नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको विकासमा योगदान दिने अन्तर्राष्ट्रिय निकाय तथा दातृराष्ट्रको सहयोग अपरिहार्य रहेको बताएका छन् ।
मधेस प्रदेशसभाको सातौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार (१८ माघ) जनकपुरधाममा आयोजित अन्तरक्रियामा उनले विश्वको भू-राजनीतिकको प्रभाव नेपालजस्तो राष्ट्रमा पर्नु स्वाभाविक भएको बताए । उनले नेपालको कूल आम्दानीले साधारण खर्च गर्नमात्र पुग्ने भएकाले विकासको काम गर्न विदेशी अनुदान, विदेशी सहयोग तथा ऋण लिनुपर्ने नेपालको बाध्यता भएको धारणा राखे । नेपालको व्यापार घाटा कम गर्न विद्युत् ऊर्जाको विकास तथा भारतमा निर्यातसम्बन्धी सम्झौता महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।
मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रियामा प्रदेशको आर्थिक विकासका लागि मार्गप्रशस्त गर्नुका साथै सङ्घको ध्यानाकर्षण गर्नमा मद्दत पुग्ने धारणा राखे भने अर्थविद् प्राध्यापक डा. भोगेन्द्र झाले नेपालमा अर्थ राजनीतिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रदेश तथा देशको समृद्धि र विकासका लागि अर्थ राजनीतिक सन्तुलित रूपमा हुन आवश्यक भएको बताए ।
file photo
प्रतिक्रिया