‘प्राविधिक विषयको उच्च शिक्षा मातृभाषामै हुने हो भने शैक्षिक पलायन रोकिने छ’
अंग्रेजी स्कुलको बाढी चलेको छ । अंग्रेजी किताबको गह्रौँ भारी बोकाएर बालबालिकालाई हामी तिनै स्कुलमा पठाइरहेका छौँ । अंग्रेजी हावाले हाम्रा भावी पिँढी समाप्त पार्दैछ । यो कुरामा हामी नेपाली हौँ भन्ने नेता, कार्यकर्ता र नीति–निर्माताहरूलाई लाज लाग्नुपर्ने हो । हामीलाई पनि लाज लाग्नुपर्ने हो ।
✍ डिल्ली अम्माई
सबै भाषा हृदय वा आत्माका भाषा हुँदैनन्, मातृभाषा मात्र सबैभन्दा आत्मिय र हृदयभित्रको भाषा हुन्छ । पङ्क्तिकारको सन्दर्भमा भन्नुपर्दा हिन्दी, उर्दु, अंग्रेजी र डच पनि मेरो कामकाजी भाषा भएकाले प्रिय छन् । काममा मैले डच बोल्नुपर्छ । कुनै अनुसन्धानमुलक लेख, दार्शनिक विचार वा सुन्दर कथा पढ्दा अंग्रेजी र हिन्दी भाषाको सहारा लिनुपर्छ । त्यसैले ती भाषा मेरालागि प्रिय छन् । नेपालमा विभिन्न समुदायले बोल्ने मातृभाषा मातृभूमिका अंश वा राष्ट्रियताका हिस्सा भएकोले प्रिय छन् । मैले कुनै एक भाषालाई माय गरेर अरु भाषालाई घृणा गर्दिनँ । त्यसो कसैले पनि गर्नु हुँदैन भन्ने लाग्छ ।
मेरो आत्माको भाषा त नेपाली नै हो, किनकि मेरो बोली नेपालीमै फुट्यो । त्यही भाषाले संसार चिनायो र ज्ञानको विशाल आकाश देखाइदियो । यति भन्न मलाई कुनै सङ्कोच छैन । मलाई ज्ञान-विज्ञान र परिचयको क्षेत्रमा जन्माउने र हुर्काउने नेपाली भाषा मेरी आमाजस्तै आत्मीय छ । आमाको सवालमा न कुनै सम्झौता हुन्छ, न कुनै सर्त राखिन्छ । नेपाली भाषा आमा हुन् भन्दैमा अन्य बन्धु भाषालाई अपमान हुने शब्द मैले बोल्नु हुन्न । सबै भाषालाई सम्मानपूर्वक प्रेम गर्नुपर्छ ।
संस्कृत भाषा मेरो जिज्युबज्यै भाषा हुन् भने कुमाउनी, गढवालीको प्राचीनताबाट अपभ्रंश हुँदै अलग्गिएको पाल्ही र विकसित नेपाली भाषा, समग्रमा भन्दा सम्पूर्ण पर्वते भाषाहरू मेरा परिवार हुन् । यो भाषालाई खसभाषा भनेर नेपाली भाषाको आत्मसम्मान खसाल्ने काम हामीले नभएर पराइले गरेका हुन् । अरुका भाषा, संस्कृति र त्यसको इतिहासलाई कुनै एक जातिको पोल्टामा हालेर भाषिक भेद सृजना गराइ नेपाली भाषा मेट्ने अंग्रेजहरूको मिसन थियो र त्यो मिसन जारी छ । नेपाली भाषा कुनै जातीय भाषा हुँदैहैन । यसको उत्पत्ति कुनै एक स्थानविशेषमा भएको हैन । यो कास्मिर अझ उताबाट कुमाउ गढवाल हुँदै बसाइँ सरेर क्रमशः विकसित भएको भाषा हो । यसको इतिहासले हजारौँ वर्षका आरोह-अवरोह झेल्दै आएको छ । यो जातको बच्चा बनेर जन्मेको नभएर ठुलो समुदायको बीचबाट हुर्कंदै विकसित भएको भाषा हो ।
हाम्रो भाषाकी जिज्युबज्यै संस्कृतबाट जन्मेका धेरै भाषा आज विश्वभर बोलिन्छ । नेपाली भाषा त्यही परिवारको एक सदस्य हो । त्यसैले आज भाषाको प्रश्न संसारकै सभ्यता र पहिचानको अब्बल प्रश्न बनेर उभिएको छ । एक साहित्यकारले भनेका छन्, ‘नेपाली भाषा नेपाल आमाको निधारको टिका हो । ’ यो भनाइ सुन्दर छ । नेपाली समाजको लागि मेरो भनाइ यत्ति हो कि भाषा प्रयोगले विकास हुँदै जाने हो । पढाइलेखाइ, सुनाइ र बोलाइबाट भाषा परिस्कृत हुन्छ । तर दुःखको कुरा… हामी पठन-संस्कृतिबाट अलग हुँदैछौँ । हामी अरुको कुरा धेरै सुन्छौँ तर आफूले पढ्दैनौँ । भावनामा धेरै बहकिन्छौँ । नेपालीमा अत्यन्त ज्ञानवर्द्धक पुस्तकहरू प्रकाशित छन्, दर्शनका किताबहरू पनि छापिएका छन् र साहित्यका उत्कृष्ट कितावहरू छन् । सम्भव भएसम्मका पुस्तकहरू नेपालीमै पढौँ । पढ्नुभन्दा सुन्दर कुरा केही छैन । एक उत्कृष्ट किताव पढ्दा लेखकले जीवनभरि गरेको अनुभव एकाध दिनमै प्राप्त गर्छौं । उसले प्रयोग गरेका नयाँ शब्दहरू सिकेर शब्द भण्डार विकसित गर्दछौं । वाक्य रचनाका बिबिध शैलीहरू सिकेर प्रयोग गर्न सक्ने हुन्छौँ । के यो कुरा नराम्रो हो ? अध्ययनले हाम्रो अनुभव पचास वर्षअगाडिको तस्बिरलाई देख्न सक्ने बनाउँछ । हामी पचास वर्षपछिको विज्ञ मानवजस्तै परिपक्व हुन्छौँ ।
