप्रति आकर्षण बढेको हो । अध्यक्ष श्रेष्ठका अनुसार दैनिक रु ७० हजारदेखि ८० हजारसम्म कारोबार हुने गरेको छ ।
नेवारी खाजाको प्रचारप्रसारका लागि महोत्सवमा स्टल राखिएको र यसबाट भएको केही आम्दानी समाजको कोषमा राखिने समाजका अध्यक्ष श्रेष्ठले बताए । नेवारी खाजा सदरमुकामवासीका लागि नयाँ परिकार नभए पनि जिल्लाका गाउँबस्तीबाट आएकाको लागि भने नौलो खाजा बन्न पुगेको छ ।
‘पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । केही समय अगाडि सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय गजुरीले नेवारी परिकार बनाउने तालिम उपलब्ध गराएपछि सदरमुकाम धादिङबेँसीमा नेवारी खानाको परिकारको लोकप्रियता अझ बढेको हो’, उनले भने ।
गत मङ्सिर २९ र ३० गते धादिङबेँसीमा झिगु नेवाः समाजले प्रथम धादिङबेँसी सडक नेवा खाना उत्सव आयोजना गरेर सदरमुकामवासीलाई नेवारी खानाको स्वाद चखाएको थियो ।
photo: rss
प्रतिक्रिया