अर्बपति एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई ‘आपराधिक सङ्गठन’को विशेषण दिएका छन् । त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले एजेन्सी ‘कट्टर पागलहरूद्वारा सञ्चालित’ भएको दाबी गर्दै यसको भविष्यबारे विचार गरिरहेको प्रतिक्रिया दिएका छन् ।
‘युएसएआइडी एक आपराधिक सङ्गठन हो’, राष्ट्रपतिको सबैभन्दा शक्तिशाली समर्थक बनेका टेस्ला र स्पेसएक्सका अर्बपति मालिक मस्कले आफ्नो एक्स प्लेटफर्ममा युएसएआइडीलाई ‘दुष्ट सिआइए काम’मा संलग्न भएको आरोप लगाउने भिडियोको जवाफ दिँदै लेखेका छन् ।
त्यसपछिको पोस्टमा मस्कले कुनै प्रमाण नदिइ आफ्ना २१ करोड ५० लाख एक्स फलोअर्ससँग सोधेका छन्, ‘के तपाईंलाई थाहा छ कि युएसएआइडीले तपाईंको कर डलर प्रयोग गरेर कोभिड–१९ लगायत जैविक हतियार अनुसन्धानलाई वित्त पोषित गऱ्यो, जसले लाखौँ मानिसको ज्यान लियो ?’
आफ्नो एक्स प्लेटफर्ममा आयोजित कुराकानीका क्रममा मस्कले भनेका छन्, ‘हामी यस (युएसएआइडी)लाई बन्द गर्न सहमत भएका छौँ भनेर बुझ्दा हुन्छ।’
उनले यी आरोपहरूबारे थप व्याख्या गरेनन् । एएफपीले जनाएअनुसार यसलाई अघिल्लो प्रशासनका अधिकारीहरूले रुसी दुष्प्रचार अभियानसँग जोडेका थिए ।
‘युएसएआइडी कट्टरपन्थी पागलहरूद्वारा सञ्चालित छ र हामी तिनीहरूलाई बाहिर निकाल्दै छौँ… र त्यसपछि हामी (यसको भविष्यका बारेमा) निर्णय गर्नेछौँ’, आइतबार (२ फेब्रुअरी) राष्ट्रपति ट्रम्पले विस्तृत विवरण नदिइ भनेका छन् । उनले अर्बपति मस्कप्रति आफ्नो समर्थनमा जोड दिँदै आइतबार राति पत्रकारहरूबीच भने, ‘मस्कले राम्रो काम गरिरहेको मैले महसुस गरेको छु ।’
ट्रम्पले सुरुमा सबै सहायता खर्चलाई तीन महिनाका लागि रोके । तथापि, पछि उनले खाद्यान्न र अन्य मानवीय सहायता जारी राख्न छुट दिएका छन् । सहायता कार्यकर्ताहरूले स्वतन्त्र एजेन्सीका रूपमा सङ्गठनको भविष्य सुनिश्चित नभएकोले अनिश्चितता छाएको बताएका छन् ।
प्रतिक्रिया