भाषा मानिसको समुदाय, उसले निर्माण गरेको सभ्यता र स्वयम् उसको अस्तित्व बचाउने सुरक्षाकवच हो । यो बुझ्न मानिस धेरै अगाडिको अर्थात् मानव उत्पत्तिकालको समयमा पुग्नुपर्छ । लेखक, इतिहासकार तथा इजरायलको हिब्रु विश्वविद्यालयको विश्व इतिहासका प्राध्यापक यूवाल नोवा हरारीले मानव जातिको इतिहासबारे लेखिएको आफ्नो किताव सेपियन्समा बताए अनुसार भाषाले नै होमोसेपियन्सको अस्तित्वलाई अहिलेसम्म ल्याइपुऱ्याएको हो । उनको अनुसन्धान अनुसार आजभन्दा तीन लाख वर्षपहिले बाँदरका भिन्न प्रजातिबाट होमोसेपियन्सको एक परिवार अलग्गियो । यो परिवारमा अन्य शाखाहरू पनि थिए । नियंदरथल, अस्थेलोपितेकस, होमोइरेक्टस लगायत धेरै प्रजातिहरू अस्तित्वको लागि संघर्षरत थिए । अन्तमा कसको अस्तित्व रहन्छ भन्ने कुरा महत्वपुर्ण रह्यो ।
आजभन्दा करिव सत्तरी-असी हजार वर्ष पहिलासम्म ती सबै मानव पुर्खाका प्रजातिहरूको अस्तित्व थियो । उनीहरूको संज्ञानात्मक क्रान्तिले एक प्रजातिलाई मात्र बचायो । होमोसेपियन्सले मात्रै आफ्नो अस्तित्व रक्षा गर्न सफल भयो । त्यो संज्ञानात्मक क्रान्ति वा भाषाको कारणले बाँच्यो । (संज्ञानात्मक क्रान्ति ७०, ००० देखि ३०, ००० वर्ष पहिले भएको थियो । यसले होमो सेपियनहरूलाई भाषामा पहिले कहिल्यै नदेखिएको स्तरमा कुराकानी गर्न सक्ने बनायो । हामीलाई थाहा भएसम्म, होमो सेपियनहरूले मात्र हामीले कहिल्यै नदेखेका, छोएका वा सुँघेका कुराहरूको बारेमा कुरा गर्न सक्छन् ।)
नियन्दर्थल प्रजाति अरुहरू भन्दा शक्तिशाली थियो । तर पनि उसले आफ्नो अस्तित्व बचाइराख्न सफल भएन । क्रमिक विकासको इतिहासमा सबै वंश शाखाहरूको अस्तित्व सम्भव हुँदैन भन्ने कुरा जीव विकासको इतिहासले बताउँछ ।
होमोसेपियन्सले आफ्नो अस्तित्व भाषिक क्षमताको कारणले नै मात्रै बचाउन सफल भयो । अरुसँग पनि भाषाको सिमित क्षमता थियो तर उनीहरूले भाषिक क्षमतालाई अगाडी बढाउन सकेनन् । उनीहरूले एक आवाजमा पूरै वाक्य बोल्दथे । होमोसेपियन्सले शब्दहरू जोडेर बोल्न सिक्यो । शब्दको ब्यापक भण्डार गर्दै जाँदा त्यहि अनुकुलमा उसको दिमाग पनि विकसित भयो । त्यहि कारण ऊ आफ्ना अन्य समुदायबाट क्रमशः अल्लग हुँदै गयो । आफ्नो सन्तानलाई भाषिक तथा औजार निर्माण कलाले अझ परिस्कृत गर्न सक्यो । आज हामी सबै प्राणीभन्दा सक्षम छौँ भने त्यसको प्रमुख कारण हो सज्ञानात्मक क्रान्ति वा भाषाको विकास । अहिले हामीले केही ध्वनिबाट सयौं शब्द, सयौं वाक्य बनाउन सक्छौँ । यो तरिका अन्य जीवले विकास गर्न सकेको छैन ।
जो चिज त्यत्तिकै विरासतको रुपमा मिल्छ त्यसको त्यति धेरै कदर हुँदैन । त्यसको मुल्यलाई हामीले सम्झन सक्दैनौँ । भाषा जुन हामीले त्यत्तिकै पुर्खाबाट प्राप्त गरेको फोकटको माल सम्झने भुल गर्नु हुँदैन । भाषाको लागि पुर्खाको अतुलनिय त्याग र समर्पण छ । त्यसैले सबैका भाषालाई मायाँ गर्नुपर्छ भनेको हो । बेला बखत हामीलाई भाषासम्बन्धी केहि प्रश्नहरूले अत्याइरहेको हुन्छ । जस्तो, किन दुनियाँको भाषा एउटै हुन नसकेको होला ? यति धेरै भाषा किन होलान् ? त्यसको उत्तर खोज्न हामी नोहाकालिन समाजमा पुनुपर्छ, जुनबेला मानव भाषा लगभग मिल्दोजुल्दो थियो । बाइबलमा बताएअनुसार बेबिलोन सभ्यता कालमा त्यहाँ प्रलयकारी बाढी आयो । जसको कारणले बाढीबाट बाँचेका मानिसहरू विभिन्न भागमा छरिएर आफुलाई बचाउन सफल भए । तर बाइबलमा संसारको प्रलयले गर्दा नोहाले डुंगा बनाएर संसारका सबै जातिका एकएक जोडीलाई बचाएको वृतान्त छ । त्यो के हो थाह भएन । त्यो बाढीमा मानिसले आफु रहेको स्थान छोडेर छरिएको कुरा भने सजिलै बुझ्न सकिन्छ । तर छरिएर एसियातिर आएका मानिसले बोल्ने भाषा अपभ्रंश हुँदै आदिम फारसी र त्यसको कालान्तरमा संस्कृत भाषा बन्यो भने युरोपतिर पुगेर त्यो भाषा ल्याटिन, रोमन र ग्रिक भाषा बन्यो । यी सबै भारोपेली परिवारका भाषा हुन् ।
