राक्षसराजले पत्रकार सम्मेलनमा भने, ‘हामीले पाप गर्दा पनि राम्रो काम जस्तै मेहनत गर्छौं । चोरी, हत्या, झूट बोल्न, मान्छेलाई झगडा गराउन-सबै काम समयमै पुरा गर्छौं । तर, हामीलाई न तलब छ न त ओभरटाइम । भत्ता पनि छैन । यस्तो शोषण हामीलाई स्वीकार्य छैन ।’
✍ उमेश रेग्मी
एक दिन अशुरहरुले स्वर्ग र धरतीमा एकै चोटी हड्ताल गर्ने शुर कसे । यसको लागि अशुरहरु दुइटा वर्गमा विभाजित भए । एउटा वर्गले स्वर्गमा उधुम मचाउने भए भने अर्को वर्गले धरतीमा ।
स्वर्गमा भेला भएका अशुरहरुले देवताहरुलाई धम्क्याउन थाले, ‘अब हामी हडताल गर्छौं ! भगवानहरूले हामीलाई वर्षौंदेखि दुःख मात्र दिइरहनुभएको छ । हाम्रो माग पूरा नभएसम्म कुनै पनि पाप गर्ने काम गर्दैनौँ ।’ देवताहरूले यो सुनेर एकछिन अचम्म माने । इन्द्रदेवले भने, ‘यो अशुरहरूको नयाँ खेल के हो ? हामीले तिनीहरूलाई पापमा मात्र रमाउन देखेका थियौं । अब हडताल पनि गर्न थाले ?’
अशुरहरूको नेता राक्षसराजले पत्रकार सम्मेलनमा भने, ‘हामीले पाप गर्दा पनि राम्रो काम जस्तै मेहनत गर्छौं । चोरी, हत्या, झूट बोल्न, मान्छेलाई झगडा गराउन-सबै काम समयमै पुरा गर्छौं । तर, हामीलाई न तलब छ न त ओभरटाइम । भत्ता पनि छैन । यस्तो शोषण हामीलाई स्वीकार्य छैन ।’
त्यो सुनेर नारद मुनि पनि दंग परे। उनले सोधे- ‘अनि तिमीहरूले के माग राख्यौ त ?’
राक्षसराजले हाँस्दै भने, ‘हामीले पाँचबुँदे माग गरेका छौँ ।’
१. पापको लागि छुट्टै छुट्टी ।
२. दैनिक पाप सीमा ।
३. कर्मफलको हिसाब मिलाउने फास्ट ट्र्याक व्यवस्था ।
४. स्वास्थ्य बीमा-पाप गर्दा चोट लागेपछि पनि उपचार चाहिन्छ ।
५. हरेक वर्ष ‘महापाप पुरस्कार ।’
देवताहरू यो सुनेर पेट मिची-मिची हाँसे । इन्द्रदेवले भने, ‘तिमीहरूको हडतालले हामीलाई केही फरक पर्दैन। बरु स्वर्गलोक शान्त हुन्छ।’
उता धरतीलोकमा अशुरहरुको अर्कै ताल थियो । उनीहरुको हड्तालको कारण स्वर्गमा भन्दा पृथक थियो- मानिसहरूले उनीहरूको डर मान्न छोडेको, पूजा गर्न नचाहेको, र कथा-कहानीमा ‘राक्षसहरू सधैं खराब’ भन्ने लेख्न थालिएको । उनीहरूको भनाइ थियो, ‘हामी पनि समाजका हिस्सेदार हौं । हाम्रो मान, सम्मान र रोजगारीको ग्यारेन्टी हुनुपर्छ ।’
अशुरहरूले हडताल गरे । धरती अनि स्वर्गमा एकैचोटी, एकैदिन ।
अशुरहरूको संघले ब्यानर झुन्ड्यायोस्
‘अशुर अधिकार, हाम्रो पहिचान !’
‘डर नभए, हाम्रो घर चल्दैन !’
धरतीलोकमा मान्छेहरू चाहिँ यति रमाइला दृश्य देखेर अचम्म परे। कसैले भने, ‘ए हेर, अशुरहरू पनि यूनियन बनाउँछन् र हडताल गर्छन् !’
पहिलो दिन अशुरहरू कुनै घरमा पसेनन्, कोहीलाई तर्साएनन्। मानिसहरूलाई त सहज भयो( शान्ति छ त १
एक दिन, दुई दिन, तीन दिन, पृथ्वीको वातावरण शान्त भयो । न कोही झगडा, न कुनै अपराध । मान्छेहरूले एकअर्कालाई माया गर्न थाले ।
केहि दिनपश्चात अवस्था फरक देखिन थाल्यो । मान्छेहरूले आफ्नो जिन्दगीमा पाप गर्न नपाउँदा बोर हुन थाले । एकजनाले कराए, ‘यो के हो ! कसैले झगडा नै गर्दैन । कुनै गफै मजा आउँदैन ।’
मन्दिरका पुजारीले भने, ‘अब दुर्गा पूजामा के गर्ने ? अशुर नभए, दुर्गा माताले कसलाई हराउने त ?’
बच्चाहरूले गुनासो गरे, ‘कथा-कहानीमा राक्षस नभए त रमाइलो नै हुँदैन !’
नाटक गर्नेहरू त बिलखबन्दमा परे । ‘रामायणको रावण चाहिन्छ, महाभारतको दुर्योधन पनि त अशुर नै हो !’
अन्ततः मानिसहरूले अशुरहरूको हडताल तोड्नका लागि आन्दोलन गरे । राक्षसराजलाई माफी माग्दै बोलाइयो ।
हडतालको पाँचौं दिनमा धरतीका मानिसहरुको प्रतिनिधित्व गर्दै, देशका मन्त्रिले अशुर संघलाई छलफलका लागि बोलाए र सोधे, ‘तिमीहरूका माग के हुन् ?’
राक्षसराजले आफ्ना अशुरहरूलाई सम्बोधन गर्दै भने, ‘हेर्नुहोस् ! हामी नभइ यो सृष्टि चल्दैन । हामीले पापको योगदानबाट संसार चलाएका छौं। यो हाम्रो जीत हो !’ अझ थपे, ‘हामीलाई मानवीय सम्मान चाहिन्छ । कथा-कहानीमा कहिलेकाहीं राम्रो पात्र बनाइयोस् । अनि, प्रत्येक वर्षको दशैंमा दुर्गा मातासँग हार्दा पनि बोनस दिनुपर्छ ।’
धरतीका मान्छेहरू हाँसे । कसैले भने, ‘अशुरलाई पनि बोनस चाहिने ? के दिने त ?’
अशुर नेताले हाँस्दै भने, ‘कम्तिमा पनि मासु भात चाहिन्छ। साथमा एक बोतल रक्सी भए झन् राम्रो । हामीलाई पनि ठेक्कापट्टाबाट आएको कमिसन चाहिन्छ, त्यसले हाम्रो अवस्था बलियो बनाउन सहयोग गर्छ।’
छलफलको अन्त्यमा सम्झौता भयो।
१. कथा-कहानीमा कहिलेकाहीं अशुरहरूले राम्रो काम गरेको देखाइने ।
२. हरेक दिन पूजा पछि अशुरहरूलाई प्रतीकात्मक रूपमा सम्मान गरिने ।
३. अशुर संघलाई प्रत्येक वर्ष विशेष भोज दिने ।
हडताल सकियो । अशुरहरू फेरि आफ्नो काममा फर्किए । धरतीमा फेरि भाँडभैलो शुरु भयो । देवलोक पनि शान्त रहेन ।
प्रतिक्रिया