जिमाहा 

जिमाहा 


जनता/राष्ट्रको परिवर्तनार्थ चिन्तित लघुलेख कसैप्रति लक्ष्यित छैन; दुराग्रह पाल्दैन; बस्… पर्दा भित्र/बाहिरका कुरुपता उधिनेको मात्र हो । जनता/राष्ट्रप्रति समर्पित छ यो । भनाइहरू दोहोरिएका तेहरिएका हुन सक्लान् – मूल उद्देश्य भन्या जनतालाई अर्चाप्नु हो । मिठो लेखे धेरै लाइक तितो लेखे थोरै लाइक – लघुलेखको नियति ।

मान्छेको जुनी पाएको छ, मोक्ष प्राप्तिको अत्तोपत्तो छैन । अपराधकर्मको दलदलमा फस्दो । दुर्व्यसनीले दुर्व्यसन नछोड्दो । दुर्व्यसन त्याग्न त मनोबल चाहिन्छ नि ! आध्यात्मिक साधकहरू मोहपास फाड्दा छन् । यहाँ भने नानावली गुड्डी हाँकेर बस्दो छ – अनुत्पादक  मनुवा । प्रवेशिका फेलको हाँकोडाँको ठुलो , विद्यावारिधि चुपचाप ।

नानाथरीका चटकीहरू आउँछन्, जान्छन् । तिनका घोषणापत्र निकम्मा । पुरानाले आफू विस्थापित होइन्छ कि को त्रासले नयाँलाई अचेटेर भित्तोमा पुऱ्याउँदो । परदेशमा धन थुप्र्याउँदो ; हनुमान/दशपुस्ते पोस्दो र भोट किन्दो । संसदीय परिपाटीको पतन नातावाद, कृपावाद, परिवारवाद, कार्यकर्तावाद र भ्रष्टाचारवादले गर्दो । सुनुवाइ समितिले तीनोटा काको स्वायत्तता छिन्दो; भ्रष्ट तुल्याउँदो र आज्ञीय साङ्लो खुस्काउँदो ।

निष्ठाको राजनीति ‘लाजनीति, भाँडनीति र गुण्डानीति’मा रुपान्तरित । संसदीय व्यवस्था त नवसामन्ती उत्पादन गर्ने कारखाना नै रहेछ नि ! पञ्चराजमा दमनको प्रतिरोध गर्नुपर्छ भन्ने दहीच्युरेहरू आफू शासक भएसि जनताको दमन गर्दा ।

गणतान्त्रिक संविधानको वाक्स्वतन्त्रता सन्देहास्पद । लबस्तराहरूलाई भ्रष्टाकम पचाउन हजमोला नचाहिने नि । यिनीहरूले आफ्नो स्वार्थ हितार्थ के के मात्र गरेनन्, के-के मात्र बोलेनन् (जनता झुक्याउन) ।

पितापुर्खाको खुनपसिनाले उपनिवेश हुन नदिएको मुलुकले भोलिका दिनहरूमा आफ्नो कलेजारुपी तराई/हिमाल भारत र चीनलाई सुम्पिनु परेछ भने नि अचम्म नमाने हुन्छ । खोक्रो । आफ्नो भन्ने केही रहेन । विदेशीको दाइँबरादो । स्वाधीनता कति प्यारो हुन्छ भन्ने ट्रेटरलाई के थाहा ? नहुषहरूले राज्य सञ्चालन गर्ने भएसि सुशासनको के आशा गर्ने र ?

समाजको उँभो फाल होस् भन्यो उँधो फाल मात्रै । मनुष्यको मानसिक/व्यावहारिक परिवर्तन नहुञ्जेल केही होला जस्तो लाग्दैन । यहींको मनुवा हो; परदेश जाँदा  Do in Rome as Romans do गर्छ यहाँ आएसि आफ्नो पारा छोड्दैन । बर्मा गयो कर्मसँगै नेपाल आयो कपालसँगै । आफू ठिक अर्को बेठिक; आफू बेठिक अर्को ठिक भन्ने सोच सच्याउनुपरो । थाहा  नहुने को पो छ र ? बुझ पचाएसि कसको के लाग्छ र ? पाप-धर्म, सुशासन -कुशासन, सदाचार – भ्रष्टाचार सबै थाहा। यथास्थिति सोच भएसि छलाङ कसरी मार्न सकिन्छ र ?

नश्लिक/पारिवारिक/सांस्कृतिक विचलनले समाजमा बिख घोल्दो छ । नचाहिंदो कुराको अन्धानुकरण गरयो, बस्यो । आफ्नो भाषा आफ्नो भेष कहिले पो फर्केला ? कर्मशाली क्रान्तिकारीको अपरिहार्यता – आजको आवश्यकता । व्यवस्था जनतामैत्री नभएसि तन्नेरी पुस्ता परदेशियो , अब कसले पो थाम्ने हो ? आप्रवासीको नि आफ्नै पीडा/व्यथा छ । डोनाल्ड ट्रम जस्तो शासक सर्वत्र भए तेल भिजेको औलादले के सुख पाउँलान् र ?

जीवनमा उत्कृष्ट मान्छे मात्र कहाँ भेटिंदो रहेछ र ? उँटपट्याँस निकृष्ट मनुवा छ्यासछ्यासती । प्रगति गर्नुस् शत्रु कमाउनुस्  । हाम्रो सामाजिक संरचना अपूर्वको – हात नदिने गोडा तान्ने । यसैले त मुलुक हजारौं वर्ष पिछडिदो । ख्वै ! के गुनासो गर्नु र ?

दुर्जन -दुर्जनसित, सज्जन – सज्जनसित, मुर्ख – मुर्खसित, विद्वान – विद्वानसित र बाह्रमासे – बाह्रमासेसित संगत गर्दो, संगाती बनाउँदो ।

मन राख्ने ठाउँ रहेन । अस्तव्यस्त ध्वस्त । जन्मभूमिको माया बिछट्ट लाग्दो । परदेशी मृत्युशैय्यामा जन्मथलोको याद आउँदो ।

स्रष्टालाई बाँचुञ्जेल अवहेलना गर्दो, मरेसि गोहीको आँसु बगाउँदो । यस्तो प्रवृत्ति निर्मुल्याउनुपर्ने । दूषित मनुष्य दूषित सोच – रुपान्तरणको गुञ्जायस देखिन्न । धिक्कार छ जिन्दगी ?!

नयाँ बोतल फेर्दैमा केही हुन्न । पुरानो रक्सी मिल्काउनु पर्छ । नत्र त पुरानो रक्सी नयाँ बोतलमा भरिएर आइहाल्छ नि । आखिर ताल उही ।

बौद्धिकता थोपो छैन, खोलले भलादमी देखिंदो । उदेकलाग्दो ठाउँ, उदेकलाग्दा मनुवाहरू । विवेकशून्य भीडको पछुवा । भ्रष्टमुक्त समाज कहिले पो देख्न पाइएला । जति डोरी बाँटे नि गाँठो एउटै । बाउसे सकियो, आजलाई मैजारो । अस्तु ।