सडक दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

सडक दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते


झापाबाट काठमाडौंका लागि हिँडेको एक निजी सवारी साधन सिन्धुलीमा दुर्घटनामा परेको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-५ मा आज (२५ माघ) बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो ।

मोरङको लेटाङ नगरपालिका-२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका-८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका-१ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको प्रहरीले जनाएको छ ।