भाषा धर्मभन्दा अत्यन्तै बलियो हुन्छ । युरोपका सबै राज्यहरू भाषाको आधारमा बनेका हुन् । पाकिस्तान र बङ्गलादेश भाषिक कारणले विभाजन भएको हो । नेपाली भाषाको सवालमा भन्नुपर्दा हाम्रो भाषा व्याकरणदेखि शब्दकोश र प्रयोगका दृष्टिले कतै पनि कमजोर छैन । औपनिवेशीकरणको कारणले संसारभरी अंग्रेजीको बर्चस्व छ । संसारभरी अंग्रेजी भाषाको दबदबा हुनुको कारण टेक्निकल शब्दहरू धेरै अंग्रेजीमा छन् भन्ने तर्क दिइन्छ । त्यो सर्वथा गलत हो । विकसित देशका सबै राज भाषाहरू त्यो देशको पठनपाठनमा पढाइ हुन्छ । जस्तो युरोपमा अंग्रेजी ऐच्छिक पठन पाठनको भाषा हो । भाषाको महत्वलाई युरोपका प्रत्येक देशले अति महत्व दिएका हुन्छन् । यताका नागरिकहरू भाषाको लागि लड्न तयार हुन्छन् तर सम्झौता गर्दैनन् । बेलायतबाहेक अन्य देशमा अंग्रेजीको नाम पनि लिन चाहन्नन् ।
सेक्सपियरको नाटक द टेम्पेष्टकी नारीपात्र मिराण्डा जस्तै लाचार सरकारका कारण नेपाल, भारत जस्ता देशहरूमा राष्ट्रिय भाषालाई कम महत्व दिइएको हो । नेपालमा पनि हाम्रो मातृभाषा लगायत राष्ट्रिय भाषाहरूको अवस्था नाजुक बनाउँदै लगिएको छ । तर पनि नेपाली भाषा हरेक किसिमले बलियो अन्तर्राष्ट्रिय भाषा हो । यो भाषा नेपाल भारत म्यानमार थाइल्याण्ड र नेपाली आप्रवासी रहेका सबै देशमा बोलिन्छ । हामी हाम्रो भाषाको प्रचार गर्न, भाषिक अभियान संचालन गर्न डराउँछौं । भाषिक अभियानलाई धेरै कम महत्व दिन्छौँ वा महत्व नै दिँदैनौँ । तर नेपाली भाषालाई हृदयको भाषा सम्झने अनेसास जस्ता अन्तर्राष्ट्रिय सँगठनहरू नेपाली भाषाको विकास गर्न मरीमेटेर लागेका छन् । यसमा नेपालका साहित्यकारहरू पनि लागिरहेका छन् । यसैमा हाम्रो भाषाको भविष्य कस्तो होला भन्ने उत्तर छिपेको छ ।
नेपाली भाषाको भविष्य यसका विभिन्न पहलुहरूलाई हेरेरमात्र आँकलन गर्न सकिन्छ । जस्तो कि राष्ट्रभाषाको रूपमा, राजकीय भाषाको रुपमा, काम काजको भाषाको रुपमा, सम्पर्क भाषाको रुपमा, ज्ञान विज्ञान तथा अध्यापन भाषाको रुपमा, बाणिज्य भाषाको रुपमा र जागिरमा प्रयोग हुने भाषाको रुपमा नेपाली भाषाको अवस्था कस्तो छ ? भाषाको प्रयोगका यी अलग–अलग पहलुहरूको अध्ययनबिना नेपाली वा अन्य कुनै पनि भाषाको भविष्य आंकलन गर्न सकिन्न ।
के माथि बताइएका सबै क्षेत्रमा नेपाली भाषाको बर्चस्व छ ? वा हामीले क्रमशः आफ्नो भाषाको बर्चस्व गुमाउँदै गैरहेका छौँ ? यो विषयबारे थोरै बहस गर्न सकिन्छ ।
बर्चस्व र प्रयासको हिसावले अनुसन्धान गर्दा, प्रत्येक राष्ट्रले आफ्नो देशको भाषाको विकास र विस्तारमा सहयोगी भूमिका निर्वाह गर्छ वा गर्नुपर्छ । विश्वमा नेपाल त्यस्तो देश हो जहाँ नेपाली भाषाको बर्चस्व स्थापित गर्न गम्भीर भएर लागेको पाइएको छैन । नेपाली भाषाको संरक्षण गर्ने भनेर नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भएको छ, तर त्यो संस्थामा पनि राजनीति हाबी छ । राजनीतिका कारण राम्रा मान्छेभन्दा राजनीति गर्ने व्यक्तिको नियुक्तिले प्राज्ञिक व्यक्तिहरू पछाडि पर्दैछन् । सरकारी विद्यालयमा नेपाली पठनपाठन भएका कारण सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दैछ । अंग्रेजी भाषा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिँदै छ । इसाईहरूले आफ्नो धर्मको प्रचारसँगै अंग्रेजी माध्यमका विद्यालय स्थापना गर्नाले त्यसको नक्कल गर्दै नेपालीले पनि त्यही बाटो समातेका छन् । यस्तै अवस्था रहे नेपालमा नेपाली भाषाको पठनपाठन अबको केही वर्षमा अन्त्य हुने सम्भावना देखिएको छ । यो गम्भीर खतराको संकेत हो ।
नेपाली भाषाको अन्त्य हुनु भनेको नेपाली संस्कृति, परम्परा र नेपालीपनको अस्तित्वमा खतरा आउनु हो । यसलाई रोक्न केही पहल भएता पनि आधिकारिक पहल गरेको देखिँदैन । राजनीतिले सबै ठाउँलाई प्रभाव पारेको छ । यस्तो कार्यले नेपालको भाषाको विकासमा गम्भीर असर पनेछ । अर्कोतर्फ नेपालको सबैजसो गौरव गर्ने कुरा समाप्त हुने छन् । त्यसैले यसलाई रोक्न तत्काल आवश्यक छ । नेपाली भाषाको सेवा कसैको ठेक्का नभएर प्रत्येक नेपाली नागरिकको भूमिका अपरिहार्य छ ।
रुस, उत्तर अमेरिका, संयुक्त अरब इमिरेट्स, बेलायत, भुटान, थाइल्याण्ड, हङकङ, बेल्जियम, डेनमार्क, निदरल्याण्ड, स्क्याण्डिभियन देशहरू, जापान, जर्मनी, भारत, रुस, म्यानमारलगायत अधिकांश मुलुकमा पनि नेपाली भाषा बोलिने गरेको छ । त्यसैले नेपाली भाषा एक अन्तर्राष्ट्रिय भाषा भैसकेको छ । दक्षिण एसियाका दुई प्रमुख देश नेपाल र भारतमा नेपाली भाषाले राष्ट्रिय भाषाको रूपमा स्वीकृत पाएको छ । नेपालदेखि फैलिएको नेपाली भाषा पूर्वमा बर्मा, पश्चिममा पञ्जाव र उत्तरमा हिमवत्खण्डदेखि दक्षिण एसियाको गाङ्गेय समभूमि तथा अन्य ठाउँमा पनि विस्तार भएको छ । नेपाली भाषा नेपालको राष्ट्रियतासँग जोडिएको भाषा हो । देश बचाउन हाम्रा पुर्खाले नेपाली भाषामा गीत गाई युद्ध गरेका थिए । हरेक क्रान्तिमा जीवन, रामेश, रायन, जेबी टुहुरे जस्ता गायकहरूले नेपालीगीतगाएर परिवर्तनमा प्राण भरेका छन् । सयौँ लेखक तथा कविहरूले ‘आमा.. त्यो आउँछ र ?’ ‘हो बा.. त्यो आउँछ’ भन्दै परिवर्तनलाई बोलाएका छन् । त्यसैले राष्ट्रियताप्रति जिम्मेवार व्यक्तिले पनि नेपाली भाषालाई सम्मान गरेको पाइन्छ । अन्तर्राष्ट्रिय जगतमा आफ्नो भाषाको जगेर्ना सरकारले गर्नुपर्छ । उनीहरूको राष्ट्रियताभित्र आफ्नो राष्ट्रको भाषा पनि पर्छ । जापानी बजारमा पाइने औषधिमा अंग्रेजी अक्षर देख्न पाइँदैन । चीन, कोरिया, जर्मन, फ्रान्सजस्ता विश्वका शक्तिशाली देशमा उच्च शिक्षासम्म आफ्नै देशको राष्ट्र भाषामा पठनपाठनको व्यवस्था अनिवार्य गरिएको छ ।
माथि नै भनियो, नेपाली भाषा भारतको दार्जिलिङ, सिक्किम, आसाम, बर्मा, कलकत्ता, पटना, देहरादुन, दिल्ली, मेघालय, मिजोराम, मणिपुर, पश्चिम भारतका राज्य पञ्जाव, गुजरात, जम्मुकश्मीर, हिमाचल, कुमाउ, गढवाल, देहरादून मुम्बईसम्म विस्तारित छ । दार्जिलिङमा माध्यमिक तहसम्म नेपाली भाषा शिक्षण गर्ने गरिन्छ ।
यस्तै, सिलिगुढी उत्तर बंगाल विश्वविद्यालय तथा काशी हिन्दू विश्वविद्यालयले नेपालीमा एमएसम्म अध्ययन गराउँदै आएको छ । भारतमा सन् २००४ मा नेपाली भाषालाई संविधानमा नै मान्यता दिएको छ । नेपाली साहित्यलाई भारतको साहित्यिक अकादमीले सन् १९७५ मा नै मान्यता दिई यसको प्रवद्र्धनमा विभिन्न क्रियाकलाप गर्दै आएको छ । जापानको टोकियो युनिभर्सिटीमा ३५ भाषाको अध्यापन हुन्छ । त्यसमा नेपाली भाषाको मागमा तीन दिनमै कोटा पुगेको थियो भनी त्यसै विश्वविद्यालयका प्राध्यापक हारुहितो नोजुले वताएका छन् । त्यहाँ नेपाली विषयमा जापानी नागरिक हारुहितो नोजुले प्राध्यापन गर्छन् । यसर्थ, यदि कसैले नेपाली भाषा सकिँदै गैरहेको छ भन्छ भने मलाइ लाग्छ त्यो मुर्ख मात्र हैन नबुझ्ने मानिस हो । हामीले माथिका ती सबै कुराहरूलाई आधार बनाएर भाषागत तथ्यहरू केलाउनुपर्छ, अनि मात्र बोल्नुपर्छ ।
