उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलद्वारा स्मार्टसिटी एवं अस्पताल भवन निर्माण क्षेत्रको अवलोकन
भक्तपुरको चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको स्मार्टसिटी क्षेत्र तथा शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रको अस्पताल भवन निर्माण क्षेत्रको उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले अनुगमन गरेको छ ।
उपप्रधानमन्त्रीद्वय सिंह र पौडेलसहित पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, पूर्वसचिव मणिराम गेलाल, काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका पौडेल, प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेलसहितको टोलीले चाँगुनारायणमा निर्माण हुने स्मार्टसिटीदेखि अस्पताल भवन र मनहरा खोलाको करिडोर निर्माण क्षेत्रको अवलोकन गरेका हुन् ।
अनुगमन टोलीलाई लाई चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले स्मार्टसिटी र अस्पताल निर्माण क्षेत्रबारे जानकारी गराएका छन् ।
सो अवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रलाई सरकारले चानपा-३ झौखेलमा पाँच वर्ष अगाडि दिएको ३५ रोपनी जग्गामा अस्पताल भवन निर्माण गर्न सहजीकरण गरिदिन आग्रह गरेको जानकारी दिँदै भने, “शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रलाई नगरपालिकाको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्ले अस्पताल भवन निर्माणका लागि जग्गा दिएको छ, तर अस्पतालले भवन निर्माण गरिरहेको छैन । गत वर्ष पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि आएको बजेट फ्रिज भयो, भवन निर्माणका लागि सरकारकोतर्फबाट पहल गरिदिनुपऱ्यो ।’
नगर प्रमुख खत्रीले मानव अङ्ग अस्पतालका लागि एक सयदेखि एक सय ५० रोपनी जग्गा माग गरिरहेको भन्दै पहिलो चरणमा सरकारले दिएको जग्गामा भवन निर्माण गरेपछि नपुग भएर नगरपालिकाभित्रै अन्य जग्गा दिन नगरपालिका तयार रहेको बताए । उनले गत वर्ष अस्पताल भवनको विस्तृत परियोजना प्रतिवेदन निर्माण लागि रु एक करोड र सिमाङ्कनलगायत लागि आएको रु २८ लाख गरी कूल एक करोड २८ लाख बजेट फ्रिज भएको जानकारी दिए ।
यस्तै, वडाध्यक्ष श्यामसुन्दर धिमालले भक्तपुर ब्यासीबाट अस्पताल भवन निर्माण क्षेत्रसम्म आउन तीन किलोमिटरको दूरी रहेको र यहाँ आइपुग्ने बाटो १२ मिटर चौडाको फराकिलो भएको उल्लेख गर्दै अनुगमन टोलीसँग भने, ‘विसं २०७७ मा स्वास्थ्य मन्त्रालयदेखि अर्थ मन्त्रालय, भौतिक पूर्वधार मन्त्रालय, अस्पतालका कार्यकारी निर्देशक र प्राविधिकसहितको टोलीले उक्त जग्गाको अनुगमन एवं निरीक्षण गरेर अस्पताल भवन बनाउन उपयुक्त ठहर गरेपछि सरकारले अस्पतालका नाममा जग्गा दिएको हो । बजेट पनि विनियोजन भएको हो तर अस्पताल बनाउने सुरसार छैन । अस्पताल बनाउन आवश्यक पहल गरिदिनुपऱ्यो ।’
उप्रधानमन्त्रीद्वय सिंह र पौडेलले अस्पताल भवन निर्माणका लागि अस्पताल प्रशासनसँग आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । उपप्रधानमन्त्रीद्वयले चाँगुनारायणमा बन्ने स्मार्टसिटीको क्षेत्रको अवलोकन गरे भने नगरप्रमुख खत्रीले जनताको जग्गा धरै वर्षदेखि रोक्का रहेको अवगत गराउँदै स्मार्टसिटीको काम अगाडि बढाउन वा खारेज गर्न आग्रह गरे ।
प्रतिक्रिया