अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सिएनएनले जनाएको छ ।
‘राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिनुभयो’, एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडोर्नीले भनेका छन्, ‘हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय सङ्गठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न दिनेछैनौँ, विशेष गरी हाम्रो स्वास्थ्यमा ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो । पछि जारी गरिएको वक्तव्यमा अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओलाई कोभिड-१९ महामारीको समयमा ‘(अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्याएको आरोप लगाएको छ ।
वक्तव्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय समुदायबाट यो पुनर्विचार गर्न जरुरी छ कि किन सबैले वित्त पोषण गरेका अन्तर्राष्ट्रिय सङ्गठनहरू अस्तित्वमा छन्, जसले आफू सिर्जना गरिएका उद्देश्यहरू पूरा गर्दैनन्, अन्तर्राष्ट्रिय राजनीतिमा संलग्न हुन्छन् र सदस्य देशहरूभन्दा माथि आफूलाई थोप्न खोज्छन् ।’
उनले डब्लुएचओबाट अर्जेन्टिनाको फिर्तीले अर्जेन्टिनाको हितमा ‘नीतिहरू कार्यान्वयन गर्न बढी लचिलोपन’ र ‘स्रोतहरूको अधिक उपलब्धता’ दिने दाबी गर्दै भने, ‘यसले स्वास्थ्य मामिलामा पनि सार्वभौमिकता भएको देशतर्फको हाम्रो मार्गलाई पुनः पुष्टि गर्दछ ।’
यसअघि जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट संयुक्त राज्यलाई फिर्ता लिने योजना घोषणा गरेका थिए ।
डब्लुएचओले संयुक्त राज्य अमेरिकाको विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने घोषणामा खेद व्यक्त गरेको छ र अमेरिकीहरूसहित विश्वभरिका मानिसहरूको स्वास्थ्य र सुरक्षाको रक्षामा डब्लुएचओको महत्त्वलाई जोड दिएको छ ।
प्रतिक्रिया