जापानी बजारमा पाइने औषधिमा अंग्रेजी अक्षर देख्न पाइँदैन । चीन, कोरिया, जर्मन, फ्रान्सजस्ता विश्वका शक्तिशाली देशमा उच्च शिक्षासम्म आफ्नै देशको राष्ट्र भाषामा पठनपाठनको व्यवस्था अनिवार्य गरिएको छ ।
तथ्यहरू केलाउँदा, एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा मातृभाषाका रूपमा बोलिने १२३ भाषा (पहिलो भाषा) सूचीकृत छन् । नेपालका ४४.६४ प्रतिशत जनताको मातृभाषा नेपाली हो । नेपालमा ११.६७ प्रतिशतले मैथली बोल्दछन् । अन्यको अवस्था ५ प्रतिशत र केहीको अवस्था २-३ प्रतिशतको आसपास छ । सम्पर्क भाषाको तहमा झन्डै ८० प्रतिशत नेपालीको सम्पर्कभाषा नेपाली रहेको छ ।
थाई नेपाली संघको अगुवाईमा थाइल्याण्डमा पनि नेपाली भाषा नेपाली भाषाको क्षेत्रमा काम गर्ने शिलशिलामा पठनपाठनको काम भैरहेको छ । त्यस्तै म्यान्मारमा अखिल म्यान्मार देशीय गोर्खा हिन्दू धार्मिक संघ नामक सँगठनले नेपाली पहिचान बचाउन ठुलो काम गरेको छ । मातृभाषा नेपालीको कक्षागतरूपमै पढाइ हुन्छ त्यहाँ । त्यसको ठिक उल्टो नेपालमा भने निजी स्कुलमा अंग्रेजी माध्यमबाट आफ्ना छोराछोरी पढाउने र विदेशमा बसेर डलर कमाउने केही मान्छेहरूले गर्वसाथ भन्ने गर्छन्, ‘मेरो छोराछोरीलाई अंग्रेजीमा मात्रै कुरा गर्न आउँछ । नेपाली त उसलाई राम्ररी पढ्न पनि आउँदैन । बल्लतल नेपालीमा पास गर्छन् । आखिर उसलाई नेपाली किन चाहियो र ? उ यहाँ बस्ने होइन । ’
ती अविभावकहरूले आफ्ना सन्तानलाई भाषा, संस्कृतिबाट टाढा राख्दैछन् । उनीहरूले केहीपछि आफ्नो संस्कृति भुल्नेछन् । घर, गाडी र बैंकब्यालेन्स होला , तर आफ्नो पुख्र्यौली थलो कहाँ हो, आफ्ना पुर्खा को हुन्, भाषा र भेष कस्ता थिए, बाजेबज्यैले कस्तो बोल्थे, के खान्थे, के लगाउँथे, कसरी चाडपर्व मनाउँथे भन्ने उनीहरूले थाहा पाउने छैनन् । उनीहरूले त्यसबारे जानकारी लिन विदेशीले लेखेका किताब पढ्नुपर्नेछ , तर आफ्नो संस्कृतिप्रति गर्व गर्न सक्ने छैनन् ।
सम्बन्धित भाषिक समुदायको बेवास्ताकै कारण नेपालका अधिकांश भाषाहरू डाइनोसार हुने तरखरमा छन् । १२९ भाषाहरू मध्ये १९ भाषाहरू केवल १००००० भन्दा बढीले बोल्ने चलनचल्तीका भाषा हुन् । राज्य र सम्बन्धित भाषिक समुदायको उदासिनताकारण ती भाषाहरू लोप हुन लागेका छन् ।
हामीलाई बहकिने छुट छैन किनकि अहिले नेपालका स्कुलहरूको पूर्ण अङ्ग्रेजीकरणलाई रोक्न तुरुन्तै कदम चाल्नुपर्छ । भाषा भनेको देश, राष्ट्रियता र संस्कृति सबै हो । स्कुलहरूमा पूर्ण अङ्ग्रेजीकरण हाम्रो राष्ट्रिय संस्कृतिमाथिको आक्रमण हो । भाषा, संस्कृति र राष्ट्रियतामाथिको आक्रमण देशमाथिको आक्रमण हो । त्यसैले बोर्डिङ स्कुलहरूको पूर्ण अङ्ग्रेजीकरण रोक्न राज्यलाई दबाब दिएर मात्र पुग्दैन, समुदाय पनि जुर्मुराएर त्यसलाई रोक्न पहल गर्नुपर्छ ।
नेपाली भाषालाई बुझ्ने नेपालीहरूको संख्या घट्दो नभएर बढ्दो छ । सिक्किम, भुटान, आसाम, म्यान्मार, थाइल्याण्ड र नेपाली आप्रबासी भएको ठाउँमा नेपाली भाषा नै एक मात्र सम्पर्क भाषा रहेको छ ।
केही समय अगाडिबाट भारतको मध्यप्रदेशका मेडिकल कलेजहरूमा मेडिकल साइन्स हिन्दी भाषाबाट पढाइ हुन थालेको छ भने यसको लहर हिमाचल प्रदेशसम्म फैलिने क्रम छ । नेपाली भाषा पनि हिन्दी, अंग्रेजी र फ्रेन्चजत्तिकै विकसित भाषा हो । त्यसैले नेपाली भाषामा इञ्जिनियरिङ तथा मेडिकल विज्ञान जस्ता विषयहरू पढाउन सकिन्छ । अंग्रेजीमा के त्यस्ता शब्दहरू छन् जुन शब्दहरू नेपालीमा नहुन् । संस्कृत भाषा अंग्रेजी भन्दापनि विकसित भाषा हो । नेपालीमा अपुग भएका शब्दहरू संस्कृतबाट लिन सकिन्छ । अनुसन्धान, प्रबिधि र मेडिकलसँग सम्बन्धित शब्दहरू अंग्रेजी भाषाबाट लिनु परे जस्ताको तस्तै स्विकार गर्दा भइहाल्यो । देव नागरिक लिपीमा ती शब्दहरूको प्रयोग गर्दा के बिग्रन्छ र !
सन् १९९४ मा मातृभाषाबारे इथोपियामा भएको युनेस्कोको एक अनुसन्धानले बताएअनुसार, हरेक ज्ञान मातृभाषाबाट जति सजिलोसँग मानिसले सिक्न सक्छ, अर्को भाषाबाट सक्दैन । रिपोर्टअनुसार, प्राथमिक तहका सबै विषयहरू मातृभाषामा पढाउँदा स्कुलमा बालबच्चाहरूको उपस्थिति बढ्नेदेखि लिएर बालबच्चाको समझदारी, रुचि, समर्पण र समाजप्रतिको लगाव उच्च हुने कुरा पत्ता लाग्यो । मातृभाषामा पढेका विद्यार्थीहरूको समाज र देशप्रतिको लगाव बढ्ने हुँदा त्यसले बालबच्चाको मानसिक रुझानलाई सकारात्मक प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ ।
माथि बताइएका अनुसन्धानका परिणामहरूको सन्दर्भ नेपाली मातृभाषी विद्यार्थीहरूको हकमा पनि हो । मलाई नेपालको शिक्षा प्रणाली देखेर टिठ लाग्छ, किनकि नेपाली बालबच्चाले प्रारम्भिक तहमा आफ्नो भाषामा पढ्न पाउने अधिकारलाई राज्यले सम्मान गरेको छैन । भर्खर चार वर्ष पुग्दै गरेका, मातृभाषामा पकड बनाउँदै गरेका नेपाली बालबालिकाहरूलाई निजी स्कुलहरूले अंग्रेजी माध्यमबाट पढ्न बाध्य पारेका छन् । हाम्रै भूमिमा हाम्रै राष्ट्रभाषामाथि आक्रमण गरिएको छ । निजी स्कुलहरूमा एक खालको ज्यादती र बालहिंशा छ । यो देशको लागि दुर्भाग्यपूर्ण अवस्था हो ।
एक बालकले सिक्नुपर्ने आफ्नो मातृभाषाका वाक्य निर्माण, शब्दहरू सिकिरहेको अवस्थामा उसको आधि उर्जा अंग्रेजी भाषा सिक्दा सकिन्छ । त्यसले उसलाई भाषागत अलमल उत्पन्न गर्छ र ऊ मानसिक रोगी बन्न सक्छ । यो अवस्थाको ख्याल गरिएको छैन । शिक्षा मन्त्रालय यसबारे बोल्दैन । नेपालमा यस्तो किन हुँदैछ ? यो प्रश्नले नै अहिले मातृभाषाको उत्थान चाहनेहरूको लागि झक्झक्याइ रहेको छ । अन्य विकसित देशमा प्राथमिक तहको पढाइमा विदेशी भाषा पढाइँदैन । युरोपमा आफ्नो मातृभाषामा मेडिकल साइन्स र अन्य टेक्निकल विषय पढ्न सक्छन् भने नेपालीमा किन नसक्नु ?
तथ्यहरूले भन्छ, विश्वका १८९ देशहरूमा २९०० भन्दा बढी मेडिकल कलेजहरूमद्धे अधिकांश (१०५, वा ५५.६ प्रतिशत) मातृभाषामा निर्भर गर्छन् । अर्कोतर्फ, ३९.१ प्रतिशत देशहरू विदेशी भाषाहरूमा निर्भर छन् । अफ्रिकाले मातृभाषामा सबैभन्दा कम निर्भरता देखाएको छ; यसको विपरीत, ३९ मध्ये ३८ युरोपेली देशहरू चिकित्सा शिक्षाको प्राथमिक भाषाको रूपमा आफ्नो मातृभाषामा निर्भर छन् । निष्कर्षहरूले विकसित र विकासशील देशहरू बीच चिकित्सा शिक्षामा भाषाको प्रयोगबारे बिपरित अवस्था देखिएको छ । विकसित र अल्पविकसित देशहरूबीचको मातृभाषामा निर्भरताको विविधता र शिक्षामा भाषाको प्रयोग सम्बन्धमा उपनिवेशीकरणको स्थायी प्रभाव प्रष्टै देख्न सकिन्छ ।
नेपाल कहिल्यै कसैको उपनिवेश नभएर पनि शिक्षामा भाषा प्रयोगको अवस्था औपनिवेशिक छ । त्यसैले नेपालको वर्तमान शिक्षानीतिलाई बदलेर नेपाली भाषामा कुनैपनि विषय पढ्न पाउने गराउनु पर्छ भने प्रार्थमिक तहको पढाइ नेपालीमै हुनु अनिवार्य छ । अन्यथा कालान्तरमा नेपालमा नेपाली भाषाको उत्थान गर्ने लेखक साहित्यकार, विश्लेषक र भाषाविदहरू मेटिँदै जाने खतरा रहने छ । नेपालको भाषा सांस्कृतिक र मौलिक सम्पदा मासेर विदेशी भाषा र संस्कृतिलाई नेपालमा स्थापित गर्ने मिसिनरी र आइएनजीओहरूको योजना सफल हुनेछ । यसले देशमा सांस्कृतिक र भाषागत खालीपन निर्माण गर्नेछ । त्यो अवस्था आउनु भनेको नेपाललाई कंगाल बनाउनु हो । यी कुराहरू बेलैमा बुझेर राज्यले आफ्नो भावी शिक्षानीतिको तर्जुमा गरोस् भन्न चाहन्छु ।
