इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेका छन् । हमासको नियन्त्रणबाट नेपाली युवा विपिन जोशीलाई मुक्त गर्न नेपाल सरकारले पनि कूटनीतिक पहललाई जारी राखेको छ ।
यसक्रममा हमास अतिवादी समूहको नियन्त्रणमा रहेका जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्नुभएको छ ।
विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा. राणाले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गर्नुभएको हो ।
फोनवार्ताको अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको बुझिएको छ । मन्त्री डा. राणाले अघिल्लो हप्ता पनि इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी सो अपिल गर्नुभएको थियो ।
इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा. राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।
केही हप्ताअघि उहाँले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गर्नुभएको थियो । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्राडा धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा सो आग्रह गर्नुभएको थियो ।
विपिनको रिहाइका लागि नेपाल सरकारले गत बर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरुमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहनुभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया