अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमानअमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी हेलिकप्टरमा तीन जना रहेका थिए ।
बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको थियो । स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्टनजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ ।
आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ‘अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्निनियन्त्रक जोन डोनेलीले बताएका छन् । करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाइ भइरहेको उनको भनाइ छ ।
अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् ।
हेलिकप्टरमा कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन्, ‘रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु । अवस्थाको अनुगमन भइरहेको छ । मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरुन् ।’
प्रतिक्रिया