ज्ञानी बालबालिकालाई देशको माटो, भाषा र संस्कृतिप्रति उत्तरदायी हुन नदिएर बाल मस्तिष्क मार्ने र संसारभरी अंग्रेजी भाषाको बर्चस्व कायम गर्ने एंग्लो योजनाबारे समुदायले पनि बुझ्नु जरुरी छ । आज नेपालीहरू देशमा बस्न नचाहनुको धेरै कारणमध्ये नेपालको शिक्षा नीति पनि एक हो । यदि नेपाली भाषामा दक्ष जनशक्तिको उत्पादन हुन्थ्यो भने यति धेरै विद्यार्थी विदेश पलायन हुने थिएनन् । अंग्रेजीभाषी मुलुकहरूले आफूलाई चाहिने कामदारहरूको आपूर्ति गर्न उनीहरूकै बमोजिम शिक्षा नीति लागु गर्न अल्पविकसित देशलाई मनोवैज्ञानिक दबाब दिइरहेका हुन्छन् । राज्यले बनाउने शिक्षानीतिमा समेत उनीहरूले प्रभाव पारिरहेका हुन्छन् । नेपालको वर्तमान शैक्षिक अवस्था त्यसैको परिणाम हो भन्दा अत्युक्ति नहोला ।
मैले चार कक्षाबाट अंग्रेजी पढेँ, ठिकै सिकेँ, काम चलिरहेको छ । मैले युरोप आएपछि निदरल्याण्ड भाषा सिकेँ, ठिकै छ, काम चलिरहेको छ । तरपनि मलाई मेरै भाषाका गीत-संगीत, साहित्य र ब्यङ्ग्यहरू मन पर्छन् । यताका ब्यङ्ग्यहरू सुनेर ओठहरू तन्किँदैनन् । बल्लतल्ल ओठ तन्के पनि भनेजति मनोरमण हुँदैन । पढ्ने कुरामा म कन्जुस छैन । नेपालीमा नभएका कुरा अंग्रेजी र हिन्दीमा हेर्छु । निदरल्याण्डमा पनि सूचनासम्म हेर्छु । नबुझेका कुरा नेपालीमै गुगल अनुवाद गरेर पढ्छु । चलिरहेको छ ।
ज्ञान विज्ञानको संसारमा भाषिक साम्राज्यवादी हस्तक्षेपलाई तोड्न ढिला गर्नु हुन्न । टेक्निकल पढाइको सन्दर्भमा भन्नुपर्दा, जुन शब्द अंग्रेजी, हिन्दी, जापानी भाषामा प्रसिद्ध छन् र नेपालीमा अनुवाद हुन सक्दैनन् । ती शब्दहरू देवनागरीमा जस्ताको तस्तै लेख्न सकिन्छ । यसले गर्दा नेपाली शब्द भण्डार पनि बढ्छ । हामीले पत्रपत्रिकामा लेख लेख्दा त्यसै गर्छौं । जस्तो- रिक्सा जापानी शब्द हो, अब त्यो शब्द नेपाली जस्तै भयो, जसलाई मानवबाहन भन्न जरुरी छैन । बग्गी वा टाँगालाई घोडा बहान भन्न जरुरी छैन । भाषाको समस्या शब्द हैन, वाक्य संरचना हो ।
माथि नै भनियो, मन र आत्माको भाषा नै वास्तवमा मातृभाषा हो जुन आमाको काखमा बसेर दुधपान गर्दा गर्दै बालबालिकाहरूले सिक्दछन् । अहिले अरुका मातृभाषा मारेर आफ्नो भाषिक बर्चस्व कायम गर्ने लहर चलेको छ । यो लहर तोड्न अफ्रिकी मुलुकहरू जुर्मुराएका छन् भने युरोप, रुस र चीनमा धेरै अगाडिदेखि आफ्नै भाषामा पढाइ गरिन्छ । विदेशी भाषा त्यहाँ ऐच्छिक विषयमा पर्दछन् । भारतमा पनि मध्यप्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश हुँदै यो लहर सबैतिर फैलिने क्रममा छ । मेडिकल साइन्समा त्यस्तो केही छैन जसको पढाई नेपाली भाषामा हुन नसकोस् । आखिर डाक्टर भएर पनि आफ्नै नागरिकको उपचार गर्ने हो । नेपालका सर्वसाधारणहरूले नेपाली बाहेक अन्य भाषा बुझ्दैनन् । बिरामीले अंग्रेजीमा पढेका डाक्टरले न भने-लेखेको बुझछन् न आफूलाई के रोग लागेको हो थाहा पाउँछन् । अप्रेसन गर्दा समेत के लेखेको छ भन्नेकुरा थाहा नै नपाई बिरामीले सही गर्नुपर्ने अवस्था छ नेपालमा । जाँच गरेको रिपोर्ट पनि अंग्रेजीमा आउँछ । बिरामीको रिपोर्ट नेपालीमा लेख्न केले रोकेको हो उनीहरूलाई थाहा छैन ।
तर विकसित देशमा त्यस्तो हुँदैन । म बेल्जियममा डाक्टरको रिपोर्ट हेर्छु, सबैखाले टेक्नोलोजीका पढाइबारे बुझ्छु । सबै मातृभाषामै छ । विद्यालयको पढाइमा अंग्रेजी ऐच्छिक विषयअन्तर्गत हुन्छ, त्यो पनि माध्यामिक तहमा मात्र । बरु फ्रेन्च भाषाको पढाइ चार कक्षामा पुगेपछि हुन्छ । प्राइभेट अंग्रेजी स्कुलमा अति महँगो शुल्क तिरेर डिप्लोम्याटका सन्तान पढ्छन् । तर जागिरको लागि भने स्थानीय भाषामा पढेकालाई पहिलो प्राथमिकता दिइन्छ ।
अंग्रेजीभाषी नेपाली कति होलान् र नेपालमा ? छैनन् भने नेपालको सेवामा किन अंग्रेजी स्कुल चाहियो ? बग्रेल्ती अंग्रेजी स्कुलको बाढी चलेको छ । अंग्रेजी किताबको गह्रौँ भारी बोकाएर बालबालिकालाई हामी तिनै स्कुलमा पठाइरहेका छौँ । अंग्रेजी हावाले हाम्रा भावी पिँढी समाप्त पार्दैछ । यो कुरामा हामी नेपाली हौँ भन्ने नेता, कार्यकर्ता र नीति–निर्माताहरूलाई लाज लाग्नुपर्ने हो । हामीलाई पनि लाज लाग्नुपर्ने हो । हामी अनेक विषयमा आन्दोलन गर्छौं तर हाम्रो भाषा जोगाउने कुरामा हामी मिरान्डा हुन्छौँ । त्यसैले त स्कुल–ब्यापारीहरूको मनपरी चलिराखेको छ ।
अहिले सोच्छु, हामीलाई सात र आठ कक्षामा संस्कृतिको सट्टा नेपालकै जीवित भाषा थारु, तामाङ, गुरुङ वा भोजपुरी भाषा सिकाएको भए व्यवहारिक जीवनमा कति काम लाग्ने रहेछ । मान्छे जुनसुकै धर्मप्रति आस्था भएको किन नहोस्, उसलाई उसकै भूगोलभित्र बोलिने भाषा काम लाग्छ । उसले आवश्यकताअनुसार त्यहीँको भाषालाई मातृभाषाको रुपमा बोल्दछ । त्यसैले भाषा जाति वा धर्मको घेराभित्र मात्र सीमित हुँदैन । भाषा अरुको चाहनाले भन्दा आन्तरिक कारणले नै लोप हुने हो । जुन भाषामा त्यो देशले गर्व गर्छ त्यो भाषा सानै देशको किन नहोस् लोप हुँदैन । यो नागरिकहरूको आत्मसम्मानभित्र बाँचिरहेको हुन्छ । केही विदेशको हण्डी खाएका अंग्रजी स्कुलका संचालकहरूले ‘नेपाली भाषा काम लाग्ने भाषा नभएकोले अंग्रेजी स्कुल खोल्नुपरेको’ भन्ने तर्क गरेको सुनेको छु । कस्तो दुःख लाग्छ उनीहरूले त्यसो भन्दा । एक कविले भनेका छन्-
‘नेपाली भाषा मेटाइदिन्छौँ हामीले देशबाट
यो वाक्य पनि उनीहरू नेपालीमै भन्छन्
तर समुदायले अलिकति नबुझी सोध्छन्-
हो र सर ?
एक कुशल शासक कुरेको छ देशले
मेटाइदिन्छु भन्नेलाई नेपालबाटै मेटाइदिन’ ।
जबसम्म समुदायको जनजिब्रोमा नेपाली भाषा जीवित रहन्छ तबसम्म नेपालीमात्र हैन कुनै पनि भाषा समाप्त भएर जाने छैनन् ।
‘भाषा फुल्छ हामी एकसाथ बढ्दाखेरि
भाषा मेटिन्छ फोहर तरलतामा बग्दाखेरि’
बोर्डिङ स्कुल छोडेर प्रयोगको हिसाबले हाम्रो भाषा समुदायभित्र बचाउन प्रवासमा समेत अनेसास लगायत भाषिक, सांस्कृतिक साहित्यिक र सामाजिक संस्थाहरूले मिलेर काम गरेका छौँ । प्रवासमा नेपालीहरूले नेपाली अक्षरहरू चिनिरहेका छन् । तिमीलाई राम्रो अंग्रेजीको लवज आएन नि भन्नेहरूलाई तपाईंलाई नेपालीको लवज किन आउँदैन त भनेर जवाफ फर्काइरहेका छन् हाम्रा बच्चाबच्चीले । हामीभित्रबाट अंग्रेजी कमजोर भए जागिर पाइँदैन भन्ने डर निकालेको दिनदेखि नेपाली भाषाको अझ हाइ–हाइ हुने छ । जन्मभूमि र मातृभाषाको गरिमा र आत्मसम्मानको रक्षा गर्न बाहिरबाट कोहि आउँदैन । त्यसको रक्षा हामीले नै गर्ने हो । सबै भाषाको प्रेम गरौँ तर मातृभाषालाई सम्मानपूर्वक सेवा गरौँ । अस्तुः
सन्दर्भ सामाग्री :
– https://tyonashiro.medium.com/the-cognitive-revolution-efd19f156d25
–https://hindstudy.com/the-babylonian-civilization/
– https://en.wikipedia.org/wiki/The Tempest
– https://www.jstor.org/stable/41925411
– Strawson, Galen (२०१४-०९-११), ‘Sapiens: A Brief History of Humankind by Yuval Noah Harari – review’, The Guardian
प्रतिक्रिया